चिनियाँ कामदार पनि क्वारेन्टाइनमा बस्दा मेलम्चीको काम ठप्प

🔗
6
Shares

काठमाडौ : चिनियाँ कामदारले धानिरहेको मेलम्ची खानेपानी आयोजनामा कार्यरत कामदार पनि क्वारेन्टाइनमा बसेपछि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको छ । नेपाली कामदार घर फर्केपनि चिनियाँ कामदारले सुरुङको विभिन्न खण्डमा काम गरिरहेका थिए । आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले लकडाउनको प्रभाव मेलम्चीको काममा पनि परेको जानकारी दिनुभयो । चिनियाँ र नेपाली गरी तीन सय पचासको हाराहारीमा प्राविधिक र मजदुर मेलम्चीको पानी काठमाडौं ल्याउने भन्दै अहोरात्र खटिरहेका थिए ।

लकडाउनपछि स्थानीय कामदार तीन सय जना आफ्नो घर फर्केका र ५० चिनियाँ विभिन्न क्याम्पमा सेल्फ क्वारेन्टाइनमा बस्दा मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भएको उहाँले बताउनुभयो । मेलम्चीको अन्तिम चरणको काम बाँकी रहेको अवस्थामा विभिन्न वहाना देखाएर इटालियन कम्पनी सीएमसी दि रिभेना गत वर्ष छोडेर गएपछि सरकारले प्रतिस्पर्धाबाट चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रोलाई कामको जिम्मा दिएको थियो ।

अहिले चिनियाँ कम्पनीले मुहान निर्माणको काम, सुरुङ फिनिसिङ, सुरुङको गेट निर्माण लगायतका काम गरिरहेको छ । अहिले चिनियाँहरू सुन्दरीजल, सिन्धु, ग्याल्थुम, अम्बाथान र मुहान क्षेत्र गरी पाँचस्थानमा क्याम्प खडा गरी बसिरहेको आयोजनाका सूचना अधिकारी पन्तले बताउनुभयो । सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनाले आउने असारमा उपत्यकावासीलाई खानेपानी खुवाउने लक्ष्य सहित काम भइरहेको थियो । केही समय अघि मात्रै सुरुङभित्र पानी हालेर परिक्षण समेत गरिएको थियो । वैकल्पिक व्यवस्था गरेर भए पनि असार भित्र मेलम्चीको पानी काठमाडौमा ल्याउने योजना सरकारले लिएको छ ।

मेलम्चीको अन्तिम काम चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रोले गरिरहेको छ भने सरकारले राष्ट्रिय रूपमा ‘लकडाउन’को घोषणा गरेपछि त्यसको प्रभाव काममा परेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार