खानेपानी विभागले मनायो स्वर्ण जयन्ती, मेलम्चीको पानी चाँडै ल्याईने खानेपानीमन्त्रीको प्रतिबद्धता

काठमाडौ : खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षमता र संस्थागत संरचना विस्तार एवं सुदृढीकरणका लागि मन्त्रालयले यथासक्य पहल गर्ने बताउनुभएको छ । संघीय संरचनामा विभागको खुम्चिएको संरचनागत दायरा पर्याप्त नभएको र मुुलुकमा ठूलो संख्यामा घोषित नगर क्षेत्रहरुमा योजनाबद्ध कार्यक्रमहरु कार्यान्वयन गर्न अपर्याप्त देखिएकाले विभागको संस्थागत संरचना विस्तार गरिने मन्त्री चौधरीले बताउनुभयो ।

खानेपानी विभागको ५० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा जुम मार्फत सम्बोधन गर्दै मन्त्री चौधरीले भन्नुभयो ‘मुलुकभरिका सबै ठूला र घना बस्तीमा सुधारिएको गुणस्तरीय खानेपानी र सरसफाइको सेवा सुविधाहरुको सुनिश्चितताको जिम्मेवारी निभाउन केही स्थानमा सीमित कार्यालयहरु मात्रले सम्भव देखिदैन । सुरुमा यस तर्फ सरल रुपमा सोचिएको देखिएकाले अब उप्रान्त कार्यप्रकृति र कार्यभार बमोजिम आवश्यक पर्ने यस विभागको संस्थागत संरचना विस्तार एवं सुदृढीकरणका लागि मन्त्रालयले यथासक्य पहल थाल्ने कुरा राख्न चाहन्छु ।’

उहाँले आधारभूत स्तरको खानेपानी र सरसफाइ सेवाको पहुँच पुर्‍याउने र समय सापेक्ष जनताको आकांक्षा अनुरुप खानेपानी सरसफाइ सेवाहरुको क्रमशः स्तरवृद्धि गर्दै लैजाने कार्यबाटै मुलुकले अन्तर्राष्ट्रिय मञ्चमा गरेका दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

स्वस्थ जीवनका लागि सुरक्षित खानेपानी र सरसफाइ सुविधा अपरिहार्य भएको कुरामा अब कसैमा द्धिविधा नभएको भन्दै खानेपानी र सरसफाइलाई जत्ति सामान्य रुपमा लिन्छौं, त्यो त्यत्तिकै जटिल र पेचिलो पनि बिषय पनि भएको अवगत गराउनुभयो ।

मेलम्चीको पानी अस्थायी संरचना बनाएरै भएपनि चाँडै ल्याईने

खानेपानी चौधरीले मेलम्ची खानेपानी आयोजना बाढी पहिरोका कारण बन्द भएको र यसलाई तत्कालै अस्थायी रुपमा भएपनि सञ्चालन गर्ने तर्फ कार्ययोजना अगाडि बढाएको जानकारी गराउनुभयो । ‘ यथासम्भव काठमाडौबासीलाई खानेपानी खुवाउने तर्फ हामीले विशेष जोड दिएका छौं ।’ उहाँले भन्नुभयो ।

उहाँले तीनै तहको सरकारलाई समन्वय गर्नका लागि एउटा युनिट नै तयार गरेर ती कार्यक्रमहरुलाई समयभित्रै सम्पन्न गर्ने खालको योजनाहरु ल्याउन जरुरी रहेको बताउनुभयो । ‘खानेपानी र सरसफाइ क्षेत्रको अग्रणी निकायको हिसाबले विभागले यी तमाम चुनौतीहरु सामना गर्दै आवश्यकताको परिपूर्ति, खानेपानी योजना तथा कार्यक्रम कार्यान्वयनको अतिरिक्त खानेपानी सरसफाइ क्षेत्रको नीतिगत विकास, सरोकारवालाहरुको समग्र क्षमता अभिवृद्धि, क्षेत्रगत ज्ञान तथा सूचना व्यवस्थापन, निर्मित खानेपानी सरसफाइ संरचना र सम्पक्तिको संरक्षण एवं उपभोक्ताको आँकलन एवं लेखाजोखाका साथै योजना चक्रको समग्र लागत श्रृंखलामा सबै तप्काका र भेगका उपभोक्ता बीच समन्वयको प्रत्याभूतिको साथै सुनिश्चितता समेत गर्दै माग र औचित्यमा आधारित योजना छनौट र कार्यान्वयन गर्ने सबै कार्यभार वहन गर्नका लागि अहिले सबैभन्दा बढी जिम्मेवारी विभागको रहिआएको छ ।’ मन्त्री चौधरीले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङले खानेपानी, सरसफाइ र स्वच्छताको विकासमा खानेपानी तथा ढल व्यवस्थापन विभागको उल्लेखनीय योगदान रहेको बताउनुभयो । सरसफाइमा सत प्रतिशत र आधारभूत खानेपानीमा ९४ प्रतिशत र उच्च र मध्यम स्तरको खानेपानी २५ प्रतिशत नागरिकमा उपलब्ध हुनु खुसीको कुरा भएको बताउनुभयो ।

सरसफाइको क्षेत्रमा नेपालले खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि यसलाई कायम राख्न चुनौती रहेको बताउनुभयो । उहाँले यसलाई दिगो बनाउन भविश्यमा विभागले सशक्त रुपमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले खानेपानी र सरसफाइ क्षेत्रमा पन्ध्रौं योजनाले राखेको लक्ष्य हासिल गर्न निक्कै मिहेनत गर्नुपर्ने पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा खानेपानी मन्त्रालयका पूर्व सचिव एवं लोक सेवा आयोगका सदस्य माधव बेल्बासेले आफू सचिव रहँदाको समयमा खानेपानी र सरसफाइ क्षेत्रमा दुई महत्वपूर्ण कामहरु गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आफ्नै कार्यकालमा देशलाई खुलादिसामुक्त राष्ट्र घोषणा गर्न पाएको र मेलम्ची खानेपानीलाई काठमाडौमा ल्याउने अवसर प्राप्त भएको बताउनुभयो ।

प्राकृतिक प्रकोपका कारण अहिले बन्द रहेको खानेपानीलाई यथाशीघ्र काठमाडौ ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौड्यालले खानेपानी र सरसफाइको क्षेत्रमा विभागको अग्रगामी भूमिकाका कारण नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त घोषणा भएको र यसैका कारण बाल मृत्युदर घटेको, नेपालीहरुको सरदर आयु बढेको र नेपालीहरुको समग्र स्वास्थ्य स्थितिमा सुधार भई उत्पादनशील समय बृद्धि भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व खानेपानी सचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका पूर्व महानिर्देशक, पूर्व कर्मचारीहरु, समयमै खानेपानी आयोजना सम्पन्न गर्ने निर्माण कम्पनी, सरसफाइ उपभोक्ता समिति एवं संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामलाई सम्मान गरिएको थियो ।

नेपालमा खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न वि.सं. २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभागको स्थापना भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार