हैजा रोकथामका लागि ‘बुथ क्याम्प’, ६३ वटा इनारमा बकेट क्लोरिनेसन


ललितपुर : हैजा फैलिन नदिन र स्वस्थ आनीबानी अपनाउनका लागि जनस्तरमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाको भित्री बस्ती भएका वडाहरु तथा बाहिरी वडाहरु समेत “बुथ क्याम्प” सञ्चालन गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग र स्थानीय सरकार सँगको सहकार्यमा शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्) ले सञ्चालन गरिरहेको “Achieving Resilient and Water Safe Communities in Urban and Peri-urban areas of Lalitpur District” ” परियोजना अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरी बुथ क्याम्प सञ्चालन गरिएको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा हैजाका विरामी भेटिन थालेको पुष्टि भएपछि “हाम्रो स्वास्थ्य, हाम्रै हातमा, हैजा रोकथाम गर्न जुटौं साथमा” भन्ने सन्देश सहित हैजा रोकथामका लागि विभिन्न सचेतमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको युम्सले जनाएको छ ।

युम्सले स्थानीयले प्रयोग गर्ने इनारको पानी शुद्धिकरणका लागि ६३ वटा इनारमा बकेट क्लोरिनेसन गरिएको छ भने १०० वटा क्लोरिन झोल पनि निशुल्क बाँडिएको छ । यस्तै पानी परिक्षणका लागि प्राप्त १२७ पानीका नमूना मध्ये ३३ वटा (२६ प्रतिशत) मा दिसाजन्य सुक्ष्म किटाणु कोलिफर्म भेटिएका छन् ।


बुथ क्याम्पमा हैजाबाट बच्ने उपायहरुबारे जानकारी दिने पर्चा, पानी शुद्धिकरणका घरेलु विधिहरु, खाना स्वच्छता लगायतका पोष्टर, पम्प्लेट मार्पmत जानकारी दिने तथा पर्चा, पम्प्लेट वितरण गरी घर–घरमा सन्देश पुर्‍याईरहेको छ ।

बुथमा हैजा रोकथाम सम्बन्धी जानकारी दिनुका साथै वर्षायाममा खानेपानीको श्रोत प्रदुषण हुन सक्ने जोखिमलाई मध्यनजर गरी खानेपानीको परिक्षण र तिनको नतिजाबारे जानकारी दिने गरिएको छ । बुथमा आएर समुदायले हैजा सम्बन्धी जानकारी हासिल गर्ने, आफ्नो खानेपानीमा दिसाजन्य सुक्ष्म किटाणु भए, नभएको परिक्षण गर्नुका साथै जोखिमयुक्त अवस्थामा साबुन पानीले मिचिमिची हात धुने तरिकाको प्रयोगात्मक प्रदर्शनी भईरहेको र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी खेलको माध्यमबाट पनि जनचेतना अभिबृद्धि गराईरहेको युम्सले जनाएको छ ।

असार महिनाको दोश्रो हप्तादेखि शुरु भएको यो बुथ क्याम्प भाद्र महिनाको दोश्रो हप्तासम्म सञ्चालन हुनेछ । हालसम्म बुथ क्याम्पबाट २ हजार जनाले सेवा लिएका छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार