कोरोना भाइरसको दोहोलो काढ्न साबुनपानी नै सर्वोत्कृष्ट !

बजारमा पाइने जतिसुकै महँगा वा नाम कहलाएका मदिरामा आधारित वा अन्य कीटाणुनाशक सेनिटाइजर वा डिसइनफेक्टेन्ट किन नहुन्, तिनीहरू हालसम्म कोरोना भाइरस लगायतको कुनै पनि भाइरसको संक्रमणबाट बच्नका लागि साबुनभन्दा धेरै प्रभावकारी हुन सकेका भेटिएको छैन । किन त्यस्तो भन्ने जान्न साबुन र उक्त कीटाणुनाशक केमिकलहरूले भाइरसको दोहोलो काट्ने प्रक्रियालाई सामान्य विज्ञानको आँखाबाट हेर्न जरुरी हुन्छ ।

नारायण घिमिरे

कोरोना भाइरस लगायतका प्रायः भाइरसको आकार मात्र ५० देखि २०० न्यानोमिटर हुने गर्छ । कोरोना भाइरसको आकार लगभग ८० देखि १६० न्यानोमिटर भेटिएको छ । तसर्थ, भौतिक विज्ञानको हिसावमा सम्पूर्ण भाइरस विशुद्ध न्यानोपार्टिकल हो । शरीर बाहिर भाइरस केही समय वा केही दिन सक्रिय अवस्थामा रहन सक्छ । भाइरसलाई यसको शारीरिक संरचना अनुरूप मरेको वा जिउँदो जीव भन्न सकिँदैन । यो जुन अवस्थामा छ उक्त अवस्थामा सक्रिय छ कि निष्क्रिय छ भन्ने मात्र हो । भाइरस जीवित वस्तु नभएकाले यसले आफ्नो आरएनए आफैँले फोटोकपी गरी आफ्नो संख्या वृद्धि गर्न सक्दैन । आफ्नो संख्या वृद्धि गर्न उसलाई होस्ट सेल वा अर्काको सहयोग चाहिन्छ । भाइरसको शरीर वा पार्टिकल आरएनए, प्रोटिन र चिल्लो पदार्थबाट बनेको हुन्छ । आरएनए भाइरसको मुख्य आनुवांशिक तत्वहो । प्रोटिनसँग मिलेर बसेको आरएनएलाई बाहिरबाट चिल्लो पदार्थले घेरेर भाइरसको शरीर बनेको हुन्छ । चिल्लो पदार्थलाई लिपिड भनिन्छ । लिपिडको मुख्य काम भाइरसको सुरक्षा गर्नु हो ।

मानिसमा हुने भाइरसको संक्रमणमा सबैभन्दा पहिले महत्वपूर्ण भूमिका भाइरसको प्रोटिनले खेल्ने गर्छ । प्रोटिनले संक्रमणका लागि लक्षित कोशिकाको झिल्लीलाई दुलो पारेर भाइरसलाई कोशिकाभित्र पुर्‍याउँछ । जीवित सेलको सम्पर्कमा पुग्दा भाइरसलाई उक्त कोशिकाभित्र प्रवेश गर्न प्रोटिनले खेल्ने भूमिकालाई लिपिडले सहयोग पुर्‍याउँछ । मानिसको जीवित सेलभित्र प्रवेश पाउनासाथ भाइरसको आरएनएले मानव कोशिकाको मेसिनरी लाई ह्याक गर्छ वा आफ्नो नियन्त्रणमा लिन्छ । ह्याक भएको मानव कोशिकाको मेसेन्जर सिस्टमले भाइरसको आरएनएबाट प्राप्त हुने निर्देशन अनुरूप सेलभित्र भाइरसको आरएनए र प्रोटिन बनाउन थाल्छ । मानिसको आफ्नै सेलले बनाएको भाइरसको आरएनए र प्रोटिनलाई भाइरसको आरएनएको निर्देशन अनुरूप मानव सेलभित्र हुने लिपिडले घेरेर मानिसको आफ्नै सेलले नयाँ ताजा भाइरस तयार पारिदिन्छ । नयाँ र पुरानो भाइरसले मानव कोशिकाको मेसिनरीलाई ह्याक गर्ने र नयाँ ताजा भाइरस बनाउने क्रम ज्यामितीय संख्यामा बढाउने गर्छन् । कोशिकाभित्र निकै धेरै भाइरस बन्दै गर्दा कोशिका फुट्न पुग्छ ।

भाइरसलाई विषादीहरूको प्रयोगबाट खासै नियन्त्रणमा लिन सकिँदैन । त्यसैले अन्य रोगमा प्रयोग हुने एन्टिबायोटिक र विषादीहरू कोरोना भाइरसको सरसफाइमा प्रभावशाली हुँदैनन् ।

बजारमा पाइने जतिसुकै महँगा वा नाम कहलाएका मदिरामा आधारित वा अन्य कीटाणुनाशक सेनिटाइजर वा डिसइनफेक्टेन्ट किन नहुन, तिनीहरू हालसम्म कोरोना भाइरस लगायतको कुनै पनि भाइरसको संक्रमणबाट बच्नका लागि साबुनभन्दा धेरै प्रभावकारी हुन सकेका भेटिएको छैन ।

भाइरसहरू नजिकैका अन्य कोशिकामा आक्रमण गर्दै आफ्नो कब्जा बढाउँदै फैलन सुरु हुन्छ । फोक्सोमा हावा जाने संयन्त्रको समीप पुग्दै गर्दा भाइरसले र्‍यालका ग्रन्थी र श्वासरप्रश्वासका नलीहरूमा संक्रमण गरी अन्ततः श्वासरप्रश्वासमा समस्या पैदा गरेर मानव इहलीला समेत समाप्त गराउन सफल बन्न सक्छ । जब भाइरस संक्रमित मानिसले खोक्छ वा हाच्छिउँ गर्छ, उसको मुखबाट आउने थुक वा र्‍यालका फोकाहरू बढीमा ९ मिटर परसम्म पुगेको रेकर्ड छ । कोरोना भाइरसको सन्दर्भमा भने कोरोना भाइरस बोक्न सक्षम हुने ठूलो थुकको फोका लगभग २ मिटरसम्म पुग्ने गरेको भेटिन्छ । अतः मानिसलाई खोक्दा र हाच्छिउँ आउँदा अनिवार्य नाक मुख छोप्न भनिएको हो । संक्रमित मान्छेले खोके वा हाच्छिउँ गरेका बेला निस्कने नाक, मुखका बाछिटाहरू लगभग २ मिटरको क्षेत्र वरपर अन्य मानिस नहुँदा पनि झरेका हुन्छन् । त्यहाँ झरेका सिँगान, थुक वा र्‍यालका फोकाहरू केही क्षणमा सुके तापनि भाइरस न्यानो पार्टिकल भने सक्रिय अवस्थामै रहन सक्छ ।

प्राकृतिक नियमअनुसार दुई भिन्न कण आपसी सम्पर्कमा आउँदा एकै गुणका कणहरू भिन्न गुणका कणहरू भन्दा धेरै छिटो घुलमिल भई टाँसिएर बस्ने गर्छन् । भाइरसमा चिल्लो र प्रोटिन दुवै हुने हुँदा यसको पोलर हाइड्रोजन बन्ड मार्फत पानीसँग र ननपोलर लिपिडमार्फत चिल्लो सतहसँग सजिलै टाँसिन सक्छ । भाइरस आफैँ समग्रमा बाइपोलर वस्तु भएकाले फाइबर (कपडा) काठ आदि जस्ता बाइपोलर सतहसँग छिटै मिल्ने हुँदा उक्त सतहमा झरेका सिँगान, थुक वा र्‍यालका बाछिटा सुकेको केही घण्टामै भाइरस निष्क्रिय हुन जान्छ । त्यसको ठीक विपरीत स्टिल, पोरसिलिन, रबर, टेफलोन आदिमा पोलर हाइड्रोजन बन्ड नहुने हुँदा उक्त सतहसँग भाइरस हत्तपत्त छिटै मिलिहाल्दैन । कस्सिएको थोपाको स्थितिमा सक्रिय रूपमा लामो समय रहन सक्छ । तसर्थ स्टिल, पोरसिलिन, रबर, टेफलोन आदि जस्ता ननपोलर सतहमा झरेको बाछिटाहरू सुकिसकेको अवस्थामा समेत भाइरस केही दिन सम्म सक्रिय रहन सक्छ ।

यदि उक्त सतहमा पानी वा सूर्यको किरण परेको छैन भने उक्त भाइरस झन् लामो समयसम्म सक्रिय रहन सक्छ । पानीले केही हदसम्म भाइरसको बाहिरी सतह वा लिपिड घोलिदिन्छ भने सूर्यको युभी प्रकाश र तापले भाइरसको अणुलाई हल्लाइदिएर छिटै निष्क्रिय तुल्याइदिन्छ । मान्छेको छालाको बहिरी भागमा मरेको सेल हुने गर्छ । यसमा भाइरसको जस्तै चिल्लो र प्रोटिन दुवै हुन्छ । कुनै तरिकाबाट भाइरस तपाईँको छालासम्म पुग्यो भने छालाको पोलर भाग हाइड्रोजन बन्डमार्फत भाइरसको पोलर भागसँग र ननपोलर लिपिड भाग छालाको चिल्लो सतहसँग अत्यन्त मिहीनरूपमा टाँसिएर बसिदिन्छ । भाइरस टाँसिनका लागि मानिसको छाला अति उपयुक्त उत्तम सतह बनिदिन्छ । जब संक्रमित मान्छेले खोके वा हाच्छिउँ गरेको बेला निस्कने सिँगान, थुक वा र्‍यालका बाछिटाहरू छालाको संसर्गमा आउँछ वा हातले कुनै पनि सतहमा रहेको सक्रिय भाइरसलाई छुन पुग्छ, भाइरस छालामा तुरुन्त टाँसिन्छ । मानिसको सामान्यतय दुईदेखि पाँच मिनेटभित्र आफ्नो हातले अनुहार छुने बानी हुन्छ । संक्रमित हातले अनुहार छुँदा भाइरस अनुहारमा सर्ने गर्छ । अनुहारमा भाइरस रहेछ भने हातमा सर्छ । हात मिलाउँदा वा अंगालो मार्दा वा म्वाइँ खाँदा अर्को मानिसमा समेत सर्छ ।

यति हुँदैमा तपाईँमा भाइरसको संक्रमण भने भइहाल्दैन । तर समयमै त्यहाँबाट उक्त भाइरस हट्न सकेन श्वासरप्रश्वास प्रणालीको निकै नजिक नाक र मुख वरपर भाइरस पुगिसकेको हुँदा भाइरस संक्रमणको जोखिम उच्च बनिदिन्छ । जब भाइरस श्वासरप्रश्वास प्रणालीभित्र पुग्छ तब शरीरको भाइरस प्रतिरोधी क्षमताका लागि भाइरसले पैदा गर्ने चुनौती निकै महँगो साबित हुन सक्छ । भाइरस मानिसको छालामा अत्यन्त मिहीनरूपमा टाँसिएर बस्ने हुँदा सामान्य पानीले राम्रोसँग हात मुख धुने गर्दासमेत यसलाई छालाबाट पूर्णरूपमा हटाउन सकिँदैन । भाइरसको शरीरमा आरएनए, प्रोटिन र चिल्लो पदार्थ अन्य जीवमा जस्तो एकापसमा टाँसिने शक्तिबाट नभई हुक र लुप बनाएर एकापसमा भेल्क्रो वा फस्नर जस्तो बलिष्ठ गाँठो बनाएर चिप्किएर बस्ने हुँदा तीन तत्व सजिलै फुटाउन र फुस्काउन नसकिने गरी जोल्टिएर बसेको भेटिन्छ । कोरोना भाइरसको शरीरको सबैभन्दा कमजोर भाग भनेको सबैभन्दा बाहिरको लिपिड निर्मित दुई पत्रमा रहेको झिल्ली नै हो। जब बाहिरी लिपिडको झिल्ली कुनै तरिकाबाट हटाउन सकिन्छ, आरएनए र प्रोटिन स्वतः छुट्टिन पुग्छ र कोरोना भाइरस निष्क्रिय बन्छ ।

बजारमा पाइने जतिसुकै महँगा वा नाम कहलाएका मदिरामा आधारित वा अन्य कीटाणुनाशक सेनिटाइजर वा डिसइनफेक्टेन्ट किन नहुन, तिनीहरू हालसम्म कोरोना भाइरस लगायतको कुनै पनि भाइरसको संक्रमणबाट बच्नका लागि साबुनभन्दा धेरै प्रभावकारी हुन सकेका भेटिएको छैन ।

तपाईँ हामीले प्रयोग गर्ने साबुन चिल्लो पदार्थको सोडियम सल्ट हो । साबुनको गुण भाइरस र मानिसको छालाको जस्तै बाइपोलर हुने गर्छ । भाइरसको प्रोटिन र आरएनएसँग भाइरसको लिपिड भन्दा राम्रो टाँसिने गुणले गर्दा साबुन पानीले भाइरसको लिपिडलाई भाइरसबाट हटाइदिन्छ र पानीमा घुलाइदिन्छ । साबुनले घेरिएको भाइरसको प्रोटिन र आरएनए पहिले जस्तो एकापसमा टाँसिएर सक्रिय रहन सक्दैन । साबुन छालामा भएको मैलासँग पनि राम्रोसँग घुल्ने गर्छ । छालासँग भन्दा साबुनसँग भाइरस राम्ररी टाँसिने गुणले गर्दा छालासँग मिहीनरूपले टाँसिएको भाइरस छालाबाट छुट्टिन पुग्छ । छालाको मयलसँगै निष्क्रिय बनेको भाइरसलाई पुनः अन्य जीवलाई संक्रमण गर्न नसक्ने अवस्थामा थान्को लगाउन साबुन पानीले हात मुख धोएर सम्भव बन्छ । भाइरस साबुन पानीको सम्पर्कमा आउँदा भाइरसको आरएनए र प्रोटिनलाई घेरेर राख्ने लिपिड साबुन पानीमा घुलिन पुग्दा आरएनए र प्रोटिन छुट्टिन पुग्छ । लिपिडबिनाको भाइरसको शरीरको गाँठो खुस्किएर चकनाचुर हुने हुँदा भाइरस सजिलै निष्क्रिय हुन पुगेको हो ।

हाम्रो शरीरको छाला आफैँमा विभिन्न प्वाल हुने खस्रो सतह रहेकाले साबुन पानीले हात धुँदा जिरे खुर्सानीमा अमिलो साँधेपछि हातबाट पिरो हटाउन जसरी हात धोइन्छ त्यसरी धुन भनिएको हो । ताकि हातबाट पूरै भाइरस निश्चितरूपमा हटोस् । हात धुन सजिलोका लागि नङ काट्न सुझाएको हो । कतिपय ठाउँमा साबुन पानीको प्रयोग सम्भव नहुन सक्छ । उक्त अवस्थामा कि कम्तीमा ६० प्रतिशत को अत्यन्त कडा रक्सी (इथानोल) अथवा आइसो प्रोपाइल अल्कोहल (रबिंङ अल्कोहल) नभए कम्तीमा ३ प्रतिशतको क्लोरिनयुक्त सेनिटाइजर प्रयोग गर्न भनिएको हो । साबुन जस्तो यी सेनिटाइजर भाइरस र छाला दुवैसँग सन्तुलित तहमा काम गर्न नसक्ने हुँदा यिनीहरू बताए जतिको उच्च मात्राको नहुँदा प्रभावकारी नहुने गर्छ । बजारमा बिक्री हुने रक्सी मात्र ४० प्रतिशत रहेकाले यो भाइरसका लागि प्रभावकारी हुन सक्दैन न त ३ प्रतिशत भन्दा कम क्षमताका सोडियम हाइपो क्लोराइड जस्ता क्लोरिनयुक्त सेनिटाईजर नै प्रभावकारी हुनेछ ।

भाइरसलाई विषादीहरूको प्रयोगबाट खासै नियन्त्रणमा लिन सकिँदैन । त्यसैले अन्य रोगमा प्रयोग हुने एन्टिबायोटिक र विषादीहरू कोरोना भाइरसको सरसफाइमा प्रभावशाली हुँदैनन् । साबुन भाइरसविरुद्ध गुणकारी देखिएकाले कोरोना भाइरसका लागि बनाइने सेनिटाइजरहरूमा पछिल्लो समयमा साबुनको भाग समेत समावेश गर्न थलिएको छ । कोरोना भाइरसका लागि गरिने टोल/छिमेकको सरसफाइमा समेत सबैभन्दा उत्कृष्ट साबुन पानी नै हुने देखिन्छ ।

(लेखक क्यानेडियन खाद्य तथा औषधिविज्ञ हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार