
धादिङ : धादिङको धुनीवेशी नगरपालिका – ४ जीवनपुरमा डिपबोरिङबाट खानेपानी आपूर्ति गरिने भएकोछ । जमिनको सतहदेखि ६० मिटर भर्टिकल उचाइमा एक सय ७० मिटर पाइप विछ्याइएर ट्यांकीसम्म पुर्याइएको कोटकालीका डिपबोरिङ उपभोक्ता समितिका अध्यक्ष केदार रेग्मीले बताउनुभयो ।
भूमिगत पानीको प्रयोग गर्न गत आर्थिक वर्षमा नगरपालिकाको ४४ लाख रुपैयाँ बजेटबाट डिपबोरिङ, पाइप जडान, मोटर जडान, ट्रान्सफर्मर जडान गरी विद्युत जडान भईसकेको छ । चालु आर्थिक बर्षमा नगरपालिकाकै ३० लाख रुपैयाँ बजेटमा एक लाख लिटर पानी जम्मा गर्न ट्यांकी निर्माण भइरहेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
यो योजनाबाट करिब तीन सय परिवारलाई एक घर एक धारा मार्फत पानी वितरण गर्ने योजना रहेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार खानेपानीबाट जीवनपुर बजार, ठकुरी गाउँ, मिजारगाउँ, छापगाउँ, गैरीगाउँ, कुँवरटोल लगायतका करिब तीन सय घर लाभान्वित हुनेछन् ।
भूकम्प जानु अघिपनि गाउँमा पानीको दुःख थियो, भुकम्पपछि झनै समस्या बढ्यो, समितिकी कोषाध्यक्ष विन्दा कुँवरले भन्नुभयो। अहिले पानी लिन एक घण्टासम्म समय खर्चनु पर्छ भने कपडा धुन दुई घण्टा टाढा जानुपर्ने उहाँले बताउनुभयो ।
ट्यांकीमा २४ घण्टामा तीन लाख ८८ हजार लिटर पानी खपत गर्न मिल्छ । नागरिकलाई खानेपानी समस्याबाट मुक्त गराउन जिल्लामै पहिलो पटक डिपबोरिङ गरी भूमिगत पानी वितरण गर्न लागेको नगर प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।


914 पटक हेरिएको 

