
वातावरण संरक्षण र जलचर प्राणीको वासस्थानका लागि सिमसार महत्वपूर्ण क्षेत्र हो । हाम्रो दशको कुल क्षेत्रफलको ६ प्रतिशत सिमसार क्षेत्रले ओगटेको तथ्याङ्कले देखाउँछ । वातावरणीय संरक्षणका लागि मात्र नभई २१ थरी आदिवासी जनजाति समुदाय जीवनयापनका लागि यही सिमसार क्षेत्रमा भर पर्दै आएका छन् । पारिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनुमा सिमसारको भूमिका महत्वपूर्ण मानिन्छ । जीवजन्तु तथा मानवका लागि ज्यादै प्रभाव पार्ने सिमसारको संरक्षण, बुद्धिमतपूर्ण उपयोग र व्यवस्थापनका लागि निर्दिष्ट कानुन अझै बन्न सकेको छैन । सिमसार क्षेत्रको संरक्षणका लागि बनेको राष्ट्रिय निकुन्ज सात वर्ष पुरानो हो, तर त्यसलाई संघीय नेपालको संरचनामा लैजाने काम भने सिमसार क्षेत्रको अध्ययन र अनुसन्धानमा लागेका विज्ञहरूको जैविक विविधता र जलवायु परिवर्तनका कारण अझै हुन भने सकेको छैन । जोखिमलाई न्यूनीकरण गर्न र अनुकूल बनाउन सिमसारले गर्ने योगदानका बारेमा उनीहरू प्रफुल्लित छन् ।

वर्तमान संघीय संरचनामा सिमसार संघीय नेपालको सबैभन्दा हेपिएको क्षेत्रका रूपमा देखिएको छ । सिमसार क्षेत्रको सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा प्राकूतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र, नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ अथवा भूभागलाई सिमसार क्षेत्र भन्ने गरिएको छ । त्यसैगरी राष्ट्रिय सिमसार नीति, २०६९ मा पानी जमेको वा बगेको स्थायी वा अस्थायी प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र नै सिमसार भनेर परिभाषित गरिएको छ । हाम्रो जैविक विविधता, रणनीति तथा कार्ययोजना सन् २०१४ अनुसार खेतीयोग्य जमिन विस्तारका कारण सिमसार क्षेत्र ५.४१ प्रतिशत जमिनले घेरिएको छ । यस क्षेत्रको संरक्षणमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थागत तथा नीतिगत अस्पष्टता, व्यवस्थापनमा जिम्मेवारी अभाव, अपर्याप्त प्राविधिक संस्थागत तथा वित्तीय क्षमताका कारण यो क्षेत्र घट्दै गएको तथ्यलाई उक्त कार्ययोजनामा उल्लेख गरिएको छ ।
सिमसार क्षेत्र घट्नुका अन्य कारणमा जनसंख्या दृष्टि र यसले प्राकृतिक संसाधनको उपयोगमा पारेको नकारात्मक प्रभावका कारण पनि सिमसार क्षेत्र प्रभावित भएको देखिन्छ । यसको संरक्षणका अन्य चुनौतीहरूमा कृषि एवं बस्ती विस्तार, भौतिक पूर्वाधार निर्माण, सिँचाइका लागि पानीको उपयोग, प्रदूषण, मिचाहा प्रजातिका वनस्पतिको आक्रमण, क्षमताभन्दा बढी प्राकृतिक संसाधनको दोहन, व्यावसायिक मत्स्यपालन तथा कृषि र सहरी पूर्वाधारको निर्माणका लागि जमिनको उपयोगमा भयको परिवर्तनले यो क्षेत्रलाई नराम्ररी प्रभाव पारेको विभिन्न अध्ययनले देखाएको छ । इन्धन, खाद्यान्न, आमोदप्र्रमोद, परम्परागत औषधि, आवतजावत तथा मत्स्यपालनलगायतका क्रियाकलापका लागि ग्रामीण क्षेत्रको ८५ प्रतिशत जनसंख्या यही सिमसारमा भर पर्ने गरेको देखिन्छ ।
कुल १ सय २५ जातजातिमध्ये २१ आादिवासी जनजाति समुदाय पूर्ण रूपमा सिमसार क्षेत्रमा क्षेत्रमा आश्रित रहेको र यी जनसमुदायको जनसंख्या कुल जनसंख्याको १७ प्रतिशत रहेको तथ्य अनुसन्धानले देखाएको पाइन्छ । यति मात्र नभई यो क्षेत्र खाद्यान्नको बास्केट र आयअर्जनको प्रमुख माध्यमका रूपमा रहेको छ । विशेष गरी माझी, जलाहारी, झागड, थारु, मल्लाहजस्ता जाति सिमसार क्षेत्रमा निर्भर रहेका छन् । त्यसैगरी जैविक विविधताका हिसाबले पनि संकटापन्न अवस्थामा रहेका वनस्पति तथा जीवहरू यसै क्षेत्रमा बास गर्छन् भने बसाइँसराइ गर्ने चराहरूका लागि सिमसारक्षेत्र महत्वपूर्ण मानिन्छ । सिमसार क्षेत्र घोषणा र व्यवस्थापन मार्गदर्शन, २०७५ ले संकटापन्न २७ प्रतिशत चरा र ८५ प्रतिशत वनस्पतिका प्रजातिहरू सिमसार क्षेत्रमा पाइन्छन् । विश्वको कुल भूभागको ०.१ प्रतिशत ओगटेको नेपाल जैविक विविधताका हिसाबले २५ औं स्थानमा रहेको छ ।
वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार विश्वमा पाइने कुल वनस्पति प्रजातिको ३।२ प्रतिशत नेपालमा पाइन्छन् । जीवनयापन र जैविक विविधतामा बाहेक नेपालमा सबै धर्म र संस्कृतिमा सिमसार क्षेत्रको अत्यन्तै महत्व रहेको छ । पोखरी, ताल, नदीकिनार विभिन्न चाडबाड तथा धार्मिक कार्यहरूमा पवित्र मानिन्छन् । मिथिला सस्ंकृतिअनुसार मानिने ६७ पर्व यसको अनुपम उदाहरण मान्न सकिन्छ, जसअन्तर्गत नदी, ताल तथा पोखरीको किनारमा बसेर व्रतालुहरूले सूर्यलाई अघ्र्य दिने गर्छन् । सिमसार क्षेत्रको व्यवस्थापन, संरक्षण र नियमनका लागि छुट्टै निकाय नै बनाउनुपर्ने तर्क अगाडि सार्छन्, यस क्षेत्रमा अनुसन्धान गर्ने विज्ञहरू ।
सिमसार क्षेत्रको संरक्षण प्रभावकारी रूपले गर्नका लागि हाल वन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु तथा वातावरणसँग सम्बन्धित ऐनसँग एकीकृत गरी अगाडि बढ्न सकेमा मात्र उपयुक्त हुने देखिन्छ । त्यति मात्र नभई आ–आफ्नो सिमसार क्षेत्रको संरक्षणका लागि रणनीति बनाउँदै त्यसलाई प्रभावकारी रूपले कार्यान्वयन गर्नुपर्ने खाँचो देखिन्छ । सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न निकायको संयोजनकारी भूमिका आवश्यक रहेको सम्बन्धित विभागका लागि विभिन्न अधिकारी बताउँछन् । हाम्रो संविधान, २०७२ ले सुरक्षित र सफा वातावरणलाई मौलिक अधिकारका रूपमा उल्लेख गरेको छ । संविधानको अनुसूची ५ मा प्राकृतिक संसाधानको व्यवस्थापन र अन्तर्राष्ट्रिय हिसाबले महŒवपूर्ण सिमसार क्षेत्रको संरक्षणमा केन्द्रीय सरकारको सरोकारको विषयअन्तर्गत राखिएको पाइन्छ । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तालतालैया तथा सिमसार क्षेत्रको संरक्षणको कार्यक्षेत्र स्थानीय सरकारको भनेर उल्लेख गरिएको छ ।
हाल सिमसार क्षेत्रको संरक्षणको कार्य हेर्दा नगन्य मात्रै भएको देखिन्छ । सरकारका सम्बन्धित सरोकारवालाहरू भने सिमसार क्षेत्रको संरक्षण पर्याप्त कार्य भइरहेको दाबी गर्छन् । सन् २००३ र २०१२ मा सिमसार सन्धि राष्ट्रिय नीति ल्याइएको र गत वर्ष मात्रै संघीय संरचनाअन्तर्गत सबै सरकारको भूमिका समावेश गरेर रामसार क्षेत्रको घोषणा र व्यवस्थापन मार्गदर्शन तयार गरिएको, जुन महत्व पूर्ण कार्य हो भन्ने गर्छन् । सिमसार संरक्षणमा स्थानीय तह, प्रदेश र संघ तीनवटै तहका प्रतिनिधि मिलेर थप सुधार र संरक्षणका कार्यमा जोड दिनुपर्ने खाँचो सर्वत्र देखिन्छ । सिमसार क्षेत्रको सुशासनका लागि ६ वटा खम्बालाई आधार मानिएको छ । जसअन्तर्गत संस्था, नीति, सहभागिता, सूचना, प्रविधि र वित्त पर्छन् ।
हामीले सिमसारको संरक्षण कार्य सम्पादन गर्दा धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यान दिनुपर्छ, जसले गर्दा हाम्रो वातावरणीय सुधार मात्र नभई आमजनमानसमा यसको गरिमालाई थप जीवन्त वनाउनसमेत सहयोग पु(याउँछ । रामसार सूचीमा नेपालका कोसीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माछापोखरी र पोखराका तालहरू गरी जम्मा दसवटा सूचीकृत भएका छन् । ती दसवटा सिमसार क्षेत्रले ओगटेको क्षेत्रफल ६० हजार ५ सय ६१ हेक्टर छ । पोखराका तालहरूअन्तर्गत फेवालगायत अन्य आठवटा ताल वेगनाश, रूपा, मैदी, दिपाङ, खास्टे, कमलपोखरी, न्युरिनी र गुदें पर्छन् ।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील, संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई अरक्षण प्रदान गर्ने सिमसारलाई रामसारहरूको सूचीमा राख्ने गर्छ । हालसम्म विश्वका २ हजार २ सय ५२ वटा सिमसार रामसारका रूपमा सूचीकृत भएका छन् । हामीले हाम्रो सिमसारलाई ध्यान दिएनौं भने जलचर प्राणीको लोप र वातावरणीय विनाश भई पानीका स्रोतहरूसमेत सुक्ने खतरा देखिन्छ ।


2530 पटक हेरिएको 

