
काठमाडौ : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौंडाका प्रमुख सहसचिव नन्द बञ्जाडेलाई बिदाई गरिएको छ । ५८ बर्ष उमेर हद पूरा भएपछि सेवा निवृत्त हुनुभएका सहसचिव बन्जाडेलाई आयोजना कार्यालयद्वारा विदाई गरिएको हो ।
२०१८ साल माघ ११ गते जन्मनु भएका बन्जाडेको निजामति सेवा ऐन २०४९ को दफा ३३ (१) अनुसार २०७६ माघ ११ गते नै सेवा अवधि पूरा भएपनि उहाँले आज मात्र अवकाश पत्र बुझ्नु भएको हो । खानेपानी मन्त्रालयबाट अवकाश बुझेपछि उहाँ सीधै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयको सम्पर्क कार्यालय भक्तपुर पुग्नुभएको थियो ।

२०३९ सालमा खानेपानी डिभिजन कार्यालय पोखराबाट निजामति सेवा प्रवेश गर्नुभएका बन्जाडेले ३६ बर्ष सेवा गर्नुभयो । २१ बर्षकै उमेरमा निजामति सेवामा प्रवेश गर्नुभएका बन्जाडेले कर्मचारीबृत्तमा बिचारमा अडिग, नेतृत्वदायी क्षमता, निर्णायक खुबी र कुशल प्रशासनिक क्षमता भएको इञ्जिनियरको छबि बनाउनुभएको छ ।
आफ्नो ३६ बर्षे जागीरे जीवनमा दुईवटा कामले मात्र सन्तुष्टि दिएको उहाँको अनुभव छ । बिदाई कार्यक्रममा उहाँले आफूले अघि सारेको अवधारणा मध्ये निजी धारा र सहलगानी खानेपानी आयोजना साकार भएको बताउनुभयो । ‘फिल्ड लेबलबाट ल्याएको नयाँ सोचलाई नीतिमा ढालेर आयोजनाको विकास गरें । यी दुईवटा काम मेरो जागीरे जीवनका उपलब्धी हुन्’ उहाँले भन्नुभयो ।
सुरुमा यो अवधारणा सुनाउँदा उपभोक्ताहरुले त्यत्ति ठूलो लागत सहभागिता जनाउन सक्दैनन् भनेर विभागले पनि स्वीकार नगरेको र मन्त्रालय पनि सकारात्मक नभएको उहाँको अनुभव छ । ‘मन्त्रालयमा कृष्णप्रसाद आचार्य सहसचिव हुनुहुन्थ्यो उहाँले यो कुरा सकारात्मक रुपमा लिनुभयो र आयोजना अगाडि बढ्यो । पछि उहाँ नै खानेपानी विभागमा महानिर्देशक भएर आउनुभयो । उहाँले त्यसलाई निरन्तरता दिनुभयो । र त्यसपछि सुमन सर आउनुभयो उहाँले पनि निरन्तरता दिनुभयो, आज सहलगानी खानेपानी आयोजनाले एउटा आकार लिएको छ ।’ उहाँले भन्नुभयो ।

ग्रामीण खानेपानीमा निजी धाराको चलन आफू पर्वत जिल्लामा रहँदा सुरु गरिएको उहाँले सुनाउनुभयो । ‘पहिलो निजी धाराको चलन थिएन, हामी सार्वजनिक धारा बनाउँदै हिड्थ्यौं । ती सार्वजनिक धाराका आयोजनाहरु टिकाउ थिएनन्, सबैलाई थाहा छ । २०६० सालमा पर्वतको कुश्मामा साना सहरी खानेपानी आयोजनामा काम गरें । निजी धारा सहरी क्षेत्रमा मात्र सम्भव छ भन्ने बुझाई थियो । मैले गाउँमा पनि सम्भव छ भन्ने प्रमाणित गरिदिएँ । त्यसकोअनुभव मैले ग्रामीण खानेपानीमा उपयोग गरी २०६३ सालमा कार्कीनेटा खानेपानी आयोजनामा मिटर सहितको निजी धारा जडानको काम सफलतापूर्वक सम्पन्न गरें ।’

रुपन्देहीमा रहँदा उहाँले अर्को अवधारणा विकास गर्नुभयो । त्यो थियो सहलगानी खानेपानी आयोजना । अर्थात उपभोक्ताको पनि नगद योगदान र सरकारको अनुदान । रुपन्देहीमा रहँदा उहाँले उपभोक्ताहरुलाई विश्वस्त तुल्याएर ४० प्रतिशत योगदान उपभोक्ताको र ६० प्रतिशत सरकारको लगानी रहने अवधारणा ल्याउनुभएको थियो । सहलगानी खानेपानी आयोजनाको पहिलो निर्देशिकाले ४० प्रतिशत जनसहभागिता र ६० प्रतिशत नेपाल सरकारको अनुदान भने पनि पछि संशोधन गरी एकरुपता बनाउँदा ३०/७० को कन्सेप्टमा ढालेको उहाँले बताउनुभयो । सहलगानी खानेपानी आयोजनाको निर्देशिका बनाउन राष्टिय योजना आयोगका तत्कालीन सहसचिव गोपी मैनालीको ठूलो योगदान रहेको उहाँले स्मरण गर्नुभयो । मैनाली हाल सचिव हुनुहुन्छ ।
उहाँले गाडीको सुविधा नभएको त्यो समयमा मुख्य मुख्य सहरमा बाहेक अन्यत्र हिडेरै सेवा प्रदान गरेको अनुभव सुनाउनुभयो । बिदाई कार्यक्रममा उहाँले फिल्डको काम बाग्लुङको बलेवाबाट सुरु गरेको र सोही आयोजनाले धेरै कुरा सिकाएको स्मरण गर्नुभयो ।
अति सरल र व्यवहारिक : निमित्त कार्यालय प्रमुख जैसी

निमित्त कार्यालय प्रमुख सिनियर डिभिज्नल इञ्जिनियर मोहनलाल जैसीले कार्यालय प्रमुख नन्दलाल बन्जाडे साह्रै सरल र व्यवहारिक भएको पाएको बताउनुभयो । उहाँले कतिपय कार्यालय प्रमुखमा दम्भ, घमण्ड, असमझदार जस्ता गुण हुने गरेपनि उहाँसँग त्यो नरहेको बताउनुभयो । ‘उहाँसँग काम गर्दा कहिल्यै नराम्रो भएन, आफै काम गर्न अघि सरिहाल्ने, सबैलाई समान व्यवहार गर्ने उहाँको जस्तो व्यवहार थोरै हाकिमसँग मात्र हुने गुण हो ।’ उहाँले भन्नुभयो ।
विदाई कार्यक्रममा लेखा प्रमुख बिष्णु भुसालले जागीरे जीवनबाट मुक्त भएपछि झनै धेरै काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । ‘सधैं सक्रिय रहने उहाँको बानीले अझ धेरै काम गर्न सक्नुहुन्छ, जागीरे जीवनमा केही बन्धन जस्तो पनि हुन्छ, उहाँ त्यसबाट मुक्त भईसक्नुभएको छ, सेवा निवृत्त जीवन अझ सुखमय होस्’ उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यालयकी इन्जिनियर अन्नपूर्णा बरालले कार्यालय प्रमुख बन्जाडेसँग कठिन परिस्थितिमा पनि सुझबुझपूर्ण तवरले निर्णय लिने क्षमताले गर्दा कार्यालयको कामले प्रगति हासिल गरेको बताउनुभयो । उहाँले कार्यालयमा प्रमुख बन्जाडेको अभाव खड्किरहने र अन्य कार्यालय प्रमुखले समेत उहाँले लिएको बाटोलाई पछ्याउने विश्वास व्यक्त गर्नुभयो ।
बिदाई कार्यक्रममा कार्यालयका सबै कर्मचारीले खादा, फूलमाला र अबीर लगाएर उहाँको सेवा निवृत्त जीवन खुसी र सुखमय बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
बिदाईका थप तस्बिरहरु :






2061 पटक हेरिएको 

