खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको प्राथमिकता र अबको बाटो

  डा. महेश्वरप्रसाद यादव  4530 पटक हेरिएको

विषय प्रवेश

नेपालमा हालसम्म आधारभूत खानेपानीको सुविधा पाएको जनसंख्या ९४ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ । जबकी, निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये एक तिहाई भन्दा कम मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेकोछ । यसको अर्थ, जनसंख्याको अधिकांश हिस्साले उपलब्ध गरेको सुविधा कागजमा मात्र सीमित छ । अधिकांश खानेपानी आयोजनाहरु विभिन्न कारणहरूले गर्दा डिजाइन अवधि पूरा नगरी पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएको यो अवस्थाले गर्दा ठूलो लगानी खेर गइरहेको छ ।

त्यसैगरी, नेपाल २०७६ आश्विन १३ गते‍ औपचारिक रुपमा खुला दिशामुक्त क्षेत्र घोषित भयो । यसको अर्थ उक्त दिनदेखि शतप्रतिशत नेपालीको शौचालयमा पहुँच रहेको छ । तर, वास्तविकता यस्तो छैन । विशेष गरी ग्रामीण क्षेत्रमा खुला दिसामुक्त अवस्थामा धेरै प्रश्चचिन्हहरु थपिँदैछन् । बिस्तारै मानिसहरु खुला ठाउँमा दिसापिसाब गर्ने प्रवृत्ति तिर उन्मुख भएका छन् । निर्माण गरिएका शौचालयहरुको स्तरोन्नति र दिगोपनका लागि धेरै काम गर्नुपर्ने अवस्था छ । व्यापक मात्रामा सार्वजनिक शौचालयहरुको निर्माण र उचित व्यवस्थान नहुञ्जेल पूर्ण रुपमा खुला दिसामुक्त अवस्था हासिल नहुने निश्चित छ ।

यस क्षेत्रमा कार्यरत विकास साझेदारहरु र सरकार समेतको पहलमा साबुन पानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाइ सम्बन्धी जनचेतना जगाउने कार्य गर्दा गर्दै पनि त्यसमा उल्लेखनीय उपलब्धि हासिल हुन सकेको थिएन । कोरना भाइरसबाट फैलिने महामारीले गर्दा सबै मानिसले साबुन पानीले हात धुन थालेको पाइयो । तर, कोरनाको प्रभाव तथा असर घट्दै जाँदा सो आनीबानीमा निरन्तरता नहुने देखिन थालेको छ ।

यसैगरी, खासगरी वर्षायाममा फैलिने हैजा, झाडापखाला जस्ता पानीजन्य रोगहरुले प्रत्येक वर्ष थप्ने चुनौतीको चाङ पनि ठूलै छ । दुर्गम क्षेत्रहरुमा मात्र पानीजन्य रोगव्याधि फैलिन्छ भन्ने मान्यतालाई गलत साबित गर्दैयस वर्ष संघीय राजधानी समेत हैजाको प्रभावबाट अछुतो रहेन । यहाँको फोहोर व्यवस्थापनमा हुने गरेको कमजोरी, खानेपानीको गुणस्तरमा जनचासो नहुनु जस्ता कारणहरुले पानीजन्य रोगहरु फैलिएको तथ्य निर्विवाद छ ।

यो यथार्थलाई मनन गर्दा, यस क्षेत्रको प्राथमिकता के हुने ? र त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भन्ने महत्वपूर्ण प्रश्न उब्जिएको छ । यस सन्दर्भमा, खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका वर्तमान प्राथमिकताहरू र कसरी यस क्षेत्रले यी प्राथमिकताहरूलाई दिगो रूपमा सम्बोधन गर्न सक्छ भन्ने विषयको विवेचना यस आलेखमा गरिएको छ ।

प्राथमिकता

खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रका वर्तमान प्राथमिकताहरू नेपालको संविधान, वास क्षेत्र विकास योजना (WASH Sector development plan, SDP),र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (UN Sustainable development goals, SDGs) मा उल्लिखित प्रावधानरलक्ष्यहरू प्रमुख हुन् । यसका अतिरिक्त, समय सन्दर्भले समेत प्राथमिकताहरू थप हुने वा परिस्कृत हुने गरेको हुन्छ ।

नेपालको संविधानले सुरक्षित खानेपानी र सरसफाइमा पहुँचलाई मौलिक हकको रूपमा मान्यता दिएको छ । संविधानको धारा ३५ मा ‘स्वास्थ्य सम्बन्धी हक’ समावेश गरिएको छ । यसको उपधारा (४) अनुसार ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँचको हक हुनेछ’ । त्यसैगरी, धारा ३० मा ‘स्वच्छ वातावरणको हक’ समावेश गरिएकोछ । जसनुसार, (१) प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । (२) वातावरणीय प्रदूषण र ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदुषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

वास क्षेत्र विकास योजनाको अवधि सन् २०१६ देखि २०३० रहेको छ । यसमा तीन चरणहरू रहेका छन् । पहिलो चरण ९२०१६(२०२०० ले आधारभूत वास सेवाहरूको पहुँच र सुधारिएको सेवा स्तर, पुनर्निर्माण सतप्रतिशत जनतामा पुर्‍याउनेलक्ष लिइएको छ । दोस्रो चरण (२०२१-२०२५) मा सुधारिएको सेवा स्तर (मध्यम/उच्च), कार्यक्षमता र दिगोपन समेटिएको छ । त्यसैगरी, तेस्रो चरण (२०२६-२०३०) ले सुधारिएको सेवा स्तर र प्रभाव मूल्याङ्कनलाई समेट्छ । सुधारिएको खानेपानी सेवामा राष्ट्रिय मापदण्ड अनुसार पानीको गुणस्तर कायम गर्ने उच्च-मध्यम स्तरको सेवा सहितको सुरक्षित खानेपानी समावेश छ ।

संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्यहरू (SDGs) तर्जुमा गरेको छ । जसमा, प्रस्तावित १७ लक्ष्यहरू भविष्यको विकाससँग सम्बन्धित छन् । जसले नयाँ अन्तर्राष्ट्रिय विकास एजेन्डाको मापन र महत्वाकांक्षा प्रदर्शन गर्दछ । तिनीहरू एकीकृत र अविभाज्य छन् । दिगो विकासका तीन आयामहरू- आर्थिक, सामाजिक र वातावरणीयलाई सन्तुलनमा राख्छन् । यी दिगो विकास लक्ष्यहरूले परिकल्पना गरेको छ, जहाँ सुरक्षित खानेपानी र सरसफाइलाई मानव अधिकारको रुपमा समेटिएको छ । प्रस्तावित १७ दिगो विकास लक्ष्यहरू मध्ये लक्ष्य ६ सुरक्षित खानेपानी र सरसफाइको रूपमा समावेश गरिएको छ ।


दिगो विकासको छैठौं लक्ष्य भनेको सबैका लागि खानेपानी र सरसफाइको उपलब्धता र दिगो व्यवस्थापन सुनिश्चित गर्नु हो । जसमा आठ उप-लक्ष्यहरू समावेश छन्, जुन सन् २०३० सम्ममा प्राप्त गर्ने अपेक्षा गरिएको छ । ती हुन् :

१) सबैका लागि सुरक्षित र किफायती खानेपानीमा समतामूलक पहुँच प्राप्त गर्नु पर्नेछ ।

२) सबैका लागि पर्याप्त र समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच हासिल गर्ने र खुल्ला दिसाको अन्त्य गर्ने, महिला र बालिका र जोखिममा परेकाहरूको आवश्यकतालाई विशेष ध्यान दिनु पर्नेछ ।

३) प्रदूषण घटाएर, फोहोर घटाउने, र खतरनाक रसायन र सामग्रीको निकासीलाई न्यूनीकरण गरेर, प्रशोधित फोहोर पानीको अनुपातलाई आधा घटाएर र विश्वव्यापी रूपमा प्रशोधित र सुरक्षित पुनस् प्रयोगमा उल्लेखनीय वृद्धि गरेर पानीको गुणस्तर सुधार गर्नु पर्नेछ ।

४) पानीको अभावलाई सम्बोधन गर्न र खानेपानी अभावबाट पीडित मानिसहरूको सङ्ख्यालाई पर्याप्त रूपमा घटाउनका लागि सबै क्षेत्रहरूमा पानीको उपयोग दक्षतामा पर्याप्त वृद्धि गर्ने र दिगो निकासी र ताजा पानीको आपूर्ति सुनिश्चित गर्ने।

५) सीमापार सहयोग लगायत सबै तहमा एकीकृत जलस्रोत व्यवस्थापनलाई उपयुक्त रूपमा कार्यान्वयन गर्ने ।

६) पहाड, जङ्गल, सिमसार, नदी, जलचर र तालहरू लगायत पानीसँग सम्बन्धित इकोसिस्टमको संरक्षण र पुनर्स्थापना गर्नुपर्नेछ ।

७) पानी र सरसफाइ सम्बन्धी गतिविधि र कार्यक्रमहरूमा विकासोन्मुख देशहरूलाई अन्तर्राष्ट्रिय सहयोग र क्षमता अभिवृद्धि, सहयोग विस्तार गर्नु पर्नेछ, जसमा पानी भण्डारण, फोहोर पानी प्रशोधन, पुनस् प्रयोग, र पुन: प्रयोग प्रविधिहरू समावेश छन् ।

८) खानेपानी तथा सरसफाइ व्यवस्थापनमा सुधार गर्न स्थानीय समुदायको सहभागितालाई सुदृढ गर्ने ।

समय सन्दर्भ अनुसार, प्रकोप तथा महामारीले गर्दा पनि यस क्षेत्रको प्राथमिकताहरू परिवर्तन हुने गरेको देखिन्छ । कोभिड महामारीको बेला होस् वा हैजा तथा झाडा पखाला महामारीको बेला होस् वा अन्य यस्तै किसिमको महामारीहरुको बेला यस क्षेत्रको प्राथमिकताहरू परिवर्तित एवं परिस्कृत हुने गर्दछ । नीतिगत व्यवस्था र समयनुकुल परिवर्तित प्राथमिकताहरू समेटेर यस क्षेत्रको सम्पूर्ण प्राथमिकताहरू निर्धारण गर्न सकिन्छ ।

अबको बाटो

समय क्रममा, यस क्षेत्रका प्राथमिकताहरू बढ्दै गएका वा परिस्कृत हुने गरेका छन् । भावी पुस्ताका लागि वातावरणलाई ध्यानमा राख्दै मानिसहरूलाई अझ बढी खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी सेवा-सुविधहरुमा पहुँच पुर्‍याउनु पर्ने आवश्यकता छ।

विगत तीन दशकमा नेपाल वास क्षेत्रको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । सरकार, विकास सझेदारहरु र उपभोक्तहरुको संलग्नता एवं सहकार्यमा आधारभूत सरसफाइमा ६ प्रतिशत (सन् १९९०) बाट सतप्रतिशत (सन् २०१९) प्रगति भएको छ । त्यसैगरी, खानेपानी आपूर्तिमा ४६ प्रतिशत (सन् १९९०) बाट ९४ प्रतिशत (सन् २०२२) सम्म आधारभूत खानेपानीको सुविधा पुगेको छ । उच्चस्तरको खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउन थप कार्य गर्नु पर्ने अवस्था देखिन्छ।

खानेपानी उपभोक्ता समितिहरूले बढीभन्दा बढी महिला र सीमान्तकृत समूहहरूको प्रतिनिधित्व गर्ने भएकाले यो क्षेत्र थप समावेशी भएको छ । तैपनि पहुँचमा असमानता, सेवामा असमानता, पानीको गुणस्तर, प्रणालीको कार्यक्षमता र दिगोपन र उपलब्ध गराइने सेवाहरूको गुणस्तर यस क्षेत्रका प्रमुख चुनौतीहरू हुन् । यी क्षेत्रीय चुनौतिहरूको सामना गर्न, नेपाल वास क्षेत्रले प्रभावकारी र कार्यात्मक वास सेवाहरूको प्रवाह गर्नु पर्ने अवस्था देखिन्छ ।

यसले पानीको सुरक्षा योजनालाई कार्यात्मक राख्नका लागि खानेपानी प्रणालीहरूको मर्मत र दिगोपन पनि समावेश गर्दछ। यस क्षेत्रलाई क्षेत्र विकास योजना (SDP) र दिगो विकास लक्ष्यहरू (SDGs) सँग जोड्ने एकीकृत वास परियोजनाहरू लागू गरेर यी प्राथमिकताहरू हासिल गर्न सकिन्छ । यसरी यस क्षेत्रले वातावरण र जनस्वास्थ्यको क्षेत्रमा एकीकृत कार्यक्रमहरू मार्फत अनुसन्धान र कार्यको संयोजन गरेर दिगो सामुदायिक विकासमा योगदान पुर्‍याइ लक्ष्य प्रप्ति गर्न सक्छ।

त्यसैगरी, सुधारिएको सरसफाइ र स्वच्छता सेवामा सहजीकरण र सचेतना जगाउन थप आवश्यकता रहेको छ । स्थानीय सरकारको समन्वयमा खुला दिसामुक्त (ODF) क्षेत्रलाई दिगो बनाउनु पर्छ । त्यसैगरी, ५ं+१ सूचकहरुका आधारमा सरसफाइको अवस्थालाई क्रमशः सुधार गर्नु पर्ने देखिन्छ । अनुसन्धान कार्य मार्फत पुर्ण सरसफाइमा थप योगदान गर्न सकिन्छ । ती मध्ये पाँचवटा सूचकले सफा हात, सफा पानी, सफा खाना, सफा घर र सफा शौचालय र त्यसका लागि अभ्यास सहित घरायसी स्तरमा सरसफाइलाई जनाउँछ । थप एउटा सूचकले सामुदायिक स्तरमा ठोस फोहोर र तरल फोहोरको व्यवस्थापन, खुला दिसा नियन्त्रण, मलको व्यवस्थापन र खानेपानी सुरक्षा योजना लागू हुने लगायतका सरसफाइलाई जनाउँछ।

