
काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी महसुल निर्धारण आयोगको पदाधिकारी नियुक्तिको लागि पुनः दरखास्त आव्हान गरेको छ । आयोगले खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिमको समितिको अध्यक्ष एवं सदस्य पदमा नियुक्त भै कार्य गर्न ऐन बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आव्हान गरेको हो ।
मन्त्रालयले २०७८ असार २४ गते विहीबार नै आयोगको अध्यक्ष पदको प्रतिस्पर्धामा रहेका तीन जनाको अन्तर्वार्ता लिईसकेको थियो । अध्यक्ष पदका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ स्थायी घर भई काठमाडौमा बसोबास गर्दै आउनुभएका घनश्याम भट्टराई, सर्लाहीको भक्तिपुर गाउँपालिका ७ का सुरेशराज शर्मा र प्युठानको झिमरुक गाउँपालिका ५ का हिमाल बहादुर घर्ती क्षेत्रीले अन्तर्वार्ता दिनुभएको थियो । उम्मेदवारहरुले व्यवसायिक कार्ययोजना र अवधारणापत्र समेत प्रस्तुतीकरण गरेका थिए ।
मन्त्रालयले २०७७ चैत्र २५ गते खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ३ बमोजिम आयोगको पदाधिकारी नियुक्तिका लािग दरखास्त आव्हान गरेको थियो । खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ४ बमोजिम गठित सिफारीस समितिले असार १५ गते रीतपूर्वक प्राप्त भएका निवेदकहरु मध्ये आयोग पदाधिकारी सिफारीस कार्यविधि २०७७ बमोजिम योग्यता पुगेका उम्मेदवारहरुको नामावली स्वीकृत गरिएको थियो ।
मन्त्रालयले त्यत्तिबेला लिएको अन्तर्वार्ता के कति कारणले रद्द गरिएको भन्ने कुनै जानकारी गराएको छैन ।
खानेपानी महसुल निर्धारण आयोग ऐन २०६३ ले अध्यक्ष पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ, व्यवस्थापन, अर्थशास्त्र वा वित्तिय व्यवस्थापनमा कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी लिई कम्तीमा १२ बर्षको अनुभव हुनुपर्ने योग्यता तोकेको छ ।
यस्तै खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३ को दफा ४ बमोजिम गठित सिफारीस समितिले खुला सदस्य तर्फ दुई र महिला, दलित र जनजाति तर्फको सदस्य पदका लागि तीन जना उम्मेदवार स्वीकृत गरेको थियो । समितिले महसुल निर्धारण आयोगको खुला सदस्य पदका लागि गौमुखी ७ प्युठानका धर्मलाल गिरी र धुर्कोट गाउँपालिका ६ गुल्मीका सूर्यबहादुर थापाको नाम स्वीकृत गरेको थियो ।
खानेपानी महसुल निर्धारण आयोग ऐन २०६३ ले आयोगको खुला सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वित्तिय व्यवस्थापन वा विश्लेषण, चार्टर्ड एकाउण्टेन्सी वा वाणिज्य शास्त्रमा कम्तीमा स्नातक उपाधि हासिल गरी आर्थिक मूल्याङ्कन, लेखा वा वित्तिय विश्लेषण सम्बन्धी काममा कम्तीमा १० बर्षको अनुभव हुनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै महिला, दलित र जनजाति तर्फको सदस्य पदमा बनेपा नगरपालिका ८ काभ्रेपलाञ्चोकका चन्द्रलाल नकर्मी, घोराही उपमहानगरपालिका १७ दाङका नारायणी अधिकारी र भरतपुर महानगरपालिका १३ चितवनका शान्ति सापकोटाको आवेदन परेको थियो । महिला, दलित र जनजाति तर्फ आयोगको सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ, समाजशास्त्र वा कानुन बिषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ७ बर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने प्रावधान छ ।
२०७७ चैत्र २५ गते प्रथम पटक प्रकाशन गरेको सूचनमा महिला, दलित तथा जनजाति कोटाको सदस्य पदका लागि पर्याप्त निवेदन नपरेपछि मन्त्रालयले २०७८ वैशाख ११ गते दोस्रो पटक दरखास्त आव्हान गरेको थियो ।
२०७८ वैशाखमै दोस्रो पटक दरखास्त आव्हान गरेको भएपनि मन्त्रालयले यसपटक पनि दोस्रो पटक नै भनेर सूचना प्रकाशन गरेको छ । मन्त्रालयले २०७८ वैशाख ३० गतेको मितिले ७ दिनभित्र खानेपानी मन्त्रालयको प्रशासन महाशाखामा रितपूर्वक दरखास्त दिन सकिने जनाएको छ ।
हेर्नुहोस् सूचना :



1278 पटक हेरिएको 

