
रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–११, काफलबोटस्थित शिव आधारभूत विद्यालयको प्रांगणमा ७ वटा झन्डा फहराइरहेका छन् । तीमध्ये एउटा राष्ट्रिय झन्डा हो भने बाँकी ६ झन्डा विद्यालयको सरसफाइको अवस्था चित्रण गर्न राखिएका हुन् । जनकल्याण आधारभूत विद्यालय बाघखोर र दीपज्योति आधारभूत विद्यालय काँडामा पनि राष्ट्रिय झण्डा सहित विभिन्न रंगका ६ झन्डा राखिएका छन् ।
अब विद्यालयमा सरसफाइ, शौचालयको प्रयोग, महिनावारी व्यवस्थापन र वातावरणीय सरसफाइको अवस्था बुझ्न झन्डा हेरे पुग्छ ।
व्यक्तिगत सरसफाइ, सफा शौचालय प्रयोग, महिनावारी व्यवस्थापन, सन्तुलित खाना, सुरक्षित पिउने पानी र वातावरणीय सरसफाइ जनाउन ती झन्डा राखिएका हुन् । सूचक बलियो भएपछि झन्डा माथि र अवस्था कमजोर भएपछि झन्डा तल पारेर राख्ने गरिएको छ । ‘हामीले विद्यालयको समग्र अवस्था सुधारका लागि झन्डालाई सांकेतिक रूपमा प्रयोग गरिरहेका छौं,’ जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक यज्ञबहादुर ओलीले भने, ‘यसबाट क्रमशः विद्यालयको अवस्था सुध्रिँदै गएको छ, जसले पठनपाठन गुणस्तरीय बनाउन पनि सहयोग गरिरहेको छ ।’ उनले पठनपाठन गुणस्तरीय बनाउन अन्य व्यवस्थापन पनि बलियो हुनुपर्ने जनाए ।
वातावरणीय सरसफाइ तथा सुरक्षित खानेपानीको व्यवस्थाका लागि मानव विकास तथा सामुदायिक सेवाले विद्यालयमा झन्डा राख्न सहजीकरण गरेको हो । झण्डामार्फत विभिन्न सूचकको ‘स्कोर’ निकाल्न थालिएको प्रधानाध्यापक ओलीले बताए । तीन विद्यालयमा नमुना कार्यक्रमका रूपमा खानेपानी तथा सरसफाइ परियोजना सञ्चालन गरिएको छ । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।
परियोजनामार्फत विद्यालयमा सुरक्षित खानेपानी तथा शौचालय निर्माण गरी सरसफाइको अवस्थामा सुधार ल्याउन खोजिएको कार्यक्रम अधिकृत गणेशकुमार खड्काले बताए । महिनावारीका बेला छात्राले कक्षा छाड्दा त्यसबाट दैनिक पठनपाठनमा हुने असरलाई निराकरण गर्न पनि परियोजनाले सहयोग गर्ने उनको भनाइ छ । उनका अनुसार परियोजनामार्फत खानेपानी तथा विद्यालयको सरसफाइको अवस्थामा विद्यार्थी तथा शिक्षकलाई सक्रिय बनाउन खोजिएको छ ।
झन्डामार्फत सूचक सुधारको प्रयास भइरहेको दीपज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक दिनेश खड्काले बताए । छात्रा तथा महिला शिक्षकले महिनावारी भएका बेला विद्यालय छाड्ने अवस्था हटाउन झन्डाले सहयोग गरिरहेको उनको भनाइ छ । सरसफाइका ६ सूचकलाई उपसूचकका आधारमा विश्लेषण गरिने उनले जनाए । ‘आएको नतिजालाई नामअनुसार रङका आधारमा संकेत झन्डाद्वारा विद्यालयमा प्रस्तुत गरिरहेका छौं,’ उनले भने, ‘अब विद्यालयमा सरसफाइ, शौचालयको प्रयोग, महिनावारी व्यवस्थापन र वातावरणीय सरसफाइको अवस्था बुझ्न झन्डा हेरे पुग्छ ।’
६ सूचकलाई १ सय पूर्णांकमा मूल्यांकन गर्दा कुनै पनि विद्यालयको अवस्था ३६ नम्बरभन्दा माथि छैन । त्यसैले राष्ट्रिय झन्डाबाहेक अन्य झन्डा तलै राखिएका हुन् । सूचकको ‘स्कोर’ माथि लिन सचेतनामूलक शिक्षा, तालिम तथा शौचालय निर्माणजस्ता भौतिक पूर्वाधारको क्षेत्रमा काम भइरहेको छ । दीपज्योति आधारभूत र जनकल्याण आधारभूत विद्यालयमा विद्यार्थीको अवस्थाअनुसार २र२ कोठे छात्र र छात्रा शौचालय निर्माणको काम भइरहेको छ । शिव आधारभूत विद्यालयमा ४ कोठे शौचालय निर्माणको काम जारी छ ।


731 पटक हेरिएको 