प्राविधिक र नवीन प्रयोग अर्को क्षेत्र हो जहाँ उत्कृष्ट सेवाहरूका लागि नयाँ पर्यावरणमैत्री प्रविधिहरू आविष्कार गरेर योगदान गर्न सकिन्छ । उदाहरणका लागि, पानीको गुणस्तर परीक्षणका उपकरणहरू, मोबाइल डाटा सङ्कलन उपकरणहरू, अनुगमनमा अभिनवहरु, घर भित्र र बाहिरको वायु गुणस्तर परीक्षण उपकरण, नेपालका स्थानीय तह सम्म प्रयोगशालाको विस्तार वा पर्यावरण अनुकूल प्रविधिहरू प्रवर्द्धन गर्न मोबाइल प्रयोगशाला, आदि ।

बदलिँदो विश्वव्यापी र राष्ट्रिय परिप्रेक्ष्यमा जलवायु परिवर्तन, स्वास्थ्य, शिक्षा, कृषि, पोषण, वातावरण, उधमशीलता, सामाजिक समावेशीकरण लगायतका अन्य क्षेत्रहरू सहित वासक्षेत्रका प्राथमिकताहरू क्रमशः वासबाट वास प्लस (WASH Plus) मा परिवर्तन हुदै गैरहेकाछन् । जसनुसार, अन्य क्षेत्रहरूलाई समेत समेटेर वासप्लस सेवाहरू मार्फत प्रथामितकताहरु हासिल गर्न सकिन्छ ।

यसबाहेक, कोरोनाभाइरस महामारीले जीवनको गुणस्तरलाई राम्रो बनाउनका लागि यस्तो प्रकारको महामारीबाट बच्न वास क्षेत्रको सधैं महत्त्वपूर्ण भूमिका रहेको देखाउँछ । महामारीले सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता विशेष गरी हात धुने बारे सचेतना बढाएको छ । यो अर्को क्षेत्र हो, जहाँ उत्कृष्ट सेवाहरूको साथ योगदान गर्न सकिन्छ ।

ग्रामीण तथा सहरी क्षेत्रमा फोहोर व्यवस्थापनका अ-आफ्नै खालका समस्याहरू रहेका छन् । सहरी क्षेत्रमा घर पालुवा कुकुर तथा छाडा कुकुरको खुला दिशा व्यवस्थापन आवश्यक देखिन्छ । सहरी क्षेत्रमा पालुवा कुकुरलाई बिहान-बेलुका खुला दिशा गराउने गरेको आम रुपमा हेर्न पाइन्छ । फोहोर नेपालको सहरी र अर्धसहरी क्षेत्र दुबैमा समाधान नभएको समस्या हो । स्वस्थ समाज निर्माण गर्न नवीकरणीय उर्जा, जस्तै बायोग्यास तथा यसबाट बिजुली उत्पादन आदिसँग जोडेर थप योगदान दिन सकिन्छ । जसले यस क्षेत्रको प्राथमिकताहरूलाई सम्बोधन गर्न सकिन्छ ।

उपसंहार

संक्षेपमा भन्नुपर्दा, खानेपानी, सरसफाइ र स्वच्छता सेवा-सुविधाहरूमा सुधार गर्ने तर्फ सचेतना कार्यक्रम संचालन, समयानुकुल प्रविधि र पद्दतीको प्रयोग, ठोस फोहोर व्यवस्थापन र यसलाई नवीकरणीय ऊर्जासँग जोड्ने लगायातका कार्य गरेर सुधारिएको वास सेवाहरूमा पहुँच बढाउन र दिगो बनाउन योगदान दिन सकिन्छ ।

त्यसैगरी, बदलिँदो परिवेश अनुरुप जलवायु परिवर्तन, कृषि, पोषण, उधमशीलता, सामाजिक समावेशीकरण लगायतका अन्य क्षेत्रहरू सहित वास प्लस कार्यक्रम संचालन गरी यस क्षेत्रका प्राथमिकताहरू अनुसार उपलब्धी हासिल गर्न सकिन्छ । प्राकृतिक प्रकोप तथा कोभिड जस्ता महामारीसंग जुध्नका लागि पूर्व तयारी गरेर गर्न सकिन्छ । त्यसैगरी, कोरना कहरले सिकाएको आनीबानीलाई न्यू-नर्मलको रुपमा निरन्तरता दिन सकेमा महामारीबाट जोगिन सजिलो हुनेछ ।

लेखक संयुक्त राष्ट्र संघ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा करीब दुई दशकको अनुभव हासिल गर्नु भएको छ, जस मध्ये विगत १४ वर्ष देखि खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार