
झापा : झापाको मेचीनगर नगरपालिका वडा नं. १४, दुवागढी, धगेरे बस्तीमा निर्मित चारआली मानव मलमूत्र फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । मेचीनगर नगरपालिकाका १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि १३ वडा र बुद्ध शान्ति गाउँपालिकाका १ देखि ७ वडाका बासिन्दालाई लक्षित गरी निर्माण गरिएको प्रशोधन केन्द्रले सेवा क्षेत्र भित्रका र बाहिरका लागि बेग्लाबेग्लै सेवा शुल्क निर्धारण गरिएको छ ।
प्रशोधन केन्द्रले सेवा क्षेत्र भित्रका बासिन्दाका लागि प्रति घन मिटर दिसाजन्य लेदोको ५० रुपैयाँ र सेवा क्षेत्र बाहिरका बासिन्दाका लागि प्रति घन मिटरको ६२ रुपैयाँ ५० रुपैयाँ निर्धारण गरिएको प्रशोधन केन्द्रका कर्मचारी रामबहादुर श्रेष्ठले जानकारी दिनुभयो । प्रशोधन केन्द्रसँग दैनिक २७ घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्ने क्षमता छ । केन्द्रको सेवा क्षेत्रभित्र २४ हजार ६ सय ३७ घरपरिवारको बसोबास छ ।
दिसाजन्य लेदो प्रशोधनका लागि बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाइ कम्पोस्ट मल बनाउन ड्राइङ बेडहरु रहेको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले जानकारी दिनुभयो ।
प्रशोधन केन्द्र निर्माणका लागि ७ करोड ९३ लाख ९७ हजार ८२२ रुपैयाँको लागतमा सञ्चालक समितिका अध्यक्ष लालबहादुर थेवे लिम्बुले जानकारी दिनुभयो । ती मध्ये संघीय स्थानीय तहले १५ प्रतिशत अर्थात १ करोड १९ लाख ९ हजार ६७३ रुपैयाँ व्यहोरेका छन् । जसमध्ये मेचीनगर नगरपालिकाले १४ प्रतिशत, विर्तामोड नगरपालिकाले ५७ प्रतिशत र बुद्धशान्ति गाउँपालिकाले २९ प्रतिशत रकम लगानी गरेका छन् ।
सन् २०१७ को डिसेम्बर २५ बाट निर्माण कम्पनी एम.एस. रमण कन्स्ट्रक्सन प्रा.लि. ले सुरु गरेको प्रशोधन केन्द्र हालै सम्पन्न गरी खानेपानीमन्त्री बिना मगरले उदघाटन गर्नुभयो ।

झापाकै मेचीनगर नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मको लागि काकडभिट्टाको पूर्व दक्षिणमा पनि दिसाजन्य लेदो प्रशोधन केन्द्र स्थापना गरिएको छ । मेचीनगर १ देखि १३ सम्मका १४ हजार ८ सय ९३ घरधुरीका प्रशोधन केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याईएको हो । उक्त प्रशोधन केन्द्रको प्रति दिन १२ घन मिटर प्रशोधन गर्न सक्ने क्षमता छ । काकडभिट्टामा निर्मित प्रशोधन केन्द्रको सञ्चालन काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गरिरहेको छ ।
दुवै प्रशोधन केन्द्र खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले पाइलट प्रोजेक्टको रूपमा सञ्चालनमा ल्याइएको हो ।


1309 पटक हेरिएको 

