सरसफाइ यात्रा : आत्मसम्मानबाट समृद्धितर्फको बाटोमा

काठमाडौ : नेपालमा सरसफाइ अभियानको महत्वपूर्ण नारा थियो : ‘हाम्रो घरमा चर्पी छ, यसमा मलाई गर्व छ’ । समुदायमा आधारित पूर्ण सरसफाइमा आधारित भएर अनुदान भन्दा पनि प्रज्वलन, सहभागिता र परिचालनमा आधारित भएर सरसफाइ अभियान सञ्चालन गर्दा चर्पी र सरसफाइलाई व्यक्तिको इज्जत, आत्मसम्मान र प्रतिष्ठासँग जोड्ने गरिन्थ्यो । “चर्पी हुने घरमा हरियो झण्डा राख्ने, पुरस्कृत गर्ने, हरियो परिचयपत्र दिने, स्टिकर टाँस्ने लगायतका विधिहरु चर्पीलाई प्रतिष्ठा र आत्मसम्मानको विषय बनाउनका लागि नै अपनाइने गरेका थिए”, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका सरसफाइ तथा स्वच्छता विश्लेषक मदनकुमार मल्ल सम्झनुहुन्छ, “हामी फिल्डमा जाँदा धनुषाको साविक बेंगाडावरमा समुदायका केही वयस्क र प्रौढहरु चौतारीमा बसिरहनुभएको थियो । गाउँमा सरसफाइ अभियान कसरी चलिरहेको छ भन्ने प्रश्नमा एक जना व्यक्तिले खल्तीमा भएको सरसफाइ परिचयपत्र निकाल्दै गर्वका साथ सुनाउनुभएको थियो : मैले त चर्पी बनाएर गाविसमा पनि नाम लेखाइसकें, यी कार्ड हेर्नुस् ।”

सरसफाइ कार्डको नमुना

खुला दिसामुक्त अभियानका क्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुले समेत चर्पीलाई इज्जतको विषय बनाएका कारण तोकिएको समय सीमामा नै खुला दिसामुक्त अवस्था हासिल भएको सम्झनुहुन्छ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल । “समुदाय तहमा मात्र नभै हामी जिल्ला र पालिका तहका साझेदारहरुले समेत खुला दिसामुक्त अभियानलाई इज्जत र प्रतिष्ठाको विषयको रुपमा लियौं र खुला दिसामुक्त अभिायनमा लाथ्यौं”, पोर्तेलको भनाइ छ, “जिल्ला तहका मुख्य मुख्य कार्यक्रमहरु सहजीकरण गर्दा होस् या मिसनहरु सञ्चालन गर्दा, चर्पीलाई इज्जत र प्रतिष्ठासँग जोडेर लैजादा नै समुुदाय र साझेदार छिटो प्रज्वलित भए ।”

मिडियाले बनाउने शीर्षक समेत ‘प्रतिष्ठा’ सँग जोडिएका हुन्थे । “जहाँ हिर्काउँदा दुख्छ, त्यहीं हिर्काउने त हो”, मिडिया मिसन झापाका सदस्य हिमाल खरेलको भनाइ छ, “त्यसैले हामीले जिल्लाको प्रतिष्ठा र इज्जतसँग जोडेर शीर्षक बनाउथ्यौं, समाचारको एंगलिङ गर्थ्यौं ।”

प्रदेश नं. २ मा समेत इज्जतको विषय बनाएर नै सफलता मिलेको बताउनुहुन्छ, जिल्ला कार्यदल संयोजक विजयकुमार यादव । “यहाँ चर्पीलाई महिलाको इज्जत र स्वाभिमानको विषय बनायौं”, यादव भन्नुहुन्छ, “गाउँ सरसफाइ सम्मेलनदेखि श्रव्य दृष्य सामग्री तयार गर्दा समेत इज्जतलाई नै जोडिएको थियो ।”

त्यसो त, खुला दिसामुक्त अभियानको क्रममा स्वास्थ्य, शिक्षा, आर्थिक वचत र बालबालिकाको जीवनसँग सरोकारको विषय नबनाइएको होइन, तर त्यसको गहिराई कम भयो । “खुलामा दिसा गर्दा त्यसले रोग लाग्छ भन्यो भने समुदाय छिटो प्रज्वलित हुँदैनथे”, सरसफाइ अभियानकर्ता सुजित कुमार मण्डल भन्नुहुन्छ, “बाहिर हग्यो भने आफैले गुहु खाइन्छ, के मानिस गुहु खाने प्राणी हो ? भनेर प्रश्न गर्‍यो भने समुदाय छिटो प्रज्वलित हुन्थ्यो र खुलामा दिसा गर्ने काम बन्द गर्न प्रतिवद्ध हुन्थ्यो ।”

स्वास्थ्य र समृद्धि : पूर्ण सरसफाइ अभियानको मार्गचित्र

सरसफाइ गुरुयोजना २०६८ लाई आत्मसाथ गर्दै नेपालमा खुला दिसामुक्त अभियान सहजीकरण गरी खुला दिसामुक्त राष्ट्र घोषणामा महत्वपूर्ण भूमिका खेल्ने नेपाल सरकारको एक कार्यक्रममा पर्दछ ग्लोबल स्यानिटेसन फण्ड । संयुक्त राष्ट्रसंघीय निकाय खानेपानी तथा सरसफाइ समन्वय परिषद्को सहयोगमा नेपाल सरकारले प्राप्त गरेको सो कार्यक्रम विभिन्न साझेदार गैरसरकारी संस्था एवम् स्थानीय तहहरुले सहजीकरण गरेका थिए भने कार्यकारी निकायको रुपमा नेपालमा यू.एन. ह्याबिट्याट रहेको थियो ।

अभियान सहजीकरण गर्दा खुला दिसामुक्त अभियाानकै क्रममा स्वास्थ्य र समृद्धिलाई जोडेर लगिएको र अहिले त्यसले प्रमुखता पाएको बताउनुहुन्छ सरसफाइ तथा स्वच्छता विश्लेषक मदनकुमार मल्ल । “खुला दिसामुक्त अभियानकै क्रममा सरसफाइ नमूना समुदाय निर्माण, घरायसी तहमा ठोस तथा तरल फोहरको वर्गीकरण र पुनःप्रयोग, करेसाबारी निर्माण लगायतका विषयलाई सँगसँगै जोडेर लगेका थियौं”, मल्ल भन्नुहुन्छ, “पूर्ण सरसफाइ अभियान चरणमा पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले निर्धारण गरेका सूचकको आधारमा रही त्यसलाई परिवेश अनुकूल बनाउँदै लगिएको छ ।”


पूर्ण सरसफाइ अभियान अन्तर्गत तीन मुख्य सूचक र अन्य सहायक सूचकलाई छुटाइएको छैन । “चर्पीको निर्माण, मर्मत सम्भार र स्तरोन्नति, दिसाजन्य लेदो व्यवस्थापन र वातावरण तथा मानव स्वास्थ्यको सुरक्षा नै पूर्ण सरसफाइका मुख्य सूचकको रुपमा रहेका छन्”, मल्ल भन्नुहुन्छ, “यसैमा आधारित भएर व्यक्तिगत तथा घरायसी सरसफाइ, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने अभ्यास, पानीको सुरक्षा, सुरक्षित खानाको प्रयोग, घरभित्रको धुवाँमुक्त, महिनावारी स्वच्छता, वातावरणीय सरसफाइ र पानीका श्रोतको सुरक्षालाई समेत समावेश गरिएको छ ।”

मूल सूचकमा आधारित भएर समुदाय र वडा तहमा दुई चरणको कार्ययोजना तयार गर्ने गरिएको छ । “अल्पकालीन कार्ययोजनामा समुदायलाई सफा र स्वच्छ क्षेत्रसम्म पुर्‍याउनका लागि आवश्यक पर्ने क्रियाकलाप समावेश गरिएका हुन्छन्”, यू.एन. ह्याबिट्याटका मोरङ जिल्ला संयोजक विनोदप्रसाद शर्मा भन्नुहुन्छ, “दीर्घकालीन योजनामा सफा र स्वच्छ क्षेत्र घोषणा गरेपछि पूर्ण सरसफाइ उन्मुख समुदाय बनाउनका लागि गरिने क्रियाकलाप र जीविकोपार्जनसँग जोडिएका विषय समावेश गरिएका हुन्छन् ।”


यसैको एक उदाहरण हो, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहमा विकास भैरहेका सफा गाउँ र त्यससँग जोडिएका होमस्टेहरु । “पूर्ण सरसफाइ अभियानकै कारण समुदायमा उद्यमशीलता विकास भएको छ, समुदाय सफा र स्वच्छ क्षेत्र घोषणासँगै होमस्टेको रुपमा विकास भैरहेका छन्”, बर्दिया जिल्लामा समेत रहेर काम गर्नुभएका बाजुरा जिल्ला संयोजक ताराबाबु खाती भन्नुहुन्छ, “बर्दिया बाँसगढीको लक्ष्मणपुर सामुदायिक होमस्टे यसको एक उदाहरण हो, जहाँ १८ होमस्टे तयार भैसकेका छन् । ६ वटा स्वीकृति लिएर नै सञ्चालन भैसकेका छन् भने १२ वटा स्वीकृति लिएर सञ्चालनको क्रममा रहेका छन् ।”

बर्दियामात्र होइन, पूर्व झापादेखि मध्य तराईको धनुषा महोत्तरीसम्म पनि पूर्ण सरसफाइ अभियान अब समृद्धि र आयआर्जनको माध्यमको रुपमा बदलिएको छ । झापाको कमल गाउँपालिकाले टोल विकास संस्था मार्फत सरसफाइ अभियान, प्रांगारिक मल उत्पादन, प्रांगारिक कृषि र वातावरण संरक्षणलाई वार्षिक नीति कार्यक्रममा नै समावेश गरेको छ ।

मोरङको बेलबारी नगरपालिकाले यसअघि सफा गाउँ स्वघोषणा भएको सितलडाँडा र बगरटोलमा पाहुनाघर सञ्चालन गर्ने योजना बनाएको छ । “त्यहाँ होम स्टेको काम यसै वर्षभित्र थालनी गरिसक्ने योजना छ”, नगर उपप्रमुख ढाका कुमारी पराजुली भन्नुहुन्छ, “अहिले सफा र स्वच्छ क्षेत्र घोषणा भएका टोलहरुमा समेत दिगो जीविकोपार्जनका कार्यक्रम सञ्चालनका लागि समुदायबाटै योजना माग गरिरहेका छौं ।”

बेलबारी नगरपालिकाकै मिलनटोल र पुष्पाञ्जली टोलमा समेत सरसफाइलाई जोडेर बुद्धपार्क र मनोरञ्जनपार्क सञ्चालन गर्ने तरखर छ । “हामीले यहाँको थारु संस्कृतिमा आधारित भएर होमस्टे सञ्चालनको दीर्घकालीन योजना तयार गरिरहेका छौं”, सफा र स्वच्छ गाउँ घोषित आदर्श बस्ती राईझारकी अध्यक्ष रत्नादेवी खवास भन्नुहुन्छ, “अहिले होमस्टे सहितको पूर्ण सरसफाइउन्मुख गाउँको योजना तयार गरिरहेका छौं ।”

घरमा खेर जाने प्रांगारिक फोहरबाट गड्यौला खेती, करेसाबारी त पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका धेरैजसो ठाउँमा थालनी भएको छ । खेर जाने प्लास्टिक र प्रांगारिक बस्तुबाट खेलौना तथा सजावटका सामग्री निर्माण गरेर आम्दानी गर्ने काम थालनी भएको छ ।

“दिल” बाट चलेको अभियान “दिमाग” तर्फ

खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारीको भनाइ सापटी लिने हो भने खुला दिसामुक्त अभियान ‘दिलको मामिला’ को रुपमा रहेको थियो । दिमागभन्दा पनि दिलप्रधान अभियानको रुपमा यसलाई स्थापित गरिएको थियो । तर, पूर्ण सरसफाइ अभियानसँग अब अमूर्त होइन, मूर्त, स्पष्ट र जीविकामा प्रभाव पार्न सक्ने योजना हुनुपर्छ ।

समुदायको व्यापक सहभागितामा, अपनत्व वृद्धि गर्दै लैजानका लागि पूर्ण सरसफाइ अभियान अन्तर्गत मूलतः दिगो सरसफाइजन्य व्यवहार परिवर्तन र पूर्ण सरसरसफाइको संस्थागतकरण र स्थानीयकरणमा जोड दिइएको बताउनुहुन्छ यू.एन. ह्याबिट्याटका कार्यक्रम व्यवस्थापक सुधा श्रेष्ठ । “हामीले पूर्ण सरसफाइका चार क्षेत्रमा लक्षित गरी काम गरिरहेको भए पनि मुख्य जोड दिगो विकास लक्ष्य नं. ६ लाई हासिल गर्न सघाउनु र स्थानीय सरकारमा पूर्ण सरसफाइ संस्थागत गर्नु नै हो”, कार्यक्रम व्यवस्थापक श्रेष्ठको भनाइ छ ।

राष्ट्र खुला दिसामुक्त घोषणा गरिए पनि विभिन्न अध्ययनहरुले अझै पनि औसतमा ५ प्रतिशतको हाराहारीमा घरायसी चर्पीको पहुँच नभएको देखिएको छ । “विभिन्न कारणले चर्पी बनाउन छुटेका र प्रयोग नभैरहेका घरधुरीलाई समेटेर सतप्रतिशत चर्पीको प्रयोगको सुनिश्चितता हाम्रो पहिलो प्राथमिकता हो”, श्रेष्ठ भन्नुहुन्छ, “यससँगै जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने विषयलाई सम्पूर्ण घरधुरीमा सुनिश्चित गर्नका लागि सहजीकरण गरिरहेका छौं ।”

यससँगै स्थानीय तहमा पूर्ण सरसफाइलाई संस्थागत गर्नका लागि पालिका र वडा तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (खासस्व योजना) तयार गर्न सहजीकरण गरिरहेको समेत उहाँले बताउनुभयो । नेपाल सरकारले हालै मात्र खासस्व मार्गदर्शन जारी गरिसकेको छ र सम्पूर्ण स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छताको एकीकृत योजना तयार गर्ने विषयलाई नीतिमा नै समेटिएको छ । “हामीले पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहेका सबै स्थानीय तहमा खासस्व योजना निर्माणका लागि सहयोग गरिरहेका छौं”, श्रेष्ठ भन्नुहुन्छ, “हाम्रा जिल्ला संयोजकहरुले जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको सदस्यको रुपमा अन्य स्थानीय तहमा समेत खासस्व योजना निर्माणमा सहयोग गरिरहनु भएको छ ।” यस योजना निर्माणसँगै यसको प्रभावकारी कार्यान्वयन र अनुगमनका लागि पूर्ण सरसफाइ अनुगमन निर्देशिका तयार गर्न, जिल्ला तहका खानेपानी, सरसफाइ तथा स्वच्छता मार्गदर्शन र समुदाय तहमा सरसफाइ नमूना समुदाय मार्गदर्शन तयार गर्न समेत सहयोग पुर्‍याइरहेको उहाँको भनाइ छ ।


खुला दिसामुक्त अभियानका क्रममा चर्पीको गुणस्तरको सवाल पनि यदाकदा नसुनिएको होइन । पूर्ण सरसफाइ अभियानका क्रममा गुणस्तरको मामिला उठ्नै नदिनका लागि सूचकहरुको आधारमा अनुगमन तालिका निर्माण गरिएको छ, जसमा अनुगमन समिति, वडा तथा पालिकास्तरयि समिति र टोल समितिले संयुक्त रुपमा अंक प्रदान गरिन्छ । “सबै सूचकमा पूरा अंक प्राप्त गरेपछि पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले तोके बमोजिम ती घरधुरीले हरियो स्टिकर प्राप्त गर्छन्”, श्रेष्ठ भन्नुहुन्छ, “सबै घरले हरियो स्टिकर प्राप्त गरिसकेपछि मात्र वडा तहको समितिको स्वीकृतिमा समुदाय सफा र स्वच्छ क्षेत्र घोषणा हुन्छ ।” यस बाहेक पनि, सरसफाइ र स्वच्छता प्रवद्र्धनका लागि स्थानीय तहमा आवश्यक नीति निर्माण, परिमार्जन र कार्यान्वयनमा समेत सहयोग गरिरहेको उहाँको भनाइ छ ।

सिकाइ केन्द्रको रुपमा नमूना समुदाय

पूर्ण सरसफाइ अभियानको क्रममा सिंगै गाउँपालिका र वडामा सहजीकरण भए पनि टोलहरु र विद्यालयलाई न्यूनतम इकाइको रुपमा लिइएको छ, जसलाई सिकाइ केन्द्रको रुपमा विकास गरिएको छ । टोलहरुलाई सरसफाइमा नमूना बनाउँदै त्यसलाई पालिकाभरि विस्तार गर्दै लैजाने र विद्यालय एवम् संस्थागत सरसफाइका सूचक समेत पूरा गर्दै सिंगै स्थानीय तहलाई नै सफा र स्वच्छ क्षेत्र बनाउने ढाँचा अहिले अवलम्वन गरिएको छ ।
यसका लागि समुदाय र विद्यालय तहमा समेत पूर्ण सरसफाइ समिति निर्माण, उनीहरुको क्षमता अभिवृद्धि, योजना निर्माण, अनुगमन संयन्त्रको मजबूतीकरण र कार्यान्वयनमा सहजीकरण भैरहेको छ ।


पालिका र वडा तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका साथै टोल तहमा सरसफाइ व्यवस्थापन समिति र सवालमा आधारित भएर महिनावारी स्वच्छता सरोकार समूहको गठन र परिचालन भैरहेको छ । “हामीले सहयोग गरिरहेको कार्यक्षेत्रमा ५ सयभन्दा बढी महिनवारी स्वच्छता सरोकार समूह गठन भएका छन्, जहाँ ४ हजार ५ सय महिला आवद्ध हुनुहुन्छ”, यू.एन. ह्याबिट्याटका वास अधिकृत दुर्गाप्रसाद नेपाल भन्नुहुन्छ, “उहाँहरुले व्यक्तिगत तथा घरायसी सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहनुभएको छ ।”

समुदायमा रहेका विद्यालयहरुलाई समेत सरसफाइमा नमूना बनाएर सिकाइको केन्द्रको रुपमा विकास गर्ने र समुदायसँग जोडेर लैजाने गरिएको छ । “विद्यालय र समुदाय दुबैलाई सरसफाइमा नमूना बनाउँदै स्वास्थ्य र आयआर्जनसँग जोडेर लैजाने गरी अहिले योजना बनाउने कामको थालनी गरेका छौं”, भगवती माध्यमिक विद्यालय, भूमिकास्थान–९ अर्घाखाँचीका प्रधानाध्यापक कृष्ण खनाल भन्नुहुन्छ, “विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिले निर्धारण गरेका सूचक पूरा गर्दै सरसफाइ प्रवद्र्धनका लागि समुदायसँग सहकार्य गर्दैछौं, जसको मुख्य उद्धेश्य विद्यार्थी र अभिभावकको स्वास्थ्यको सुरक्षा नै हो ।”

समुदायलाई खानेपानी, सरसफाइ, स्वच्छता र वातावरण संरक्षणका सवालहरुको पहिचान गरी त्यसलाई सम्बोधनका लागि स्थानीय तहमा नै साधन श्रोत र विकल्पको खोजी गरी अगाडि बढ्न सक्ने बनाउनु नै पूर्ण सरसफाइ अभियानको लक्ष्य भएको कार्यक्रम व्यवस्थापक श्रेष्ठको भनाइ छ । “परियोजनाहरु निरन्तर हुँदैनन्, तर समुदाय त सधैं त्यहीं हुन्छ नि”, उहाँ भन्नुहुन्छ, “कुनै बाह्य सहयोगविना नै दिगो सरसफाइलाई निरन्तरता दिंदै सामाजिक समृद्धिका लागि क्रियाशील समुदाय निर्माण गर्न सघाउनु नै हाम्रो मुख्य ध्येय हो ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार