हरायो पानी जोगाउने लिच्छविकालीन ज्ञान

आजभन्दा चौंतीस बर्ष अघि अर्थात १८ माघ ०४३ मा तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको मन्त्रिपरिषद्ले राष्ट्रिय पञ्चायतका सदस्य वीरेन्द्रकेशरी पोखरेलको नेतृत्वमा जल आपूर्ति तथा ढल निकासको अवस्थाबारे छानबिन अध्ययन समिति गठन गर्यो । अध्ययनको एउटा उद्देश्य निरीक्षण गर्नु थियो । १२ वर्षदेखि विश्व बैंकले सहरी क्षेत्रमा जल आपूर्ति तथा ढल निकास गर्न नेपाल सरकारलाई ऋण दिई थुप्रै परियोजना सञ्चालन गरेको थियो । तर ती आयोजनाले सर्वसाधारणको घरघरमा पानी आउन त परै जाओस्, पानी आउने परम्परागत संरचनासमेत बिगारिदिए । देशलाई ऋणको भार पनि बोकाइदिए । समितिका एक सदस्य दीपक ज्ञवाली सम्झन्छन्, “रिपोर्टमा विश्व बैंकको गल्ती देखिएपछि त्यसलाई रोक्न उनीहरूले ठूलो राजनीति खेलेका थिए ।”

घर तथा बाटो बनाउन जथाभावी डोजर चलिरहे । त्यसले पुरातन नहर भत्काए । पानी सिञ्चित क्षेत्र अर्थात् पोखरी मासिँदै गए । विकासको होडमा जमिन सिलिङ गरियो, जसले जमिनभित्र पानी छिर्नै पाएन । राजकुलो भत्कियो, त्यसलाई ढल बनाइयो ।

पानीमाथि खेलाँचीको यो एउटा दृष्टान्त थियो । १७ औँ शताब्दीमा बनेका राजकुलोबाट काठमाडौँ उपत्यकामा पानी व्यवस्था गरिएको थियो । काठमाडौँमा बूढानीलकण्ठबाट, भक्तपुरमा महादेव खोलाबाट र पाटनमा शेषनारायणको राजकुलोबाट ढुंगेधारामा पानी आउँथ्यो । पञ्चायतकालदेखि नै जथाभावी जमिन दोहन गर्नाले राजकुलो मासिँदै गए । ढुंगेधारामा पानी सुक्दै गए । बर्खे पानीको सदुपयोग गर्न बनाइएका पोखरी मासिँदै गए । ढुंगेधारा र पोखरीका जग्गा अतिक्रमण भए । जस्तो, लैनचौरमा ठूलो पोखरी भएको ठाउँमा अहिले स्काउट भवन छ । ढुंगेधारामाथि नै ललितपुर महानगरपालिका कार्यालयको भवन छ ।

मह जोडीले केही वर्षअगाडि काठमाडौँमा पानीको हाहाकारलाई व्यंग्य गर्दै एउटा टेलिसिरियल निर्माण गरेका थिए, जलपरी । त्यसमा प्याकप्याके र सुकसुके टोल पानीको हाहाकार देखाउन विम्बका रूपमा प्रयोग भएका थिए । काठमाडौँ उपत्यकाको हबिगत त्यही नै हो । काकाकुल काठमाडौँ उपत्यकामा मेलम्ची अझै पनि ‘दिवास्वप्न’ बन्न गएको छ । आयो–आयो भन्दै नआएको मेलम्चीको आशामा उपत्यकाबासीले झन्डै २० वर्ष बिताइसके । त्यतिन्जेल जनसंख्या पनि चौगुणा बढिसक्यो । मेलम्ची आए पनि त्यसले ५० प्रतिशत माग धान्नेछ । बाँकी ५० प्रतिशतका लागि भगीरथ प्रयास गर्नुपर्ने देखिन्छ । २५ वर्षअघि पनि पानीको ठूलो अभाव थियो । त्यतिबेलाको करिब १५ लाख जनसंख्याका लागि व्यवस्था गरिएको ९ करोड लिटर पानी नै अहिलेको ४० लाख जनसंख्यालाई वितरण गरिएको छ ।

जलस्रोतको धनी देशकै राजधानीमा पानी पुर्याउन लिच्छविकालदेखि नै सकस भएको प्रमाण तत्कालीन ढुंगेधाराहरूले देखाउँछन् । मानव सभ्यता सुरु भएसँगै बस्ती माथि बस्ने र तलतिर पानीका स्रोत रहेका दृष्टान्त भेटिन्छन् । पानीको समस्या निवारण गर्न र यसलाई घर–घर पुर्याउन किराँतकालदेखि अनेक उपाय गरेको सहरी योजनाकार पद्मसुन्दर जोशी सम्झन्छन् । भन्छन्, “किराँतकालदेखि नै डाँडामा थुम्का खनेर पोखरी बनाइन्थ्यो । लिच्छविकालमा ढुंगेधारा बनाइए ।”

काठमाडौँ उपत्यकाका अधिकांश ढुंगेधारा गोही आकारमा देउता थपना गरी बनाइएको देखिन्छ । लिच्छविकालमा कीर्तिको नामले चर्चित यी ढुंगेधारा मल्लकालमा हिटी (धारा) को नामले अहिलेसम्म प्रख्यात छन् । कुनै बेला ठूलो दह भएको काठमाडौँ उपत्यका बस्तीयोग्य हुने समयकालदेखि नै ढुंगेधाराको व्यवस्था भएको प्रस्तुत विभिन्न मूर्ति तथा ताम्रपत्रमा उल्लिखित लिपिहरूले जनाउने विज्ञहरू बताउँछन् ।

इतिहासविद्का अनुसार लिच्छविकालमा (ई.सं. ७८ देखि ८८०) मा जनतालाई पानीको हाहाकारबाट जोगाउन जल आपूर्ति गर्ने ठूला परियोजना सञ्चालन गरिएका थिए । आकाशबाट परेको वा मूल फुटेर निस्केको पानी ठूल्ठूला पोखरीमा जम्मा पार्नु वा ढुंगेधारासम्म पुर्याउनु त्यसैको एक उदाहरण हो । “अहिले हेर्दा त्यसबेलाको इन्जिनियरिङ अविश्वसनीय लाग्छ,” वातावरणविज्ञ भूषण तुलाधर भन्छन्, “कसरी गर्छन् थाहा छैन, प्राचीन उपाय साँच्चै वैज्ञानिक छ ।”

सुक्दो स्रोत

पानीका मुख्य तीन स्रोत छन् । आकाशको पानी, सतही पानी (पोखरी, खोला, नदीनाला, समुद्र), भूमिगत पानी । काठमाडौँमा जमिनको पानी दुई किसिमका छन्– सतही र डिप बोरिङ (भूमिगत) पानी । अधिकांश उपत्यकाबासी भूमिगत पानीमा निर्भर छन् ।

कुनै बैला पाँच लाख मानिसका लागि योजना गरेर निर्माण गरेका मुहानमा अहिले करिब ४० लाख मानिस निर्भर छन् । दैनिक माग ४२ करोड छ भने अहिले सुक्खायाममा १३ करोड र वर्षायाममा १७ करोड केयूकेएलले दिइरहेको छ । चार गुणा मागको एक गुणा मात्रै पानी पुर्याइरहेको संस्थाले आकाशको पानी जोहो गर्न कुनै अभ्यास गरेको छैन । तर विज्ञहरूका भनाइमा काठमाडौँ उपत्यकामा पानीका लागि मूल फुटेर बनेका खोलानाला, भूमिगत पानी र बर्खाको पानी नै उपयुक्त हुन् । बर्खाको पानी जोहो गर्न नसक्दा सीधै खोलामा मिसिई बाढी आइरहेको छ । तर त्यसको सदुपयोग हुन सकेको छैन । पूर्वमन्त्रीसमेत रहेका ज्ञवाली भन्छन्, “काठमाडौँका लागि बर्खाको पानी सदुपयोग गर्नेबाहेक अन्य कुनै विकल्प उपयुक्त हुन सक्दैन । ३० मध्येको एक विकल्पका रूपमा तत्कालीन सरकारले मेलम्ची आयोजना अघि सारेको हो । त्यसको हबिगत त देखिएकै छ ।”

केयूकेएलका अनुसार हाल ठूला साना गरी ६ स्किमअन्तर्गत जम्मा ३५ वटा सतही पानीका स्रोत सञ्चालित छन् । तिनमा सुन्दरीजल र शिवपुरी प्रमुख दुई ठूला जलाधारका रूपमा छन् । सुन्दरीजल र वीरधारा स्किम भनिने त्यहाँको पानी काठमाडौँबासीले पिइरहेका छन् । त्यसैगरी भक्तपुर स्किम अन्तर्गत महादेव खोला, चापागाउँ स्किमभित्र मूलडोल, नल्लुलगायत ५ वटा स्रोत छन् । कुनै बेला विद्युत् निकालेको फर्पिङ रिजर्भ्वायर अहिले पिउनका लागि उपयोग भइरहेको छ । फर्पिङ स्किममा यी बाहेक हिटिडोल, डल्लु स्प्रीङ स्रोत गरी ५ वटा छन् । तीन भीम धारा स्किममा बाउडे, भन्डारेलगायत पाँच स्रोत छन् । त्यसैगरी भूमिगत पानी झिक्न ७८ वटा ट्युबवेलमध्ये केयूकेएलको ५९ मात्र सञ्चालनमा छ ।

एकातिर प्राकृतिक मुहानका स्रोत सुक्दैछन् भने अर्कोतिर तीव्र अव्यवस्थित सहरीकरणले पानीको समस्या झन् चर्किदै गएको छ । उत्तर र उत्तरपूर्वी साँखु, कपन र बूढानीलकण्ठ लगायतका मुहानका स्रोत नजिक बस्ती बढ्नाले मुहान सुक्दै गएका छन् । काठमाडौँको बीचमा बनेका हाउजिङ तथा ठूल्ठूला होटलले धेरै मात्रामा जमिनमुनिको पानी दोहन गरिरहने र जमिन सबैतिर सिल गरिएकाले बर्खाको पानी जमिनमा छिर्न नपाउने समस्या रहिरहे सहर छिट्टै भासिने खतरा रहेको विज्ञहरूको ठम्याइ छ । तुलाधर भन्छन्, “परम्परागत ढुंगेधारा र पोखरी भएका क्षेक्र अतित्रमण गरेर भवन निर्माण गर्नु र राजकुलो मासिनु गलत हो ।”

उपत्यकामा जमिनको दोहन भइरह्यो । ठूल्ठूला हाउजिङ बनिरहे । घर तथा बाटो बनाउन जथाभावी डोजर चलिरहे । त्यसले पुरातन नहर भत्काए । पानी सिञ्चित क्षेत्र अर्थात् पोखरी मासिँदै गए । विकासको होडमा जमिन सिलिङ गरियो, जसले जमिनभित्र पानी छिर्नै पाएन । राजकुलो भत्कियो, त्यसलाई ढल बनाइयो । त्यसबेला भएका संरचनाको मात्रै जोहो भएको भए अहिले पानीको समस्या मेटिन्थ्यो त ? सहरी योजनाकार जोशी भन्छन्, “त्यो जोगाउँदैमा पानीको समस्या हुँदैन भन्नु भ्रम मात्र हो । पानीको समस्या लिच्छविकालमा पनि थियो । त्यो समस्यालाई त्यसबेलाका इन्जिनियरहरूले कसरी सम्बोधन गरे, त्यो बुझ्नु जरुरी छ ।”

के हो राजकुलो


१७ औँ शताब्दीमा उपत्यकामा ठूलो परिणाममा पानी जम्मा पार्न काठमाडौँका राजा प्रताप मल्ल र भक्तपुरका जितामित्र मल्लले राजकुलो नामक ठूलो नहर बनाए । उक्त नहर धार्मिक महत्त्वका साथै जीविकोपार्जनका लागि बनाइएको इतिहासविद् बताउँछन् । ढुंगेधारा खाल्डो बनाएर सीधा राखिन्थ्यो । राजकुलोबाट पोखरीमा पानी आउँथ्यो । आकाशको पानी जमिनले संरक्षण तथा प्रशोधित गर्छ । जमिनको अलिकति तल ढुंगेधारा राखिन्थ्यो । त्यो ढुंगेधारामा परम्परागत नहर माटो या टेलिकोटाको बनाइन्थ्यो । त्यो लाइन धारासम्म जोडिन्थ्यो । कतिपय ढुंगेधाराभित्र पानी प्रशोधन संयन्त्र थिए ।

उत्खननका क्रममा भेटिने सामग्री नेपाली संस्कृतिसँग जोडिएको हुन्छ । ढुंगेधारामुनि भगीरथको मूर्ति हुन्छ । भगीरथले गंगालाई स्वर्गबाट ल्याई धर्तीबासीलाई पानी खुवाएको धार्मिक विश्वास छ । ढुंगेधारा बनाउनु सानो कुरा होइन, त्यो पनि त्यसबेलाको समय ।

त्यसो त वीरशमशेरले सुन्दरीजलबाट यही राजकुलोमार्फत सुन्धारामा वीरधारा बनाए । तर अहिले संरक्षण अभावमा पानी सिञ्चित क्षेत्र मासिँदै गयो भने उता प्राचीन समय कसरी पानीलाई संरक्षण र सदुपयोग गरिन्थ्यो भन्ने ज्ञान पनि हरायो ।

पानी संरक्षणको जात्रा

ढुंगेधारा तथा पोखरीको धार्मिक र सांस्कृतिक महत्त्व छ । संरक्षण गरून् भनेर नै पुर्खाहरूले यिनीहरूलाई संस्कृतिसँग जोडेको वातावरणविद् तुलाधरको तर्क छ । भन्छन्, “रातो मच्छिन्द्रनाथको जात्रा पानी संरक्षणका लागि हो । रथ बाँध्ने बेत पुलचोकको त्यही पोखरीमा धुनुपर्छ । कमलको फूल चढाउनुपर्छ, त्यो पनि तोकिएकै पोखरीबाट ।” दुई महिना लगाएर रथ पाटन घुम्छ । जात्राको पृष्ठभूमि नै पानीसँग जोडिएको छ । जब काठमाडौँमा खडेरी पर्यो, आसामबाट मच्छिन्द्रनाथ भित्र्याइयो । अग्लो रथ त्यसपछि लगनखेल रोकिन्छ, जुन पाटनको पानीको मुख्य स्रोत हो । पहिला त्यो पूरै पोखरी थियो ।

भौगोलिक रूपमा हेर्दा पनि पानी पर्दा जमिन सिञ्चित हुन त्यहाँको माटो उपयुक्त रहेको विज्ञहरूको भनाइ छ । पानी व्यवस्थापनका लागि यस जात्रामा जिम्मेवारी बाँडफाँट हुन्थ्यो र अझै हुन्छ । सबै पाटनबासी एकजुट भएर लाग्छन् । रमाइलो गर्छन्, भोजभतेर खान्छन् । भक्तपुर, कीर्तिपुर र काठमाडौँको पनि यस जात्रामा जिम्मेवारी हुन्छ । कति भूमिका समुदायले वहन गर्थे भने कतिपय तत्कालीन राज्यले ।

जात्रा अन्त्यमा पूजा हुन्छ । जात्रा समापनमा यति खर्च भयो भनेर लेखा परीक्षण गरेजस्तो भगवान्’ लाई सुनाइन्थ्यो र सुनाइन्छ । दुइटा माछा सतलपातलमा छाडिन्छ, मर्त्यलोकमा सुनाइनदिनू भनेर । दुइटा चरा उडाइन्छ, स्वर्गलोकमा सुनाउन जात्रा इमानदारीपूर्वक गरियो भनेर । संस्कृतिमा पानी व्यवस्थापनदेखि खर्चको हिसाबकिताब त्यसरी गाभिएको थियो । अहिले परिस्थिति बदलिएको छ । तुलाधर भन्छन्, “त्यसबेलाका मानिसले पानी संरक्षण गर्न प्रयोग गरेका इन्जिनियरिङको हाम्रा विश्वविद्यालयमा न पढाइ हुन्छ, न त अनुसन्धान नै ।”

अहिले अशोक स्तुपसँग जोडिएको सतलपातल पोखरी, कुमारीपाटीको सानो पोखरी र चिडियाखानाभित्रको सानो पोखरी एउटै भएर पुल्चोकसम्म फैलिएर एउटै ठूलो पोखरी थियो । आकाशको पानी पनि त्यसैमा सञ्चित हुन्थ्यो । त्यही सञ्चित पानी कयौँ वर्ष लगाएर जमिनभित्र पस्थ्यो । अहिले जमिन दोहन मात्र भइरहेको छ । ६० प्रतिशत जनता जमिनमुनिको पानीमा निर्भर छन् । नास्टका प्राज्ञ ज्ञवाली भन्छन्, “केयूकेएलका नीति देखाउने दाँत मात्र हुन् । नीति कार्यान्वयन गर्ने इच्छाशत्ति ठ्याम्मै छैन ।” गत साल जेठ ५ गते नेपाल साप्ताहिकमा प्रकाशित सामग्रीलाई हामीले साभार गरी प्रकाशन गरेका हौं ।

अहिले उपत्यकामा ट्युबवेल, पम्प तथा डिप वाटर बोरिङ भइरहेको छ । ट्यांकरको पानी पनि उपत्यकाभित्रकै मुहानबाट ल्याइन्छ । यसरी सबैतिर पानी दोहन मात्रै गरिरहने तर जमिन रिचार्जका लागि ठोस कार्य नगर्ने हो भने उपत्यका एकादेशको कथा हुन बेर लाग्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार