
कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनकै बीचमा नयाँ बर्षको आगमन भएको छ । बितेका बर्षहरुमा जस्तो हर्षोल्लासका साथ यो बर्षको शुभारम्भ गर्ने परिस्थिति छैन अहिले । आफन्तसँगै टाढा टाढा भाग्नुपर्ने, मान्छेसँग मान्छे डराउनुपर्ने परिवेशलाई बुझेर आफ्नो दैनिकीलाई घरको परिधिभित्र खुम्च्याउनुपरेको छ । त्यसैमा रम्नुपर्ने बाध्यतामा नयाँ बर्षलाई स्वागत गरिरहेका छौं ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वकै सम्पन्नशाली कहलिएका मुलुकलाई समेत घुँडा टेकाएको छ । नेपाल जस्तो सानो अर्थतन्त्र र सीमित स्रोत साधन भएको मुलुकमा त्यो प्रकारको भयावह अवस्था आयो भने धान्न सकिने अवस्था नै छैन । कोरोना महामारी फैलिन नदिन सरकारले गरेको लकडाउनको छोटो समयमै मुलुकको भौतिक, आर्थिक, शैक्षिक, सामाजिक अवस्था डामाडोल हुने अवस्था सिर्जना भईसकेको छ । विश्व बैंकले त नेपालको आर्थिक बृद्धिदर २.८ मा सीमित रहने प्रक्षेपण गरिसकेको छ ।
तर कालो बादल भित्र पनि चाँदीको घेरो हुन्छ भने झैं मुलुकको अन्य क्षेत्रले यत्ति धेरै संकटको सामना गर्नु परेपनि खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रका लागि भने यो समय त्यत्ति प्रतिकुल छैन । बाहिर निस्केर हुल बाँधेर विभिन्न अभियानमूलक कार्यक्रमहरु गर्न असम्भव भएपनि घरभित्रै गर्न मिल्ने सरसफाइजन्य क्रियाकलापहरु गर्न यो भन्दा उत्तम अवसर अरु कतिबेला हुन सक्छ ?
यत्तिबेला सबैजना घरमै छौं । अहिलेको महामारीबाट बच्ने पहिलो उपाय भनेकै सरसफाइ बनेको छ । हामीले चर्पी निर्माणको काम खुला दिसामुक्त घोषणा गर्ने क्रममै सम्पन्न गरिसकेकाले यत्तिबेला घरभित्रकै आनीबानी परिवर्तनमा वास प्रबर्द्दकहरुको ध्यान दृष्टि केन्द्रित गर्नुपर्ने अवस्था आएको छ । हण्डर नखाई चेत नखुल्ने तपाई हामीलाई यत्तिबेला समयले महत्वपूर्ण पाठ सिकाईरहेको छ । चर्पीको उचित प्रयोग, सुरक्षित खानेपानीको प्रयोग, सुरक्षित खाना, साबुन पानीले हात धुने र वातावरणीय सरसफाइ जस्ता सरसफाइको आधारभूत कुराहरु जानेर पनि कार्यान्वयनमा नल्याएका पक्षहरु मात्र हुन् । जसलाई व्यवहारमा रुपान्तरण गर्ने उचित समय यत्तिबेलै जुरेको छ ।
नयाँ बर्ष २०७७ शुभारम्भ हुँदै गर्दा वास क्षेत्र सामु देखा परेका यत्ति धेरै अवसरहरुलाई उपयोग गर्दै अगाडि बढ्न सक्यौं भने वास क्षेत्रको भविश्य उज्जवल छ । हामीले विगतमा चाहेर पनि सम्पन्न गर्न नसकेका प्रयासहरु माथि पनि हामीले यसैबर्षभित्र अवश्य विजय हासिल गर्न सक्छौं । पटक पटक मिति तोक्दै थला परेको बहु प्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गरी काठमाडौबासीको तिर्खा मेटाउन सक्यौं भने २०७७ सालमा वास क्षेत्रमा भएको ठूलो उपलब्धी हुनेछ ।
नीति निर्माणका लागि यसअघि नै सुरु भईसकेको तर निचोडमा पुग्न बाँकी खानेपानी तथा सरसफाइ विधेयक, नेपाल खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्र विकास योजना, मर्यादित महिनावारी नीति, पूर्ण सरसफाइ गुरुयोजना निर्माण जस्ता महत्वपूर्ण कामहरु सम्पन्न गराउन सके अर्को बर्ष २०७८ साल शुभारम्भ हुँदै गर्दा बर्ष २०७७ लाई फर्केर हेर्दा गौरवले छाती फूलाउने दिने आउने निश्चित छ । जसरी यत्तिबेला २०७६ लाई फर्केर हेर्दा खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सफल भयौं भनेर वास क्षेत्रले गर्व गरिरहेको छ ।
नयाँ बर्ष २०७७ सालको सबैमा शुभकामना – सम्पादक


1987 पटक हेरिएको 

