
नवलपुर : सुरक्षित रुपमा व्यवस्थापन गरिएको पानीको आपूर्ति घट्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । WHO को सहयोगमा खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखाले नवलपुरको गैंडाकोटमा आयोजना गरिएको खानेपानी सुरक्षा योजना तथा पानी परिक्षण (किट) सञ्चालन सम्बन्धी अभिमुखीकरण एवं हस्तान्तरण कार्यक्रममा वास क्षेत्रका सरोकारवालाले घरमा प्रयोग हुने पानीमा दिसाजन्य किटाणु (इकोली) भेटिनु चिन्ताजनक भएको बताएका हुन् ।
विश्व स्वास्थ्य संगठन (WHO) का नेसनल प्रोफेश्नल अफिसर डा. सुदनराज पन्थीले WHO/UNICEF JMP इष्टिमेट अनुसार दिगो बिकास लक्ष्य आधार बर्ष २०१५ मा भन्दा २०२० को जेएमपी प्रतिवेदनमा नेपालमा सुरक्षित रुपमा व्यवस्थित गरिएको खानेपानी आपूर्तिको प्रतिशत घटेर आएको बताउनुभयो । उहाँका अनुसार यस्तो खानेपानी आपूर्तिको प्रतिशत सन् २०१५ मा २५.४% थियो तर सन् २०२० को जेएमपी प्रतिवेदनले यस्तो खानेपानी आपूर्तिको प्रतिशत घटेर १७.६% मा झरेको देखाएको छ ।
सुरक्षित रुपमा व्यवस्थित गरिएको खानेपानीको आपूर्ति घट्दै जानुमा चिन्ताको बिषय भएको भन्दै उहाँले यसका लागि हरेक खानेपानीमा क्लोरिनेसन अभियानकै रुपमा लैजानुपर्ने एक मात्र उपाय भएको बताउनुभयो । उहाँले अन्य प्रदूषणको पहिचान र ब्यबस्थापन खानेपानी सुरक्षा योजनाको अबधारणा अनुसार गर्नुपर्नेमा जोड दिनुभयो । पानीको गुणस्तर MICS सर्भे २०१९ को प्रतिवेदन अनुसार घरायसी पानीमा अत्यधिक मात्रामा (८५ %) दिसाजन्य किटाणु (इकोली) भेटिएको थियो । ।

अभिमुखीकरण कार्यक्रमको अन्त्यमा खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी गुणस्तर सुधार तथा सेवा नियमन शाखा प्रमुख नारायण प्रसाद आचार्यले ७ वटा स्वास्थ्य संस्था, दुई वटा गाउँपालिका र २१ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई गरी ३० वटा खानेपानी परिक्षण किट हस्तान्तरण गर्नुभयो । उक्त किटले खानेपानीमा पाइने ६ वटा पारामिटरको परिक्षण गर्न मिल्ने उहाँले बताउनुभयो ।


1054 पटक हेरिएको 

