सार्वजनिक शौचालय अर्को महामारीको थलो नबनोस्

प्रकाश अमात्य

राजधानी शहर लगायतका शहरी र बजार क्षेत्रहरुमा सार्वजनिक शौचालयको बिजोग हुनु अब नौलो विषय रहेन । आपतकालीन अवस्थामा बाहेक यी सार्वजनिक शौचालय प्रयोग योग्य छैनन् । फोहर शौचालय हुनु शौचालय नहुनु बराबर नै हो ।

संख्यामा सार्वजनिक शौचालय पुगेन भनेर निक्कै चर्चा गरिन्छ तर भएका शौचालयहरुको गुणात्मक सुधारमा कसैको ध्यान गएको देखिँदैन । सरसफाई र खानेपानी संविधान प्रदत्त मौलिक अधिकार भए पनि नागरिकले सार्वजनिक शौचालयमा सहज र सुरक्षित पहुँचबाट बञ्चित रहनु परेको अवस्था छ ।

सहर बजारका शुल्क तिरेर प्रयोग गर्ने शौचालयहरुमा पानी नहुनु, बत्तीको व्यवस्था नहुनु, लगायत महिलाहरुका लागि निकै असुरक्षित हुने गर्दछ । तर सेवाग्राहीका दैनिकीसँग जोडिएका पालिका, कार्यालय, मालपोत, अस्पताल, बजार स्थल, विद्यालय, कलेज, मन्दिर आदिमा शौचालयको दूरावस्था नै हुने गरेको छ । यी शौचालयहरुमा अपाङ्ग मैत्रिताको कुरा त निकै परको कुरा जस्तो लाग्दछ ।

अभाव, समस्या र दूरावस्थाको बीच पनि सार्वजनिक शौचालय एक व्यवसायिक अवसर हुन सक्दछ । काठमाडौं उपत्यकाका दुई महानगरपालिका, कीर्तिपुर र थिमि नगरपालिकामा गरी ६५ वटा सशुल्क सार्वजनिक शौचालय छन् । पार्क, मन्दिर, सरकारी कार्यालयहरु, व्यापारिक कम्प्लेक्स र पेट्रोल पम्पहरुलाई पनि गणना गर्ने हो भने २४५ वटा सार्वजनिक शौचालयको संख्या पुग्दछ । तर विडम्वना यसको सुधार, व्यवस्थापन, अनुगमन र नियमन गर्ने अधिकार कस्को भन्ने सवालमा कुनै नियम, कानून र अधिकारवाला निकाय भेटिँदैन ।

शौचालय निर्माण गरेपछि त्यसको सञ्चालन गर्ने विधि र प्रक्रियाका बारेमा कुनै पनि व्यवस्थापन नगरिएको अवस्था हो । सार्वजनिक सञ्चालन कसरी गर्नुपर्छ ? त्यसको सरसफाइको प्रक्रिया के हो ? कसरी स्वच्छ राख्ने ? भन्ने कुरामा ध्यान दिईएको हुँदैन । शौचालय बनाईयो, बनाईसकेपछि आफै चल्छ भन्ने खालको सोच भएको पाईयो । सार्वजनिक शौचालय सञ्चालनको जुन मापदण्ड छ, त्यो लागु गरेको पाईएन ।

जबकि हामीले स्तरीय होटेल रेष्टुँरामा हेर्ने हो भने त्यहाँ भएका सार्वजनिक शौचालय अलि फरक पाउँछौं । त्यहाँको शौचालयको सरसफाइका लागि एक जना कर्मचारीलाई नै खटाईएको हुन्छ । उसको सेवा अवधि तोकिएको हुन्छ । शौचालय प्रयोग गरिसकेपछि सफा गरेको, दुर्गन्ध हुनबाट जोगाएको, पानीको व्यवस्था गरेको अवस्था पाउँछौं भने बजार तथा सरकारी कार्यालयहरुमा हुने सार्वजनिक शौचालयहरुमा त्यो खालको व्यवस्था गरिएको छैन ।

एउटा चाहिं कसरी सञ्चालन गर्ने विधि नै छैन । अर्को चाहिं अनुगमनको पाटो एकदम शून्य छ । त्यो शौचालय सही तरिकाले चलिरहेको छ कि छैन ? भन्ने कुरा अनुगमन गर्ने कसले भन्ने नै कुनै नियम छैन । जसले गर्दा जसले जसरी चलाएपनि हुने अवस्था छ ।

