सार्वजनिक स्थानमा राखिएको डस्टबिन निजी होटलको शौचालयमा

 313 पटक हेरिएको

बझाङ : जिल्ला सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाको केन्द्र चैनपुर बजार फोहोरका कारण दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको छ । स्थानीयले घर, पसल र होटलबाट निस्किने फोहोर जथाभावी फाल्दा सदरमुकाम दुर्गन्धित बनेको हो । सरसफाइका लागि नगरपालिका र विभिन्न क्लब, संघसंस्थाहरूले प्रयास गरिरहेका छन् । सार्वजनिक स्थानमा राखिएका डस्टबिन स्थानीयले घरमा लुकाएर सडकमा फोहोर फाल्ने गरेका कारण फोहोर व्यवस्थापनमा चुनौती थपिएको सरोकारवालाहरूको भनाइ छ ।

गत मंसिर अन्तिममा नगरपालिकाले प्रत्येक टोलमा सरसफाइ समिति गठन गरेको थियो । सदरमुकाम चैनपुर, भोपुर र जिल्ला अस्पताल समेत रहेको सिमखेतमा ३४ वटा टोल सरसफाइ समिति गठन गरियो । यिनै समितिको निगरानीमा रहने गरी फोहोर संकलन गर्न एक सय ७० वटा डस्टबिन विभिन्न स्थानमा राखियो । एउटा समितिलाई पाँच वटा डस्टबिन वितरण गरिएको थियो । तर दुई महिना नपुग्दै राखिएको ठाउँमा डस्टबिन देखिन छाडेका छन् । नगरपालिकाका अनुसार डस्टबिन खरिदमा दुई लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।

‘सार्वजनिक ठाउँमा राखिएका डस्टबिन सबैले घरघरमा लगेर राखेका छन्,’ स्थानीय लक्ष्मी बोहराले भनिन्, ‘नगरपालिकाले राखेको दुई हप्तापछि नै केहीले डस्टबिन घरभित्र लुकाएर फेरि सडकमै फोहोर फाल्न थालेका थिए ।’ बजारमा राखिएका डस्टबिनहरू स्थानीयले आँगन, शौचालय तथा घरका अन्य प्रयोजनमा प्रयोग गरिरहेका छन् । ‘डस्टबिन कसैका भान्छामा चामल, पिठो राखिएको अवस्थामा भेटिन्छन्,’ सुनिता भण्डारीले भनिन्, ‘कतिले शौचालयमा पानी भर्ने बनाएर राखेका छन् । यहाँका मान्छेको बानी केही गरे पनि नसुध्रिने भयो ।’

यसअघि पनि सदरमुकाम चैनपुरमा फोहोर संकलन गर्नका लागि युएमएन नामक संस्थाले सामुदायिक प्रहरीसँग मिलेर सार्वजनिक स्थानमा डस्टबिन राखेको थियो । तर ती डस्टबिन पनि यसैगरी हराएका थिए । ८० हजार खर्च गरी राखिएका डस्टबिन रातारात गायब पारिएपछि नगरपालिकाले ठूलो आकारको प्लास्टिककै डस्टबिन राखेको थियो ।

सरदरमुकामलाई सफा राख्न भन्दै पतन्जली योग समितिले हरेक हप्ताको शनिबार बिहान घरदैलो अभियान पनि सञ्चालन गर्दै आएको छ । यो अभियान चलेको नै ८४ हप्ता पुगिसकेको छ । ‘हामीहरू अभियान लिएर जाँदा सरसफाइ त गर्ने तर फोहोर कहाँ फाल्ने भनेर डस्टबिन चाहियो भन्छन्,’ योग समिति अध्यक्ष मोहन मल्लले भने, ‘फोहोर संकलन गर्नका लागि सार्वजनिक ठाउँमा राखिएका डस्टबिन घरभित्र लुकाउँछन् । अनि फेरि उही प्रश्न गर्छन् ।’ उनले सार्वजनिक स्थानमा राखिएका डस्टबिन लुकाउनेलाई सार्वजनिक सम्पत्ति चोरीसम्बन्धी मुद्दामा कारबाही गर्नुपर्ने बताए । सदरमुकाम सफा राख्न नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी तथा गैर सरकारी संघसंस्थाहरूले विभिन्न समयमा बजार सरसफाइका कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीयले सहयोग नगर्दा प्रभावकारी बन्न नसकेको उनले गुनासो गरे ।

सदरमुकामभित्र सबैभन्दा बढी फोहोर हुने टोलमध्येमा पर्छ चौगाउँ । नगरपालिकाको गाडी फोहोर उठाउन नआउँदा टोल दुर्गन्धित बन्दै गएको टोलबासीको आरोप छ । ‘डस्टबिन भरिएर वरिपरी फोहोरको खात लाग्दा पनि उठाउने गाडी आउँदैन,’ उनले भने, ‘टोल दुर्गन्धित भएर मानिसहरू हिँड्नसमेत गाह्रो भइसकेको छ ।’

कुलोमा पानी आएको दिन बगिआएको फोहोर फाल्नमै दिन जाने गरेको स्थानीय वसन्ती देवी बोहराले बताइन् । ‘कोठा भाडामा बस्नेदेखि सबै स्थानीयले आ–आफ्नो भान्छा र घरबाट निस्किएको फोहोर सोझै कुलोमा फाल्ने प्रचलन छ । कसैले यसो नगरौं भने पनि मान्दैनन् ।’ उनले आफूलाई नगरपालिकावासी भन्न समेत लाजमर्दो भएको बताइन् । यो खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहीले नगरक्षेत्र सफा राख्ने जिम्मा सबै नगरबासीको भएकोले सार्वजनिक सम्पत्तिको जगेर्ना र फोहोर व्यवस्थापनमा जोड दिन आग्रह गरे । सार्वजनिक स्थानमा रहेका डस्टबिन घरमा राखेको विषयमा नगरपालिकाले जाँचबुझ गरिरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार