स्मार्ट शौचालय निर्माण गर्न १ सय १९ रूख कटान

परासी : पश्चिम नवलपरासीको बर्दघाटस्थित पारिजात सामुदायिक वनमा सयौंको संख्यामा रूख काटिएका छन् । प्रदेश ५ सरकारले स्मार्ट शौचालय निर्माण गर्न जग्गा माग गरेको जंगलमा सिसौ, साल, किट लगायत जातका रूख काटिएका हुन् । पूर्वी नाकामा स्मार्ट शौचालय निर्माण गर्न प्रदेशले स्थानीय तहसँग जग्गा माग गरेको थियो । नगरपालिकाको मागपत्र अनुसार सामुदायिक वनले २१औं वार्षिक साधारणसभाबाट शौचालय बनाउन वन ऐन विपरीत नहुने गरी जग्गा उपलब्ध गराउन सिफारिस दिने निर्णय गरेको थियो ।

नगरपालिका प्रमुख धीरज शर्मा बस्यालले प्रदेश सरकारको कार्यक्रम अनुसार शौचालय निर्माणका लागि नियमानुसार सामुदायिक वनसँग जग्गा माग गरिएको जानकारी दिनुभयो । ‘पूर्व–पश्चिम राजमार्ग चौडा बनाउने काम अन्तर्गत अहिले सडक छेउका रूख कटान गरिएको छ, सडक डिभिजनले रूख कटान गरेको देखेर स्थानीयले पनि केही बोटविरुवा फँडानी गरे होलान् । स्थानीयलाई सिमाना थाहा नभएर यस्तो गरेको हुन सक्छ ।’उहाँले भन्नुभयो ।

सामुदायिक वनका अध्यक्ष चुरामणि भण्डारी र डिभिजन वन प्रमुख रामनारायण शाहले रूख कटानबारे ढिलो मात्रै जानकारी पाएकाले कसले फँडानी गर्‍यो भन्नेबारे यकिनसाथ भन्न नसक्ने बताउनुभयो । ‘बर्दघाट नगरपालिकाले शौचालय बनाउन जग्गा मागेको थियो, जग्गा दिने प्रक्रिया सुरु गरेका थियौं । अहिले एकाएक रूख काटिएको छ’ वन उपभोक्ता समूहका अध्यक्ष भण्डारीले भन्नुभयो ।

डिभिजन वन प्रमुख शाहले सिफारिस पत्रका आधारमा आफूले वन ऐन, २०७६ को दफा ४२ बमोजिम प्रक्रिया पूरा गरेर मात्र भौतिक निर्माण गर्न पाइने जानकारी गराएको बताउनुभयो । ‘शौचालय निर्माण गर्ने स्थानमा एकाएक रूख काटिनु वन ऐनविपरीत भएको र दोषी पत्ता लगाउने काम भईरहेको उहाँले बताउनुभयो ।

स्थानीयले शनिबार दिउँसो रूख काटिएको बताए पनि अहिलेसम्म संलग्नलाई पत्ता लगाएको छैन । डिभिजन वन र सामुदायिक वनले अज्ञात समूहले वन फँडानी गरेको बताएको छ । स्थानीयले वन क्षेत्रमा भौतिक संरचना बनाउन उपभोक्ताले फँडानी गरेको आरोप लगाएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार