हामी कहाँ खानेपानी तथा सरसफाइ आयोजनाहरु सम्पन्न भएपछि फर्केर हेर्ने चलन छैन । फलस्वरुप निर्माणको क्रममा भएका सामान्य कमीकमजोरीको बिषयमा पनि अत्तोपत्तो पाउँदैनौं भने खानेपानी आयोजनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने कुनै योजना पनि हुँदैन । जसका कारण खानेपानी आयोजनाहरु जत्ति समयका लागि भनेर डिजाइन गरिएको हुन्छ, त्यत्ति टिकाउ नहुने, खानेपानी उपभोक्ता समिति निश्क्रिय हुने जस्ता परिणामहरु देखिन्छन् ।
यीनै अवस्थालाई मध्यनजर गर्दै ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले खानेपानी निर्माणको इतिहासमै पहिलो पटक निर्माण सम्पन्न पश्चातको कार्यक्रम (पोष्ट इम्प्लिमेन्टेसन फेज अर्थात पिआईपी) कार्यक्रम नै लागु गरेको छ । फण्ड बोर्डले ३ सय खानेपानी आयोजनासँग त पिआईपी कार्यान्वयन गर्न सम्झौता गरिसकेको छ । पिआईपीको अवधारणा, पिआईपीमा गर्नुपर्ने कामहरु लगायतका बिषयमा फण्ड बोर्डका उपकार्यकारी निर्देशक सञ्जय कुमार मिश्र :

सुन्नुहोस् अडियो
खानेपानी आयोजनामा निर्माण सम्पन्न पश्चातको चरण (पिआईपी) को अवधारणा
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) मार्फत सम्पन्न भएका खानेपानी आयोजनाहरुको सुचारुपनाका बिषयमा विश्व बैंकले परामर्शदाता मार्फत एक अध्ययन गर्न लगाएको थियो । फण्ड बोर्ड मार्फत सम्पन्न ती स्कीमहरुको दिगोपना र सुचारुपनाका लागि सन् २०१७ मा गरिएको अध्ययनले २५ प्रतिशत जत्ति सम्पन्न आयोजनाहरुमा कुनै न कुनै प्राविधिक समस्या छन् भन्ने तथ्य औल्याएको थियो । खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपनि सामान्य प्राविधिक समस्या आएपनि हल गर्न नसक्दा स्कीमहरु चल्न सकेका थिएनन् ।
तसर्थ ती स्कीमहरु सञ्चालनका लागि ती सामान्य प्राविधिक समस्याहरु कल गर्नुपर्ने देखियो । कतै मर्मत सम्भारको आवश्यकता देखियो । खासगरी कार्यान्वयन चरण सम्पन्न भएपछि सहयोगी संस्थाको भूमिका सम्पन्न हने र त्यसपछि उपभोक्ता समितिले नै सबै चीज गर्नुपर्ने भएकाले लिप्टिङ स्कीमहरु तथा पम्पिङ स्किमहरु राम्रोसँग सञ्चालन हुन सकेनन् । त्यसकारण परामर्शदाताले दिएको रिपोर्ट पछि विश्व बैंकसँग छलफल हुँदा कार्यान्वयन चरण सम्पन्न भईसकेका खानेपानी आयोजनामा निर्माण सम्पन्न पश्चातको चरण (पिआईपी) लागु गर्ने सहमति भएको हो ।
निर्माण सम्पन्न पश्चातको चरण (पिआईपी) मा गर्नुपर्ने कामहरु
हामीले निर्माण सम्पन्न पश्चातको चरण (पिआईपी) को निर्देशिका बनाएका छौं । निर्देशिका अनुसार नवौं ब्याच र दशौं ब्याचमा सम्पन्न भएका खानेपानी आयोजनामा पिआईपी लागु हुन्छ । पहिले पिआईपीको अवधि ९ महिना थियो । अहिले ६ महिनाको बनाईएको छ । ६ महिना भित्र एउटा सफ्टवेयरको कार्यक्रम र अर्को हार्डवेयरको कार्यक्रम छ । अहिले दशौं ब्याच चलिरहेको छ । दशौं ब्याच अन्तर्गत एक घर एक धारा प्रत्येक आयोजनामा कार्यान्वयनमा भईरहेको छ । साथै सबै घरमा मिटर जडान गरिएको हुन्छ ।
अब मिटरमा कति रुपैयाँ रकम उठाउँदा खानेपानी आयोजना सञ्चालनको खर्च धान्न सक्छ ? विपन्न घरधुरीबाट कति कम संकलन गर्ने ? आयोजना सञ्चालनलाई कसरी व्यवस्थित बनाउने ? खानेपानी उपभोक्ता समितिको हिसाब किताब कसरी राख्ने ? यी कुराहरु पिआईपीको सफ्टवेयर पार्टमा पर्दछन् । यस्तै केही सानातिना सञ्चालन र सम्भारका कामहरु भएमा, कुनै ठाउँमा बाढी आएर इन्टेकमा क्षति पुगेमा त्यस्ता मर्मत सम्भारका कामहरु, पूर्वाधार निर्माणको दौरानमा केही समस्या आएमा समाधान गर्ने क्रियाकलापहरु पिआईपीको हार्डवेयर पार्टमा पर्दछन् । खासगरी खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि थप ६ महिनाको अवधिमा सहयोगी संस्था मार्फत प्राविधिक सहयोग जुटाएर उपभोक्ता समितिलाई बलियो बनाउने कार्यक्रम हो ‘पिआईपी’ ।
पिआईपीका लागि छनौट भएका २५० आयोजनासँग सम्झौता गर्नै बाँकी
ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको म्याद सन २०१४ जुलाई देखि २०२० जुनसम्म मात्र हो । तर विभिन्न कारणले गर्दा सम्झौता अवधिभित्र सबै खानेपानी तथा सरसफाइ आयोजनाको काम सम्पन्न गर्न नसकेपछि विश्व बैंकलाई अनुरोध गरी डिसेम्बरसम्म थप गरेका छौं । हामीले पिआईपीका कार्यक्रमहरु गर्ने भनेर नवौं ब्याच र दशौं ब्याचका गरी ५५० वटा खानेपानी आयोजनाहरु छनौट गरेका थियौं । हामीले माघ, फागुन तिर करिब ३ सय स्कीम जत्तिको सम्झौता ग¥यौ ।
तर चैत्रदेखि कोभिड १९ ले गर्दा छनौटमा परेका सबै खानेपानी आयोजनाको सम्झौता गर्न सकेका छैनौं । किनकि निर्माण चरणको काम सम्पन्न गरी पिआईपीको लागि सम्झौता गर्नुपर्ने थियो । निर्माण चरणको सबै काम सम्पन्न भएपनि खातापाता बन्द गर्ने, सम्पन्न प्रतिवेदन बुझाउने, अनुगमन गर्ने लगायत कानुनी कामहरु गरेर टु्ग्याउन पाएका छैनौं । सकिदै गयो । बाँकी केही आयोजनाहरु सम्पन्न भएपनि त्यसलाई सैद्धान्तिक रुपमा सम्पन्न प्रतिवेदन गर्न सकेनौं । जसले गर्दा अझै २५० वटा खानेपानी आयोजनाहरुको सम्झौता गर्नै पाएका छैनौं ।
सम्झौता गर्न बाँकी आयोजनाको सवालमा पिआईपीको कार्यक्रम के हुन्छ ?
ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना अहिलेको लागि सन् २०२० डिसेम्बर सम्मको प्रोजेक्ट हो । तर नेपालमा मात्र नभई संसार भरि नै कोभिड – १९ को समस्या छ । मानिस घरभित्र लुकेर बस्नुपर्ने अवस्था छ । यसले गर्दा भौतिक पूर्वाधारको काम मात्र नभई सबैजसो क्षेत्र प्रभावित भएको छ । पिआईपीका लागि सम्झौता भएका खानेपानीका आयोजनाहरु पनि राम्रोसँग सञ्चालन हुन पाएका छैनन् । त्यसैले हामीले डिसेम्बर पश्चात पनि ६ महिना समय थप गर्न विश्व बैंकसँग अनुरोध गरेका छौं । यदि ६ महिनाको थप समय पाएमा र कोभिड १९ को अहिलेको अवस्थामा केही सुधार भएमा बाँकी आयोजनाका लागि पनि पिआईपीको सम्झौता गर्छौ र सम्पन्न गरेरै छाड्छौं ।
पिआईपीको काम गरौं, नरोकौं
हामीले पिआईपी कार्यक्रम धेरै उत्साहजनक तरिकाले अगाडि बढाएका थियौं । किनभने पिआईपी खानेपानी तथा सरसफाइ क्षेत्रमा पहिलो पटक सुरुवात गरेका हौं । सुरुवात त गर्यौं तर कोभिड – १९ का कारण राम्रो सँग सञ्चालन गर्नै पाएनौं । लामो समयको लकडाउनले कामलाई गति दिनै सकेनौं । कोभिड – १९ को जोखिम कहिले सम्म रहने भन्ने टुङ्गो छैन । त्यसकारण हामीले सुरक्षित भएर स्वास्थ्य मन्त्रालयले दिएको स्वास्थ्य निर्देशिकालाई पालना गरेर मास्कहरु प्रयोग गरेर, भौतिक दुरी कायम गरेर भएपनि अब हाम्रा कामहरु अगाडि बढाउनुको विकल्प छैन । किनभने समय त फेरि फर्केर आउने पक्षमा छैन ।
विश्व बैंकसँग हामीले माग गरेको ६ महिना समय थप भएन भने पनि पिआईपीका कामहरु सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व पूरा गर्नैपर्छ । तसर्थ सम्झौता भईसकेका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुले आ आफ्नो कामलाई अगाडि बढाउनुहोस्, फण्डबोर्डको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार छौं ।
रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनका लागि गरिएको कुराकानीमा आधारित ।


1880 पटक हेरिएको 

