
काठमाडौ : सरकारले चैत्र ९ देखि २१ गतेसम्म अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै विश्वव्यापी रुपमा फैलिदै गईरहेको कोरोना भाइरस नेपालमा भित्रन नदिन उच्च सतर्कता अपनाउनुपरेकाले आगामी २१ गतेसम्म अति आवश्यक सेवा बाहेकका सेवा बन्द गरिएको घोषणा गर्नुभयो ।
सरकारले आवश्यक सेवा सन्चालन ऐन २०१४ को दफा २ को उपदफा १ मा खानेपानी सञ्चालन तथा वितरण सेवा सहित १९ वटा सेवालाई अति आवश्यक सेवाको सूचीमा राखिएको छ । ती सेवा सञ्चालनमा हड्ताल गर्न निषेध गरिएको छ । फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवालाई समेत अति आवश्यक सेवामा राखिएको छ ।
यी बाहेक कुन – कुन सेवा अति आवश्यक सेवामा पर्छन् त ?
१. डाँक तार वा टेलिफोन सेवा
२. जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
३. हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
६. हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
११. पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
१३. औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
१४. फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
१५. बैंकिंङ सेवा
१६.बीमा सेवा
१७. विद्युत सेवा
१८. दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा ।
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा ।




2895 पटक हेरिएको 