कोभिड १९ महामारीको समयमा अस्पताल तथा सार्वजनिक स्थानका शौचालयहरुको सरसफाईमा विशेष ध्यान नपुर्याउने हो भने कुनै पनि समयमा यस्ता महामारी फैलाउन सार्वजनिक शौचालय प्रमुख माध्यम हुन सक्दछ ।

सफा शौचालयलाई प्राथमिकतामा नराख्ने हो भने रोगको केन्द्रविन्दु शौचालय बन्न सक्दछ । हामीले अहिले बुझिसकेका छौ सरसफाई कति महत्वपूर्ण छ र यस महामारीको समयमा स्वास्थ्य सेवामा जस्तै हाम्रो शौचालयमा पनी लगानी गर्नुपर्ने सही समय आइसकेको छ । साथै शौचालय जन्य मानव मलमूत्रले वातावरण प्रदूषणमा निकै नकारात्मक रसायनिक प्रदूषण उल्लेख्य रुपमा गरेको छ । सहरीकरणसँगै जनसंख्या बढेको तर राजधानीमा सार्वजनिक शौचालयको अभाव र यसको उचित व्यवस्थापनको कमीले वातावरण र जनस्वास्थमा निकै असर परेको पाइन्छ ।

यसको समाधानको रुपमा हाल उपत्यकाको ३ स्थानमा स्वास्थकर र वातावरणमैत्री सार्वजनिक शौचालय एरोसान हवले संचलनमा ल्याएकोे छ । उक्त शौचालयहरुमा आकासेपानी संकलन प्रविधि, वायो ग्यास, फोहोर पानी प्रशोधन विधि जस्ता सुविधाका कारण स्वच्छ वातावरणमा टेवा पुर्याउनाका साथै पिछडिएको वर्गलाई रोजगारीको अवसर प्रदान गरेको छ । एरोसान हव शौचालयले अवलम्बन गरेको वातावरणीय सरसफाईको नमुनालाई प्रत्येक घर परिवारले अनुसरण गरी त्यहाँबाट उत्पादन भएको पूनःप्रयोगिय पानी र मललाई कौसी खेतीमा प्रयोग गर्न सकिन्छ । यसले खाद्यचक्र र वातावरण संरक्षणमा दिगो योगदान दिन सक्ने कुरामा कुनै दुई मत नहोला ।


एरोसान हवद्वारा सञ्चालित सार्वजनिक शौचालय अत्याधुनिक, स्वच्छ, महिलामैत्री, अपाङ्गतामैत्री र समुदायमा आधारित छ । उक्त शौचालयहरुमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिएको छ । यस्तै बालबालिकाहरुको डाइपर फेर्ने ठाउँ पनि शौचालय भित्रै पाउन सक्नुहुन्छ ।

स्मार्ट शौचालयमा सरसफाइका लागि आकाशे पानी संकलन गरी प्रयोग गरिएको छ । शौचालयबाट निस्कने ठोस तथा तरल फोहोरलाई ढलमा नफाली उर्जाको रुपमा वाँयोग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरी पुनःप्रयोग गरिएको छ ।

शौचालय संचालनको दिगोपन र निरन्तरताको लागि व्यवसायिक योजना, कुसल व्यवस्थापन र दक्ष जनशक्तिको उत्तिकै महत्वपूर्ण योगदान रह्न्छ। सार्वजनिक शौचालय र सरसफाईकर्मीहरू पनि जनस्वास्थ्य महामारी जस्ता विपदमा अग्रपंक्तिमा रहेर कार्यक्षेत्रमा खतिएका छन्। एरोशान हव शौचालयमा सफाईकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा व्यवस्था गरि काम लगाईएको छ। साथै उनीहरूको स्वास्थ्य विमा र रोजगारीको निरन्तरता दिएको छ।

एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय निर्माण गरेको छ । त्यसै गरि रत्नपार्क र मंगलबजारमा भएका पुराना सार्वजनिक शौचालयको पुनःनिर्माण गरी हाल ४ वटा नमुना सार्वजनिक शौचालय संचालनमा ल्याईसकेको छ भने त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्षबाट सञ्चालनमा ल्याउने गरी काम भईरहेको छ ।

लेखक एरोसान हबका नेपाल निर्देशक एवं गैरसरकारी संस्था गुथिका प्राविधिक सल्लाहकार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार