
उहाँ कहिले कोभिड १९ विरुद्धको अभियानमा माइकिङ गर्दै गाउँ-गाउँ पुगिरहनुहुन्छ । कहिले गाउँपालिकाका सार्वजनिक स्थानमा हात धुने व्यवस्था मिलाईरहनु भएको हुन्छ । अनि कहिले क्वारेन्टिनको उचित व्यवस्थापन गर्न पालिकालाई सहयोग गरिरहेको हुन्छ । हेल्थ डेस्क स्थापना गर्ने, समुदायमा सचेतीकरण गर्ने, प्रचार प्रसार गर्ने काममा पनि उहाँ अग्रभागमा उभिनुहुन्छ । स्वास्थ्य संस्थामा उहाँको जिम्मेवारी त छँदैछ ।
प्रत्येक स्वास्थ्य कार्यालयमा सरसफाइ कार्य योजना बनाउन लगाई सो को कार्यान्वयन गर्न लगााउने, पालिकामा डम्पिङ साइड छनौटका लागि पालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई सघाउने लगायत सरसफाइका विविध क्रियाकलापहरु गराई रहनु भएको छ ।
उहाँ हुनुहुन्छ, नुवाकोटको लिखु गाउँपालिकाका स्वास्थ्य संयोजक, गाउँपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गतको सरसफाइ फोकल पर्सन भीम रोक्का ।
सामान्य अवस्थामा त सबैले काम गर्छन् तर महामारीमा काम गर्नु चानचुने कुरा होइन । तर विपदमा समेत सामान्य अवस्थामा भन्दा पनि बढी दिलोज्यान दिएर लागि परिरहनु भएको छ सरसफाइ फोकल पर्सन् रोक्का ।
लिखु–५ स्थायी घर भई हाल लिखु गाउँपालिका स्वास्थ्य संयोजक भीम रोक्का गाउँपालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव समेत हुनुहुन्छ । सुरुका दिनमा समन्वय समितिमा सदस्य सचिव मात्र रहनुभएका रोक्का ग्लोबल स्यानिटेसन फण्ड यु.एन्.ह्याविट्याटको सहयोग, पुनर्जागरण समाज नेपाल एवम् डिकोन नेपालको साझेदारीमा पूर्ण सरसफाइ कार्यक्रम पालिकामा लागू भए पछि पालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले सरसफाइ फोकल पर्सनको समेत जिम्मेवारी दिएको हो ।
स्वस्थ्य कार्यालयको जिम्मेवारी सम्हालिरहेका रावल स्वस्थ्य सँगै सम्बन्धित सरसफाइलाई साथ साथै लैजानु अति आवश्यक जस्तो लागिरहेकै बेलामा सरसफाइ फोकल पर्सन समेत बनाईनुले सरसफाइमा झनै हौसला मिलेको बताउनुहुन्छ ।
तसर्थ उहाँले २ वर्ष अगाडि नै गठन भएर पनि सक्रिय हुन नसकेको पालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई यु.एन्.ह्याविट्याटसँगको सहकार्यमा नियमित बनाउने, पालिकामा सरसफाइका गतिविधिलाई उच्च प्राथमिकतामा राखी काम गर्ने गराउने, प्रत्येक स्वास्थ्य कार्यालयमा सरसफाइ कार्य योजना बनाउन लगाई सो को कार्यान्वयन गर्न लगााउने, पालिकामा डम्पिङ साइड छनौटका लागि पालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई सघाउने लगायत सरसफाइका विविध क्रियाकलापहरु गराई रहनु भएको छ ।
आफू एकातिर स्वास्थ्य कार्यालयका प्रमुख अर्कोतिर सरसफाइ फोकल पर्सन अनि यही बेला कोभिड १९ को महामारी भित्रिनु, यस्तो अवस्थामा आफ्नो भूमिका झनै फराकिलो भएको उहाँको भनाई छ ।

यसैले त उहाँले कोभिडको महामारीमा समेत आफ्नो ज्यानलाई भन्दा पनि सर्वसाधारणको स्वास्थ्यलाई ठूलो ठान्नुभयो । अनि कोभिड संक्रमण हुन नदिन, आफै माइकिङ गर्दै हिँड्ने, पालिकाका सार्वजनिक स्थानमा हात धुने विशेष व्यवस्था मिलाउने, क्वारेन्टिनको उचित व्यवस्थापन गर्न पालिकालाई सहयोग गर्ने, हेल्थ डेस्क स्थापना गर्ने, समुदाय सचेतीकरण गर्ने, प्रचार प्रसार गर्ने लगायतका विविध काम गरिरहनु भएको छ । जुन काम साँच्चिकै उदाहरणीय रहेको छ ।
एकातिर सामाजिक काम गर्नुको लाभ भनेकै आत्मसन्तुष्टि हो भने अर्कोतिर एउटा सरसफाइ अभियानकर्ताको ठूलो धन भनेकै समुदायको सरसफाइयुक्त बानी व्यहोरा, स्वच्छ आनीबानी अनि कुशल स्वास्थ्य ठान्नुहुन्छ उहाँ । त्यही भएरै होला समुदायको सरसफाइ र स्वास्थ्य नै आफ्नो ठूलो धन हो भनी दिन रात नभनी सरसफाइमा खटिरहनुभएको छ, सरसफाइ फोकल पर्सन भीम रोक्का ।
प्रस्तुति : मैत्रेयी शर्मा
नुवाकोट जिल्ला संयोजक, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/ यु.एन्.ह्याविट्याट


2274 पटक हेरिएको 

