यी हुन्, सार्वजनिक शौचालय सुधारका चार पक्ष

काठमाडौ : आज विश्व शौचालय दिवस नेपालमा पनि मनाईदैछ । मानव सभ्यतासँग जोडिएको शौचालय मानिसका लागि आधारभूत आवश्यकता हो । शौचालय निजी घरघरमा मात्र भएर पुग्दैन । व्यवस्थित शहरका लागि सार्वजनिक शौचालय पहिलो शर्त हो । तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो क्रममा रहेपनि ती पर्याप्त छैनन् । काठमाडौं उपत्यका लगायत, अन्य शहर तथा राजमार्गमा सार्वजनिक शौचालयको अभाव छ भने भएका शौचालयमा समेत आवश्यक सुविधाको अभाव छ ।

हामी कहाँ भएका सार्वजनिक शौचालयहरु दुर्गन्धित, फोहोर र इमर्जेन्सी अवस्थामा मात्र प्रयोग गर्न सकिने खालका छन् । यसै सन्दर्भमा सार्वजनिक शौचालय क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका गुथि संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यसँग सार्वजनिक शौचालयमा देखिएको समस्या, सुधारका उपायहरु र सार्वजनिक शौचालयको विकल्प लगायतका बिषयमा वास खबरले गरेको कुराकानी :

सार्वजनिक शौचालयको उपलब्धता तथा त्यस भित्रका सेवा सुविधाको स्थितिबारे यहाँले अध्ययन अनुसन्धान गर्नुभएको छ । काठमाडौ उपत्यकामा सार्वजनिक शौचालयको उपलब्धता एवं सेवाको गुणस्तर कस्तो पाउनुभएको छ ?

गुणस्तरको रुपमा सामान्यतया परिभाषित गर्नुपर्दा सरसफाइ, गन्धरहित, प्रशस्त उज्यालो भएको र सुरक्षित हुनुपर्ने र अझ समावेशी (अपाङ्गमैत्री, महिलामैत्री, बालबालिकामैत्री, जेष्ठ नागरिकमैत्री) हुनुपर्ने जुन आधारभूत मापदण्डहरु हुन्, त्यसलाई हेर्दा अपाङ्गमैत्री शौचालय उपत्यकाभरिमा जम्मा दुई वटा मात्र पायौं । महिलामैत्री शौचालयको सवालमा त झन कुनै पनि शौचालय त्यो मापदण्डभित्र पाएनौं । किनकि अध्ययन क्षेत्रमा परेका जत्ति शौचालयहरु थिए ती सबै निक्कै अध्याँरो, साँघुरो र सरसफाइ नभएको अवस्था पायौं ।

सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनका लागि पहिलो भौतिक संरचनाको कुरा, दोस्रो सरसफाइ र स्वच्छताको कुरा, तेस्रो सञ्चालकहरुको सीप, दक्षता अभिवृद्धि, उनीहरुको पारिश्रमिक र रोजगारीको कुरा र चौथो प्रयोगकर्ताहरुको स्वास्थ्य, सेवा सन्तुष्टिका कुराहरुलाई समेटेका छौं ।

सार्वजनिक शौचालयमा आधारभूत सेवा सुविधाकै अभाव हुनुका पछाडि के कारण पाउनुभयो ?

शौचालय निर्माण गरेपछि त्यसको सञ्चालन गर्ने विधि र प्रक्रियाका बारेमा कुनै पनि व्यवस्थापन नगरिएको अवस्था हो । सार्वजनिक सञ्चालन कसरी गर्नुपर्छ ? त्यसको सरसफाइको प्रक्रिया के हो ? कसरी स्वच्छ राख्ने ? भन्ने कुरामा ध्यान दिईएको हुँदैन । शौचालय बनाईयो, बनाईसकेपछि आफै चल्छ भन्ने खालको सोच भएको पाईयो । सार्वजनिक शौचालय सञ्चालनको जुन मापदण्ड छ, त्यो लागु गरेको पाईएन । जबकि हामीले स्तरीय होटेल रेष्टुँरामा हेर्ने हो भने त्यहाँ भएका सार्वजनिक शौचालय अलि फरक पाउँछौं । त्यहाँको शौचालयको सरसफाइका लागि एक जना कर्मचारीलाई नै खटाईएको हुन्छ । उसको सेवा अवधि तोकिएको हुन्छ । शौचालय प्रयोग गरिसकेपछि सफा गरेको, दुर्गन्ध हुनबाट जोगाएको, पानीको व्यवस्था गरेको अवस्था पाउँछौं भने बजार तथा सरकारी कार्यालयहरुमा हुने सार्वजनिक शौचालयहरुमा त्यो खालको व्यवस्था गरिएको छैन । एउटा चाहिं कसरी सञ्चालन गर्ने विधि नै छैन । अर्को चाहिं अनुगमनको पाटो चाहिं एकदम शून्य छ । त्यो शौचालय सही तरिकाले चलिरहेको छ कि छैन ? भन्ने कुरा अनुगमन गर्ने कसले भन्ने नै कुनै नियम छैन । जसले गर्दा जसले जसरी चलाएपनि हुने अवस्था छ ।

