तानसेनमा पानी ल्याउन ढिलाई, चैत्रमा समेत सम्पन्न हुने सम्भावना कम

 1262 पटक हेरिएको

 

पाल्पा : कालीगण्डकीबाट लिफ्टिङ गरेर तानसेन बजारमा पानी आपूर्ति गर्न ढिलाइ भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले गत वर्ष नै पानी वितरण गर्ने दाबी गरेको थियो । तर एक वर्ष बित्दा पनि लिफ्ट प्रविधि जडानको काम पूरा भएको छैन । उपभोक्ता समितिले गत वर्ष मंसिरमा नदीबाट पानी तानेर वितरण गरिने जनाएको थियो । अहिले भइरहेको काम हेर्दा आगामी चैतसम्म पनि पानी आउने सम्भावना देखिँदैन ।

तानसेनकी सावित्रा पन्थले दुई वर्षअघि धारा जडानका लागि निवेदन दिएको बताइन् । ‘पानी आउने छाँटकाँट देखिएन,’ उनले भनिन्, ‘कालीगण्डकीको पानी ल्याएपछि धारा जोडिन्छ भन्थे, खै कहिले हो, थाहा छैन ।’ अहिले छिमेकीको घरबाट पानी ओसार्ने गरेको उनले बताइन् । यसपालि पनि उपभोक्ता समितिले चैतसम्म पानी ल्याएरै छाड्ने दाबी दोहोर्‍याएको छ । त्यसभन्दा ढिला भए चालू आर्थिक वर्षभित्र शुद्ध पानी तानसेनमा वितरण भइसक्ने समितिले जनाएको छ । फागुनसम्म लिफ्ट प्रविधिबाट तानसेनको बतासेडाँडासम्म पानी ल्याउने गरी काम अघि बढाइएको समितिका अध्यक्ष चकोरमान शाक्यले बताए । तानसेनका बासिन्दाले ४० वर्षदेखि पिउने पानीको समस्या खेप्दै आएका छन् । तानसेन–कालीगण्डकी लिफ्टिङ योजना पूरा भएमा सदरमुकामका लागि बरदान साबित हुने अध्यक्ष शाक्यले बताए ।

अहिले विद्युत् लाइन नियमित भए कम्तीमा पाँच दिनमा र नहुँदा नौ दिनमा एकपटक एक घण्टा पिउने पानी वितरण भइरहेको छ । कालीगण्डकीबाट पानी आइसकेपछि चौबीसै घण्टा धारामा पानी आउने उनले बताए । ‘पानी छिटो ल्याउन समितिले कोसिस गरिरहेको छ,’ उनले भने, ‘केही महिनाभित्र लिफ्ट प्रविधिको काम सकिन्छ ।’

तानसेनमा विगतमा पिउने पानीको दिगो स्रोत नभएकै कारण योजना अघि बढेका थिएनन् । श्रीनगरडाँडा, प्रभास, कुन्सरेलगायत स्थानमा डिप बोरिङको काम अघि बढेर पनि रोकिएका छन् । पानीको परीक्षण पनि गरियो । तर, कुनै उपाय नलागेपछि कालीगण्डकी नदीको पानी ल्याउने योजना अघि सरेको हो । कालीगण्डकी लिफ्ट योजनाको संघीय कार्यालयअन्तर्गतको डिभिजन खानेपानी कार्यालय अर्घाखाँचीले प्राविधिक समन्वय गरेको छ । कामको ठेक्का लिएको निर्माण कम्पनीका साइट इन्जिनियर रोहितकुमार शाहका अनुसार समरसियल पम्पहरू जडानको काम भइरहेको छ । दुई स्थानमा जोडिसकेको र अब बाँकी तीन स्थानमा पम्प जोडेर तानसेनको बतासेडाँडाको ट्यांकीमा पानी ल्याइने उनले बताए ।

यहाँ अर्घाखाँची कार्यालयबाट प्राविधिक रेखदेख हुन नसक्दा पनि काममा ढिलाइ भएको छ । कार्यालय प्रमुख योजना हेर्न नआउने गुनासो छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धेरैपटक कार्यालय प्रमुखलाई यसको जानकारी माग्दा पनि सम्पर्कमा नआएको बताए । कालीगण्डकी लिफ्ट खानेपानीको २६ करोड ६९ लाख रुपैयाँमा ठेक्का लागेको हो । यस योजनामा तानसेनमा प्रतिधारा एक हजार रुपैयाँका दरले उठाएर उपभोक्ता समितिको दुई करोड रुपैयाँ लागत सहभागिता छ । यसमा पानी शुद्धीकरणका लागि भने अझै ठेक्का लागेको छैन । उपभोक्ता समितिका अनुसार शुद्धीकरण गर्नका लागि झण्डै तीन करोडको ठेक्का लाग्ने क्रममा छ ।

तानसेन नगरपालिका–१३, रानीमहल नजिकै कालीगण्डकीबाट पाँच लिफ्ट गरी तानसेनमा पानी ल्याउन लागिएको हो । योजना अघिल्लो वर्षमै सकिने गरी टेन्डर भएको थियो । व्यवसायीले म्याद थपका लागि निवेदन दिएको छ । कालीगण्डकी किनारमै १९ मिटर गहिरो इनार खनिएको छ । त्यसबाट १ किलोमिटर टाढाको १ लाख लिटरको ट्यांकीमा पानी जम्मा हुन्छ । त्यसपछि तेस्रो ट्यांकीमा फिल्टर भएर जानेछ । भीर, अप्ठेरो नभनी निर्माण व्यवसायीले काम गरेको प्रदेश सभा सदस्य वीरबहादुर रानाले बताए । तानसेनदेखि ११ किलोमिटर टाढाबाट पानी ल्याउन लागिएको छ । ट्यांकी निर्माण, पाइप लाइन, विद्युत् जडानलगायत काम सकिएको छ ।

अब ६ वटा स्टेसन र पाँच लिफ्टमा प्रतिसेकेन्ड ३० लिटर पानीका दरले तानसेनको ट्यांकीमा जम्मा हुने पक्का भएको तानसेन खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष डा। पुरनमान बज्राचार्यले बताए । २४ घण्टामा भुल्के खानेपानीको ६ लाख लिटरसमेत गरी ३० लाख लिटरसम्म पानी बतासेडाँडाको ट्यांकीमा खसाल्ने योजना रहेको उनले सुनाए । यस योजनाका लागि तानसेन खानेपानी उपभोक्ता समितिले समन्वय गरेर अघि बढेको कोषाध्यक्ष भीमसेन कार्कीले बताए । तानसेन खानेपानी उपभोक्ता समितिले प्रत्येक वडाका प्रतिनिधिलाई कालीगण्डकी नदी छेउमा भइरहेको कामका बारेमा समेत अनुगमन गराएको छ ।
कान्तिपुर दैनिकबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार