सर्लाही : सर्लाहीका ४ स्थानीय तहलाई कोभिड १९ संक्रमण रोकथामका उपयोगी हुने स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु कार्यालयमै गएर हस्तान्तरण गरिएको छ । अक्सफामको समन्वय तथा Poul Due Jensen Foundation को सहयोगमा वागमती सेवा समाज नेपाल हरिवन सर्लाहीद्वारा स्थानीय तहले निर्माण गरिएको क्वारेन्टाइनका लागि उपयोगी हुने स्वास्थ्य तथा स्वच्छता सामग्री हन्तान्तरण गरिएको वागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिनुभयो ।
चार वटै स्थानीय तहहरुमा हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा हेण्ड स्यानिटाइजर ५०० मि.लि. १३० बोतल, हेण्ड स्यानिटाइजर १०० मि.लि. १७० बोतल, सर्जिकल मास्क ११५० थान, वासेवल तथा रियुजेवल एप्रोन १०५ थान, इन्फ्रारेड थर्मामिटर ३० थान, के एन ९५ मास्क १२० थान रहेका छन् ।
वागमती सेवा समाज नेपालका पदाधिकारीहरुद्वारा, स्थानीय निकायका मेयर गणेश प्रसाई (हरिवन), मान बहादुर खड्का (लालबन्दी), मनोज देवकोटा (इश्वरपुर), तथा महेन्द्र महतो (चन्द्रनगर) लाई वहाँहरुकै कार्यालयमा भेटी उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । उल्लेखित स्थानीय तहका मेयरहरु तथा गाउँपालिका अध्यक्षले बागमती सेवा समाज तथा अक्सफामले विपदको घडीमा पुरयायको योगदानको प्रशंसा गर्दै कोभिड १९ बिरुद्धको लडाईमा निरन्तर सहकार्य गर्नु पर्ने बताए ।
संस्थाका अध्यक्ष भरत कुमार कार्कीले कोभिड १९ बिरुद्धको लडाईमा सबै एक भएर लाग्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले श्रोत साधनहरुको उपलब्धता अनुसार वागमती सेवा समाजले सर्लाही जिल्लाका ११ क्वारेन्टाइनहरु तथा स्वास्थ्य चौकीहरुमा यस्ता स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु उपलब्ध गराउँदै जाने लक्ष्य रहेको बताउनु भयो ।
उक्त पालिकाहरु मध्ये लालबन्दी, हरिवन, इश्वरपुर र हरिपुरमा १/१ वटा र चन्द्रनगरमा २ वटा क्वारेन्टाइनहरु रहेका छन् । दुई छुट्टा-छुटै समूहमा गई ४ स्थानीय तहमा सामग्री वितरण गरिएको थियो । वाग्मती सेवा समाजले शनिबार लालबन्दी स्थित जिल्ला बिपद व्यबस्थापन समिती सर्लाही द्धारा निर्माण गरिएको उष्ण प्रदेशीय वागवानी क्वारेन्टाइन लालबन्दीलाई पनि स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।