अडियो सुन्न तलको प्ले बटममा क्लिक गर्नुहोस्

सञ्चालन विधिको कुरा गर्दा यहाँहरुकै समन्वय र सहकार्यमा कीतिपुर नगरपालिकाले यस अघि नै सार्वजनिक शौचालय सञ्चालन कार्यविधि लागु गरिसकेको छ । सार्वजनिक शौचालय सञ्चालनमा के कस्ता व्यवस्था राख्न सके प्रयोगकर्ताको हीतानुकुल हुँदोरहेछ ?

बुँदागत रुपमा कुरा गर्नुपर्दा सार्वजनिक शौचालय सञ्चालत तथा व्यवस्थापन जुन कार्यविधि छ । त्यसमा पहिलो कुरा भौतिक मापदण्डको कुरा गरेका छौं । शौचालय निर्माण गर्दा नै समावेशी हुनुपर्ने (अपाङ्गतामैत्री, महिलामैत्री) । महिलामैत्रीको कुरा गर्दा महिलाहरुलाई तुलनात्मक रुपमा पुरुष शौचालय भन्दा अलि फराकिलो ठाउँ, महिनावारी व्यवस्थापनको लागि पर्याप्त ठाउँ, महिलाहरु सँगै साना साना नानीहरु पनि जाने भएको हुँदा उनीहरुको डाईपरहरु चेन्ज गर्ने सुविधा, पर्याप्त पानी र हात धुनका लागि साबुन पानीको व्यवस्था, क्रस भेन्टिलेसन र प्रशस्त उज्यालोको व्यवस्था भएको हुनुपर्‍यो र सुरक्षाका हिसाबले चुकुलको राम्रो व्यवस्था हुनुपर्‍यो । यस्तै शौचालय प्रयोगकर्ताहरुको झोला अथवा सामान झुण्ड्याउने तथा राख्ने ठाउँको व्यवस्था पनि हुनुपर्‍यो । यो भयो भौतिक पक्ष ।

अर्को सरसफाइको कुरा । एकदमै भीडभाड भएका शौचालयहरु कम्तीमा दुई घण्टाको फरकमा सरसफाइ हुनुपर्ने, पानीको व्यवस्था भएको हुनुपर्ने, सञ्चालकहरुको व्यवहार जस्ता कुराहरुलाई पनि मापदण्डमा समेटेका छौं । जसले सरसफाइ गर्छन्, जसले हेरबिचार गर्छन् उनीहरुको तालिम तथा सेवा सुविधाको कुरा यसभित्र पर्दछ । अर्को महत्वपूर्ण कुरा चाहिं शौचालयमा काम गर्ने कर्मचारीहरुको तलबमानको कुरा पनि निर्दिष्ट गरेको छ ।

सँगसँगै शौचालयमा शौच विसर्जन गरेर मात्र हुँदैन । त्यसभित्रको मानव मलमूत्रको पनि उचित व्यवस्थापन गर्नुपर्छ । मानव मलमूत्र व्यवस्थापन नभए वातावरणीय प्रदुषण लगायत अन्य रोगव्याधिको समस्या पनि निम्त्याउन सक्छ । त्यसैले उक्त मानव मलमूत्रलाई सेफ्टी ट्याङ्की मार्फत वा सबैभन्दा उपयुक्त बायोग्याँस प्रविधिबाट प्रशोधन र सँगसँगै ग्यास उत्पादन पनि गर्न सक्ने कुरालाई जोड दिएका छौं । तसर्थ सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनका लागि पहिलो भौतिक संरचनाको कुरा, दोस्रो सरसफाइ र स्वच्छताको कुरा, तेस्रो सञ्चालकहरुको सीप, दक्षता अभिवृद्धि, उनीहरुको पारिश्रमिक र रोजगारीको कुरा र चौथो प्रयोगकर्ताहरुको स्वास्थ्य, सेवा सन्तुष्टिका कुराहरुलाई समेटेका छौं ।

शहरी क्षेत्रमा सार्वजनिक शौचालय बनाउने जग्गाकै अभाव छ । जसका कारण सार्वजनिक शौचालय निर्माणको योजना बन्छ तर शौचालय बन्दैन । त्यस्ता शहरहरुमा सार्वजनिक शौचालयको अर्को कुनै विकल्प छैन ?

शौचालय बनाउने क्रममा एउटा सामाजिक व्यवधान छ । जस्तै जुन ठाउँमा सार्वजनिक शौचालय बनाउनुपर्ने हो त्यो ठाउँमा जग्गा उपलब्ध नहुनु । यसको दुई वटा कारण छन् एउटा चाहिं अहिलेसम्म जुन खालका सार्वजनिक शौचालयहरुको व्यवस्थापन रह्यो, त्यो कारणले गर्दा तपाई हाम्रो घरटोल छरछिमेकमा सार्वजनिक शौचालय बनाउने भन्ने वित्तिकै त्यहाँ विरोध हुने गरेको छ । जसले गर्दा ठाउँ भएपनि सामाजिक विरोधका कारण त्यहाँ शौचालय बनाउन नसकिरहेको अवस्था छ । सँगसँगै हामीले शौचालयको म्यापिङ पनि गरेका छौं ।

पेट्रोल पम्प, अस्पताल, सरकारी कार्यालयहरुमा रहेका शौचालय, मठमन्दिर तथा सपिङमलहरुमा भएका शौचालयहरु गणना गर्दा अहिलेकै अवस्थामा २५० को हाराहारीमा शौचालय छन् । अहिले पनि २५० वटा शौचालयलाई यो मापदण्ड बमोजिम सुधार गरेर स्वच्छ र सफा बनाउने हो भने तत्कालै नयाँ शौचालय बनाउन नसकेको अवस्थामा पनि सेवामा बाधा पुग्दैन । त्यसैले भएका शौचालयहरुलाई पहिलो प्राथमिकतामा राखेर सुधार गर्न सक्यौं भने सार्वजनिक शौचालय दुर्गन्धित हुन्छ, फोहोर हुन्छ, समस्या निम्त्याउँछ भन्ने आमधारणालाई हटाउन सकिन्छ । अर्को चाहिं शहर बजारमा भएका शौचालयहरु यो हाम्रा लागि आवश्यक छैन, किन हामीले राख्ने भन्ने खालको बुझाई छ, यहाँका रैथानेहरुको । हामीले सार्वजनिक शौचालयलाई सुधार गर्न सक्यौं भने सायद हामीले त्यो विरोधलाई चिर्न सक्छौं र सार्वजनिक शौचालयको सुधार गरी व्यवस्थित गर्न सक्यौं भने हाम्रो लागि पनि फाइदा हो र सेवाग्राही, हाम्रो टोल छिमेकमा आउने प्रयोगकर्ताहरुका लागि पनि राम्रो हो ताकि यसले खुला रुपमा हुने दिसापिसाबको समस्यालाई सम्बोधन गर्छ भन्ने कुरा बुझ्न बुझाउन सजिलो हुन्छ ।

अब जग्गा नै नभएको ठाउँ जस्तै न्यूरोड जस्तो ठाउँमा जग्गा पाउन गाह्रो छ । त्यस्ता ठाउँहरुमा रेष्टुरेन्टहरु, दोकानहरु जहाँ शौचालय छन् । उहाँहरुसँग सहकार्य गरेर शौचालयको प्रयोगका लागि कार्यक्रमहरु ल्याउन सकिन्छ । जस्तै उहाँहरुलाई सरसफाइको लागि खर्च दिएर वा शौचालय व्यवस्थापनमा लाग्ने खर्चलाई व्यवसायको करमा छुट दिएर वा उहाँहरुलाई लाग्ने कुनै पनि शुल्कमा सहुलियत दिएर पनि व्यवस्थापन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार