
सल्यान : शारदा नगरपालिका–६, टाकुराकी ४२ वर्षीया सशली परियारले गाउँ नजिकैको मुहानमा पानी सुकेपछि एक दसकयता ठूलै सास्ती भोगिन् । दुई घण्टा टाढाको गोगनपानीबाट पानी ल्याउनुपर्ने बाध्यता आइलाग्यो । शुक्रबार गाउँमा खानेपानी आयोजना सञ्चालनमा आएपछि भने उनको पानीको पिरलो हटेको छ ।
एक सय घर रहेको टाकुरामा ०३६ सालमै खानेपानी आयोजना सुरु भए पनि अलपत्र परेको थियो । शारदा नगरपालिकाले ५५ लाख रुपैयाँको लगानीमा मूलखोला–टाकुरा लिप्ट खानेपानी योजना सम्पन्न गरेपछि स्थानीयले घर नजिकै खानेपानी सुविधा पाएका हुन् । ‘आधा रातमै सल्लाको झर्रो बालेर दुई घण्टा तलको मुहान पुग्नुपर्ने बाध्यता हट्यो,’ सशलीले भनिन्, ‘दिनरात पानीकै चिन्ता हुन्थ्यो, पानी पुगेपछि गाउँमा विकास आएको महसुस भयो ।’ लामो समय टाढाबाट पानी बोक्दा ढाड दुख्ने समस्याबाट पीडित भएको उनको गुनासो छ ।
स्थानीयबासी अनिता बुढाथोकीले घरनजिकै धारा बनेपछि घरायसी कामकाज गर्न सजिलो भएको बताइन् । उनका अनुसार खानेपानी समस्याका कारण बालबालिका र महिलाले लामो समयसम्म सास्ती भोग्नुपर्यो । ‘लुगा धुन र नुहाउन सधैं खोला झर्नुपर्थ्यो, पानी ल्याउने चटारोले बालबालिकाले पढाइ पनि छुट्थ्यो,’ उनले भनिन्, ‘अहिले सरसफाइका काम सहज बनेका छन्, अलपत्र सौचालय प्रयोगमा आउन थालेका छन् ।’ घर नजिकैको धाराको पानीलाई करेसाबारीमा लगाई तरकारी उत्पादन गर्ने उनको योजना छ ।
पानीकै दुःखले गर्दा दुई दर्जन परिवार बसाइ सरी अन्यत्रै गएको स्थानीय इन्द्रबहादुर बुढाथोकीले बताए । ‘जति अभाव भए पनि हामीले भने पुर्खालाई सम्झेर गाउँ छाड्न सकेनौं,’ उनले भने, ‘पानी आयो, अब अरु विकास आउने अपेक्षा छ ।’ नगरपालिकाका प्राविधिक कैलाश चनाराका अनुसार मुहानबाट एक हजार तीन सय मिटर लम्बाइको पाइपलाई गाउँसम्म विस्तार गरिएको छ । उनले योजनाको ‘भर्टिकल हाइट’ तीन सय ५० मिटर रहेको जानकारी दिए । विद्युत्बाट पानी पम्पिङ गरिएकाले एक सेकेन्डमा अढाइ लिटर पानी टंकीमा जम्मा भइरहेको छ । यो खबर हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।
शारदा नगरपालिका–६ का वडाध्यक्ष भिकराज भण्डारीले टाकुरा र मधमकाँडाका २ सय ७५ घर लाभान्वित हुने गरी लिफ्ट खानेपानी योजना सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार एक महिनापछि दुवै गाउँका घरघरमा खानेपानी सुविधा हुनेछ । व्यवस्थित रुपमा योजना सञ्चालन गर्न चौकीदारको व्यवस्था गरिने उनले जानकारी दिए । ‘मुहान तल र गाउँ माथि भएका ठाउँमा लिफ्ट प्रविधिबाटै खानेपानी पुर्याउन खोजिएको हो,’ उनले भने, ‘सापमारा, खातीगाउँ र मधमकाँडाकामा पनि लिफ्ट प्रविधिबाट खानेपानी योजना सुरु गर्दै छौं ।’


1718 पटक हेरिएको 

