भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले २०७८ साल पुसभित्रै पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने गरी अभियानलाई तीब्र पारिएको छ । २०७८ साल पुस मसान्त भित्रै पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ को लक्ष्य बमोजिम नगरपालिकाले यस सम्बन्धी गतिविधिहरु सञ्चालन गरिरहेको छ । नगरपालिकाले २०७८ साल पुस मसान्त भित्रै पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य गत साल नै निर्धारण गरेको हो ।
यसै सन्दर्भमा पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ ले निर्धारण गरेको लक्ष्य प्राप्तिका लागि नगरपालिकाले गरिरहेको काम, बहुसरोकारवाला पक्षको सहभागिता जुटाउन गरिरहेको प्रयास, सरसफाइ सन्देश घरघरमा पुर्याउन अपनाईरहेको रणनीति आदिका बिषयमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिना सँग हामीले कुराकानी गरेका छौं ।
नगरपालिकाले पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्नका लागि वडा तहसम्मै संस्थागत व्यवस्था गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाका अनुसार नगरपालिकामा नगर प्रमुखको संयोजकत्वमा नगरस्तरीय वास कमिटी गठन गरिएको छ । त्यस्तै वडाध्यक्षहरुको संयोजकत्वमा वडा – वडामा वडा स्तरीय सरसफाइ, स्वच्छता समन्वय समिति बनेको छ। यसलाई समुदायसम्म कसरी पुर्याउन सकिन्छ भनेर वडा भित्रका सबै निकायहरुलाई ल्याएर छलफल चलाईरहेको उहाँले बताउनुभयो । सहकारी संस्था, त्यहाँ रहेका स्वास्थ्य संस्थाहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, गैरसरकारी संस्थाहरु, सामाजिक संस्थाहरु, विद्यालय क्षेत्र यी सबै समेटेर कार्यक्रमहरु भईरहेको उहाँले बताउनुभयो ।


849 पटक हेरिएको 

