मेलम्चीको प्रशोधित पानी आज राती देखि नै वितरण सञ्जालमा पठाईने, सुन्दरीजलमा पूर्व सचिव तथा कार्यकारी निर्देशकहरु बीच भेटघाट

🔗
1,166
Shares


काठमाडौ : मेलम्चीको प्रशोधित पानी आज राती देखि नै वितरण सञ्जालमा पठाईने भएको छ । यसका लागि मेलम्ची सुरुङको आउटलेट भल्भ खोलेर पानी प्रशोधन केन्द्रमा पठाईएको छ । प्रशोधन केन्द्रबाट प्रशोधित पानी आज बेलुका देखि नै प्रसारण लाईनमा प्रवाह गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । गत फागुन २२ गते मेलम्ची सुरुङबाट सुन्दरीजलसम्म ल्याएको पानीलाई सुरुङको सफल परिक्षण पछि यही आईतबार देखि विधिवत रुपमा काठमाडौबासीको घर घरमा पठाउने तयारी गरेको छ। मेलम्चीको पानी आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरमा रहेको रिजर्भ्वायर ट्यांकीबाट गरी दैनिक ४ करोड लिटर पानी वितरण गरिनेछ ।

त्यसको दुई दिनपछि अर्थात मंगलबार देखि साढे ६ करोड लिटर पानी छाडिनेछ ।सुन्दरीजल र बालाजु रिजर्भ्वायर ट्याङमा समेत पानी पठाएर दैनिक साढे ६ करोड लिटर पानी मंगलबारदेखि वितरण गर्ने आयोजनाले जनाएको छ । यस्तै आगामी २१ चैतमा पानीपोखरी र बाँसबारी स्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर वितरण गर्ने तयारी छ ।

दुई सातापछि भने भक्तपुरमा पनि मेलम्चीको पानी वितरण गरिनेछ । पानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले ३० हजार नयाँ धारा जडान गरेको छ भने अन्य ठाउँमा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को पुरानो पाइप मार्फत वितरण गरिनेछ । मेलम्ची खानेपानी आयोजनाले १० पोखरी मध्ये ९ वटाको काम सम्पन्न भइसकेको जनाएको छ । यस अघि परीक्षणका लागि गत १० फागुनमा सुरुङमा पठाईएको मेलम्ची खानेपानी २२ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सुरुङको पानी सुन्दरीजलबाट वाग्मती पठाईएको थियो ।

सुन्दरीजलमा पूर्व सचिव तथा कार्यकारी निर्देशकहरु बीच भेटघाट तथा समीक्षा


सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजना सम्बद्ध पूर्वमन्त्री, पूर्व सचिव तथा आयोजनाका पूर्व कार्यकारी निर्देशकहरु एकै ठाउँमा भेला भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी सुरुङ मार्फत ल्याएर जम्मा हुने प्रशोधन केन्द्रमा पूर्व खानेपानीमन्त्री बिना मगर, खानेपानी मन्त्री मणि थापा, खानेपानी सचिव माधव बेलबासे सहित पूर्व कार्यकारी निर्देशकहरुको मेलम्ची खानेपानी विकास समितिले भेटघाट गराएको हो ।

पूर्व अर्थ सचिव तथा मेलम्चीका तत्कालीन कार्यकारी निर्देशक सुमनप्रसाद शर्माका अनुसार सहभागीहरुले आ(आफ्नो कार्यकालमा भएका योगदानका स्मरण गरेका थिए । मेलम्चीमा भएका विगतको कामको संक्षिप्त समीक्षा गर्दै पूर्व सचिव तथा कार्यकारी निर्देशकहरुले आफ्नो पालामा भएका उल्लेखनीय प्रगति स्मरण गर्दै आगामी दिनमा कसरी अघि बढ्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

भेटघाटमा पूर्व सचिवहरु तीर्थराज ज्ञवाली, ताना गौतम, पूर्ण कडरिया, किशोर थापा, कृष्णराज बीसी, तुलसी सिटौला सहभागी थिए । त्यसैगरी पूर्व कार्यकारी निर्देशकहरुमा पोषणनाथ नेपाल, ध्रुबबहादुर श्रेष्ठ, राजकुमार मल्ल, हरिप्रसाद शर्मा, कृष्णप्रसाद आचार्य, घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र वर्तमान कार्यकारी निर्देशक तिरेश खत्री सहभागी हुनुहुन्थ्यो । भेटघाटमा अधिकांश पूर्व कार्यकारी निर्देशकहरु उपस्थित भए पनि पूर्व सचिवहरु भने थोरै सहभागी हुनुहुन्थ्यो ।
मेलम्ची सुरु भएदेखि हालसम्म १९ जना सचिव र १३ जना कार्यकारी निर्देशकहरुले यस आयोजनामा योगदान गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार