पानी र सरसफाइ सुविधाले उदयपुरको तीनतले गाउँ स्वर्गतुल्य ! (भिडियो रिपोर्ट)

उदयपुर : चिटिक्क परेको घरआँगन, नजिकै पानीको धारा, धारा सँगै बनाईएको छ, भाँडा सुकाउने चाङ । चाङमा छन्, टिलिक्क टल्केका भाँडाकुँडा । सरसफाइको न्यूनतम यो मापदण्ड, एउटा घरले मात्र नभई गाउँभरिका सबैजसो घरले अपनाएका छन् । स्वच्छ र सफा क्षेत्र घोषित गाउँको परिचय, तीनतले गाउँका हरेक घरपरिवारले जोगाईराखेका छन् ।

उदयपुरको बेलका नगरपालिका ६ नं. वडामा पर्ने तीनतलेलाई २०७५ साल वैशाख १५ गते स्वच्छ र सफा क्षेत्र घोषणा गरिएको थियो । वडा स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समिति वार्डवाससीसीको अनुरोधमा साढे २ बर्ष अघि स्वच्छ र सफा क्षेत्र घोषित तीनतले गाउँमा अहिले पनि सरसफाइका क्रियाकलापहरु भईरहन्छन् ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोगमा, समाजसेवी समुह नेपालले तीनतलेमा खानेपानी र सरसफाइ सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको थियो । खानेपानी र सरसफाइ सम्बन्धी क्रियाकलापबाट सफा र स्वच्छ क्षेत्र घोषणका लागि आवश्यक सूचकहरु पूरा भएपछि तीनतलेलाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको हो ।

सरसफाइ अभियानको क्रममा सञ्चालित सरसफाइ सम्बन्धी क्रियाकलापहरुले समुदायको व्यवहार परिवर्तनमा ठूलो सघाउ पुगेको देखिन्छ । अहिले हरेक घरले शौचालयको सुरक्षित प्रयोग गरिरहेका छन् । खानेपानीलाई कुनै न कुनै विधिबाट शुद्धिकरण गरेर मात्र पिउन थालेका छन् । वातावरण सफा राख्न बाटोघाटोमा समेत फोहोरलाई संकलन गर्ने टोकरीको व्यवस्था गरिएको छ । गाउँलाई सधैं सफा र स्वच्छ राख्न पाएकोमा स्थानीयबासिन्दा पनि खुसी छन् ।

कुनै समय पानीको चरम अभाव खेप्न बाध्य तीनतलेका बासिन्दालाई अहिले पानीको दुःख छैन । पानीको अभावमा नर्क झैं लाग्ने तीनतले अहिले स्वर्गतुल्य भएको छ । पानी सँगै आफू र आफ्नो वरपरको वातावरण कसरी सफा राख्ने भन्ने तरिका थाहा पाएपछि तीनतलेका बासिन्दालाई हाइसन्चो भएको हो ।

स्वास्थ्य नै धन हो । स्वस्थ जीवनका लागि सरसफाइ अपरिहार्य छ । सरसफाइका लागि घर आँगन सफा गरेर मात्र पुग्दैन । व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइबाट मात्र स्वस्थ जीवनको परिकल्पना सम्भव छ भन्ने कुरा बेलका नगरपालिका ६ तीनतलेका बासिन्दाले राम्ररी बुझेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार