वास क्षेत्रमा १५ औं योजनाको लक्ष्य, आधारभूत खानेपानी र सरसफाइको पहुँच सुनिश्चित गर्ने

🔗
16
Shares


काठमाडौ : सरकारले पन्ध्रौं पञ्चबर्षीय योजना (२०७६/०७७–२०८०/०८१) मा खानेपानी र सरसफाइको क्षेत्रमा आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्ने र गुणस्तरीय सेवा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।

सरकारले पन्ध्रौ योजनाको अन्त्य (२०८०/०८१) सम्ममा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी सेवा पुगेको हुने, करिब ४० प्रतिशत नागरिकलाई सुधारिएको (उच्च तथा मध्यम स्तर) खानेपानी सेवा उपलब्ध भएको हुने, पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापले निरन्तरता पाएको , मानवजन्य गतिविधिहरुबाट उत्सर्जित करिब २० प्रतिशत फोहोरपानी प्रशोधन गरी निष्काशन तथा विसर्जन भएको हुने अपेक्षा गरेको छ । हाल करिब ८९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी सुविधा उपलब्ध भएको तथ्याङ्क छ । यस्तै २० प्रतिशत जनसंख्याको सुधारिएको खानेपानीमा पहुँच पुगेको छ भने आधारभूत स्तरको सरसफाइ सुविधा शत प्रतिशत नागरिकले प्राप्त गरेका छन् ।

राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं योजना हालै पारित गरिसकेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि भर्ना हुनु अघि सोमबार बसेको बैठकले १५औं योजना पारित गरिएको हो । खानेपानी र सरसफाइमा राखेको लक्ष्य प्राप्तिका लागि निम्न रणनीतिहरु अपनाईने योजनामा उल्लेख गरिएको छ ।

रणनीतिहरु : 

१. आधारभूत खानेपानी तथा सरसफाइ सेवाबाट बञ्चित रहेका समुदायको सहभागितामा खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउने ।

२. आयोजना समयमै निर्माण सम्पन्न गर्ने तथा सेवा सञ्चालनमा समस्या भएका आयोजनाको उचित मर्मत सम्भार, पुनस्र्थापना तथा समयसापेक्ष सेवास्तर अभिवृद्धि गर्दै जाने ।

३. सुधारिएको खानेपानी सेवा विस्तारको लागि मागको आधारमा सहलगानी, लागत साझेदारी, लागत उठ्तीको सिद्धान्त अनुरुप खानेपानी आयोजना सञ्चालन गर्ने ।

४.फोहोर पानीको उत्सर्जन कम गर्ने र उत्पादित फोहोरपानीको व्यवस्थापन गरी लाभ प्राप्त गर्ने ।

५. मानवजन्य फोहोरपानी प्रशोधन सहित व्यवस्थापन तथा दिसाजन्य लेदो व्यवस्थापन गर्दै नदीनाला, जलाशय, जलाधार तथा ताल तलैयाको पर्यावरणीय स्वच्छता तथा सौन्दर्यता कायम गर्ने ।

६. खानेपानी तथा सरसफाइ आयोजनाहरुलाई जलवायु अनुकुलन तथा विपद जोखिम न्यूनीकरण हुने गरी दिगोपना कायम गर्ने ।

७. खानेपानीका स्रोत तथा जलाधार क्षेत्रको पहिचान र संरक्षण, भूमिगत पानीके पुनर्भरण तथा जलस्रोतको बहु उपयोग, एकीकृत उपयोग तथा पुनरुपयोगलाई प्रोत्साहन र प्रवर्धन गर्ने ।

८. खानेपानी तथा सरसफाइ सेवा प्रदायक निकायहरुको समयानुकुल सुधार। सुदृढीकरण तथा समायोजन गर्ने ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार