संघीय खानेपानी आयोजना प्रमुख सँग वास सम्बाद : साना प्रकृतिका खानेपानी समेत संघले कार्यान्वयन गर्नुपर्ने बाध्यता

संघीयता कार्यान्वयन सँगै स्थापना भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अहिले तेस्रो आर्थिक बर्षको दौरानमा छ । आर्थिक बर्ष २०७५/०७६ देखि सञ्चालनमा आएको संघीय आयोजनाले अहिलेसम्म सिङ्गो आर्थिक बर्ष व्यतित गर्न पाएकै छैन । नयाँ कार्यालय भएकाले पहिलो आर्थिक बर्ष कर्मचारी समायोजन, कार्यालय व्यवस्थापन लगायतको कामले पूरै आर्थिक बर्ष काम गर्न नपाएको संघीय खानेपानी आयोजनाले दोस्रो आर्थिक बर्षमा कोभिड १९ संक्रमण तथा रोकथामका लागि गरिएको लकडाउनको सामना गर्नुपर्‍यो ।

अहिले तेस्रो आर्थिक बर्षको दौरानमा समेत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले पूरै शक्ति परिचालन गर्न पाएको छैन । यसैबीचमा ५ वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय त थपिए । तर मौजुदा मानव स्रोत साधन नै परिचालन गर्नुपर्दा समस्या झनै थपिएको छ । संघीय तहबाट सञ्चालन हुने आयोजनाहरुको पहिचान तथा प्राथमिकीकरण गरी प्रदेश तथा स्थानीय तहसँग समेत समन्वय गरी सहभागितात्मक प्रकृयाबाट आयोजना कार्यान्वयन गर्ने जस्ता जिम्मेवारी पाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना देशभरिमा २० वटा छन् ।

यसै सन्दर्भमा हामीले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका आयोजना प्रमुख ई. मोहनलाल जैसी सँग आयोजना कार्यान्वयनको अवस्था, संघीय खानेपानी आयोजना कार्यालयको प्रगति, भोगिरहेको समस्या, समस्या समाधानका लागि चालिएका प्रयास र उपल्लो निकायले ध्यान दिनुपर्ने कुराहरुका बिषयमा कुराकानी गरेका छौं ।

हेरौं उहाँसँग गरिएको वास सम्बाद :

विदेशी कामदार झिकाउनुपर्ने आयोजनाको प्रगति न्यून

संघीयता कार्यान्वयन सँगै स्थापना भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले दोस्रो बर्षको तेस्रो चौमासिक तिर कोभिड १९ को सामना गर्नुपर्‍यो । २०७६ चैत्र ११ गतेदेखि देशमा लकडाउन भएपछि विकास निर्माणका कामहरु ठप्प भए । त्यसमा पनि स्थानीय उपभोक्ता समितिबाट सञ्चालन हुने आयोजनाको काममा खासै असर नगरेपनि जलवायु अनुकुलित वृहत खानेपानी आयोजना, सहलगानी खानेपानी तथा सरसफाइ आयोजना लगायत ठूला प्रकृतिका आयोजनाहरु जहाँ दक्ष जनशक्ति प्रायजसो भारतबाट मगाउनुपर्ने खालको आयोजना नराम्ररी प्रभावित भयो ।

कोभिडले गर्दा कामदार उपलब्ध हुन सकेन र ती आयोजनाहरुमा अपेक्षित प्रतिफल हासिल गर्न सकेनौं । अहिले कोभिडको असर कम हुँदै गएको छ । यो आर्थिक बर्ष अन्त्य हुञ्जेलसम्म हामीले लक्षित प्रगति हासिल गर्न सक्छौं भन्ने अपेक्षा छ र त्यसै अनुसार कामहरु भईरहेका छन् ।

साना प्रकृतिका खानेपानी आयोजना : संघीयताको मर्म विपरित

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडा मकवानपुर अन्तर्गत जम्मा पाँच वटा शीर्षकमा निर्माणका कामहरु भईरहेका छन् । जसमा खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रम, खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम, ढल निर्माण तथा प्रशोधन कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी आयोजना र केन्द्रीय खानेपानी आयोजना गरी पाँच वटा उपशीर्षकमा १०३ वटा खानेपानी आयोजनाहरु सञ्चालन भईरहेका छन् ।

यसमा चाहिं खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत साना खालका खानेपानी आयोजनाहरु समेत सञ्चालन गर्नुपरेको छ । जुन चाहिं संघीयताको मर्म सँग मेल नखाए जस्तो देखिन्छ । अब निकट भविश्यमा यसलाई स्थानीय तहमा हन्तान्तरण गर्दै जाने र संघले तिनीहरु मध्ये केही आयोजनाहरु केन्द्रिय खानेपानी आयोजनामा हस्तान्तरण गरेर त्यस अन्तर्गत सञ्चालन गर्ने तथा बाँकी ढलका आयोजनाहरु चाहिं जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाहरु र सहलगानीका खानेपानी आयोजनाहरुं सञ्चालन गर्ने लक्ष्य लिएर अगाडि बढिरहेका छौं ।

अब बिस्तारै सुधार गरेर साना प्रकृतिका योजनाहरुलाई प्रदेश स्तर तथा स्थानीय स्तरमा हस्तान्तरण गर्ने र ठूला प्रकृतिका (पाँच हजार भन्दा बढी घरधुरी लाभान्वित जनसंख्या भएका) आयोजनाहरु मात्र सञ्चालन गर्न प्रयत्नरत छौं ।

सुरुको आर्थिक बर्षमा कार्यालय स्थापना र जनशक्ति व्यवस्थापनमा समस्या परेतापनि हामीले ८० प्रतिशत भौतिक प्रगति हासिल गरेका छौं । गत साल कोभिडको कारणले तेस्रो चौमासिकमा जुन काम गर्ने मुख्य सिजन हो, त्यसमा कोभिडका कारण काम प्रभावित भएपनि चालु आर्थिक बर्षमा हालसम्म लगभग ४५ प्रतिशत भौतिक प्रगति देखिए पनि काम गर्ने मुख्य सिजन अब तेस्रो चौमासिक भएकाले यो आर्थिक बर्षमा ९० प्रतिशतको हाराहारीमा भौतिक प्रगति हासिल गर्ने लक्ष्य लिएर अगाडि बढिरहेका छौं ।

संघीय खानेपानी आयोजनाले व्यहोरिरहेको समस्या

सुरुमा देशभर १५ वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु मात्र थिए । यसै आर्थिक बर्षमा पाँच वटा थपिएर २० वटा संघीय कार्यालयहरु भएका छन् । त्यसमा पनि जनशक्तिको हिसाबले थप जनशक्तिको व्यवस्थापन गरिएको छैन । मुख्य गरी आयोजना प्रमुख चाहिं थप गरेर बाँकी भएकै जनशक्तिबाट विभाजन गरेर थप गरिएका आयोजना कार्यालयहरु व्यवस्थापन गरिएको छ । त्यसले गर्दा मानव स्रोत साधनको अभाव भएको छ ।

दोस्रो कुरा ठेक्कापट्टाबाट कार्य सञ्चालन गर्ने नीतिगत व्यवस्था भए तापनि सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रम जस्ता कार्यक्रम उपभोक्ता समितिहरुबाटै सञ्चालन भईरहेका छन् भने त्यसमा श्रमदान जुट्न गाह्रो भएको छ । कतिपय ठाउँमा मुहान विवादहरु पनि यथावत रहेको छ । ठूला प्रकृतिका आयोजनाहरुमा बहुबर्षीय खरिद योजना अन्तर्गत निर्माण कार्यहरु जस्तै सहलगानी, जलवायु अनुकुलित बृहत खानेपानी आयोजना, ढलका आयोजनाहरु, तिनीहरुमा चाहि ठेक्का व्यवस्थापन गरेर काम गर्ने हुनाले म्याद थप, भेरिएसन देखिका समस्याहरु छन् । ती बाहेकका समस्याहरु चाहिं व्यवस्थापन गर्दै अगाडि बढ्दै आईरहेको छ ।

समाधानका लागि चालिएका प्रयास

कतिपय समस्याहरु फिल्ड लेबलका समस्याहरु रहन्छन् । जुन चाहिं कार्यान्वयन चरणमा फिल्ड लेबलकै कर्मचारीहरुबाट अथवा संघीय आयोजनाबाटै समस्या समाधान हुन्छन् भने कतिपय नीतिगत समस्याहरु नीतिगत रुपमै समाधान गर्नुपर्ने भएकाले त्यसलाई माथिल्लो निकायमा पठाउने गरिएको छ ।

कतिपय बैठक तथा गोष्ठीहरुमा र कतिपय चाहिं लिखित रुपमै पनि समस्या समाधानका लागि माथिल्लो निकायमा पेश गर्ने गरिएको छ । त्यसमा चाहिं यो यो समस्या आएको छ भनेर लेखेर पठाउँछौं र त्यसलाई माथिल्लो तहबाट छलफल गर्ने मन्त्रालय तथा विभागीय तहबाट सुनुवाई गर्ने कामहरु भईरहेका छन् ।

खानेपानी र ढल व्यवस्थापन सँगसँगै

खानेपानीको सेक्टरमा हामीले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकै छौं । त्यसको अनुपातमा ढल व्यवस्थापनम अलि पछाडि रहेको यथार्थ नै हो । त्यसलाई पनि पछिल्लो अवस्थामा हामीले चुनौतीको रुपमा लिएर खानेपानी र ढल व्यवस्थापनलाई सँगसँगै लैजाने गरी काम गरिरहेका छौं ।

सहरी इलाका र अर्ध सहरी इलाकामा ढलको डिजाइन गरेर गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने गरी खानेपानी सँगै ढलको आयोजनाहरु अगाडि लैजाने र त्यसको लागि आवश्यक डिजाइन देखि लिएर निर्माण सम्मको काममा अगाडि बढिरहेका छौं ।

आयोजनाको दिगोपनाका लागि अपनत्व ग्रहण गर्नुपर्ने

विकास निर्माणमा विशेष गरी खानेपानी भनेको जनताको घरदैलो र चुलो सँग गाँसिएको बिषय भएकाले एउटा सामाजिक बिषय पनि हो । त्यसलाई जबसम्म जनताले अपनत्व ग्रहण गर्ने र बनेका संरचनाको स्याहार सम्भार गर्ने, रेखदेख गर्ने र स्वमित्व ग्रहण गर्ने हो भने मात्र बनेका आयोजनाहरु दिगो रहन्छ ।

त्यसैले खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित खानेपानी र ढल व्यवस्थापन क्षेत्रलाई माया गरिदिनुहुन, स्वमित्व लिईदिनुहुन र कार्यान्वयन गर्ने क्रममा यसमा भएका कमीकमजोरीहरुलाई पृष्ठपोषणको रुपमा सम्बन्धित निकायमा पेश गरेर गल्ती तथा कमीकमजोरीहरुलाई कसरी सुधार गर्न सकिन्छ ? पृष्ठपोषण दिएर अझै राम्रो गर्ने मौका दिनुभएमा आभारी हुनेछौं ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख मोहनलाल जैसीसँग गरिएको कुराकानीमा आधारित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार