
गोदावरी प्रावल्य वासको टोली स्वीडेनमा खानेपानी, सरसफाइ र ठोस फोहोर व्यवस्थापनमा भएका नविनतम प्रविधिहरु, राम्रा अभ्यास र सिकाईहरुको अवलोकन भ्रमण तथा उच्च स्तरीय भेटघाट गरि नेपाल फर्किएको छ ।
गोदावरी नगरपालिकाको नगर प्रमुखको नेतृत्वमा गोदावरी नगरपालिकाबाट ५ जना र वाटर नेपालको राष्ट्रिय निर्देशक सहित २ जना गरि जम्मा ७ जनाको टोलि नेपालबाट श्रावण ३१ गते स्वीडेन तर्फ प्रस्थान गरेको थियो । भ्रमण टोलीले स्वीडेनको स्टकहोम अवस्थीत स्वीडीस वाटर एसोसियसन, सिडा र वाटर एड स्वीडेनमा गोदावरी नगरपालिकामा खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापनको क्षेत्रमा कसरी काम भईराखेको छ भनेर विशेष प्रस्तुतिकरण तथा छलफल गर्नुभएको थियो ।
उत्त क्रममा स्वीडिस वाटर एसोसिएसनमा भएको छलफल तथा प्रस्तुतीकरणको क्रममा यस संस्थाका कार्यकारी प्रमुख श्री पार डालहिमले स्वीडीस वाटर एसोसियसनले स्वीडेनका २९० नगरपालिकामा खानेपानी र दिसाजन्य लेदो व्यवस्थापनमा काम गर्ने कम्पनीहरुलाई निती तथा कार्यविधि निर्माण साथै युरोपियन युनियनका मापदण्डहरुलाई कसरी स्थानीयकरण गर्न सकिन्छ साथै एक नगरपालिकाको सिकाईलाई अन्य नगरपालिकामा कसरी लैजान सकिन्छ भनेर प्रस्तुतीकरण दिनुभएको थियो ।
उत्त कार्यक्रममा नेपालमा खानेपानी, सरसफाइ तथा ठोस फोहोर व्यवस्थापनमा काम गर्ने संस्थाहरुले कसरी स्वीडेन भएका राम्रा अभ्यासहरुलाई सिक्न सक्छन् भन्ने विषयमा गहन छलफल भएको थियो । सिडाको केन्द्रिय कार्यालयमा भएको छलफलमा वाटर एड नेपालका राष्ट्रिय निर्देशक तृप्ती राईले वाटर एड नेपालले कसरी नेपालका तिन तहका सरकारहरुसँग खानेपानी, सरफाइ तथा स्वच्छता काम गरेको छ भन्ने विषयमा प्रष्ट पार्नु भएको थियो ।
वाटर एड स्विडेनको कार्यालयमा गोदावरी नगरपालिकाको नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोदावरीमा खानेपानी, सरसफाइ तथा स्वच्छताको ऐन निर्माण कार्यान्वयनको चरणमा रहेको जानकारी गराउनु भएको थियो ।

दुई दिन स्टकहोमा उच्च स्तरीय भेटघाट तथा गहन छलफल पश्चात टोलि स्वीडेनको उत्तरी भागमा अवस्थीत उमीयो नगरपालिकामा गएको थियो । स्टकहोमबाट करिवन १ घण्टाको हवाईदुरीमा रहेको यस सुन्दर र शान्त शहरमा तिनवटा नगरपालिकाका करिवन एक लाख जनसंख्यालाई खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा काम गरिरहेको कम्पनी भाकीनले स्वागत सत्कार सहित रात्री भोजको आयोजना गरेको थियो ।
रात्री भोजमा भाकीन संस्थाका कार्यकारी प्रमुख सहित उच्च पदमा कार्यरत कर्मचारीहरु हुनुहुन्थ्यो । रात्रीभोजको समापनमा गोदावरी नगरपालिकाको प्रमुख श्री गजेन्द्र मर्हजनले भाकीनसँगबाट गोदावरी नगरपालिकाले धेरै कुराहरु सिक्न सक्ने र यो साझेदारीलाई लामो समयसम्म कायम राख्नु पर्ने वताउनु भएको थियो

नेपाली टोलिलाई भाकीनको कार्यालयमा उक्त संस्थाका कार्यकारी प्रमुख रोर्वट हानसन, कार्यकारी अध्यक्ष पर इरीक जोहनसन, उमीयो नगरपालिकाको अन्तराष्ट्रिय सम्वन्ध हेर्न कार्थिन एलेन्सकर लगाएत भाकीन संस्थाका उच्च ओहोदामा वस्ने कर्मचारीको उपस्थितिमा उमीयो नगरपालिकाले सन् २०५० सम्मको लागि राखेको दुरदृष्टि, भाकिन संस्थाले दिगो विकास अन्तरगत दिगो शहर निर्माणलागि चालेका र भविष्यमा चाल्न सक्ने कदमहरुको वारेमा प्रस्तुतिकरण भएको थियो । नेपाली टोलीले पनि गोदावरी नगरपालिकाको परिचय, उद्देश्य सहित गोदावरी प्रावल्य वास परियोजनमा भएका गतिविधिहरुको वारेमा जानकारी गराउनु भएको थियो ।
७ दिनको भ्रमणको क्रममा नेपाली टोलिहरुलाई कहिले सवै टोलि एकै स्थानमा भने कहिले टोलिलाई विभाजन गरि खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापनमा भएका नवितन प्रयास, सिकाइ र अभ्यासहरुलाई अवलोकन गर्ने मौका प्रदान गरिएको थियो । समग्रमा भ्रमण सफल रहेको गोदावरी नगरपालिकाको टोलिहरुले वताउनु भएको छ । टोलीका सदस्यहरुले खानेपानी, दिसाजन्य लेदो व्यवस्थापन र ठोस फोहोर व्यवस्थापनमा भएका अभ्यासहरुबाट प्रभावित भएको भन्दै निम्न कुराहरु भन्नुभएको थियो ।

१. खानेपानी
टोलीका सदस्यहरुलाई उमीयो शहरबाट करिवन २० किलोमिटरको दुरीमा रहेको सानो गाँउको एक घरमा पानी कसरी प्रयोग गरिन्छ भनेर अवलोकन भ्रमण गराईएको थियो । टोलिले त्यहाँ प्रयोग हुने पाईप, त्यसको गहिराई, घरमा राखेको प्रेसर र पानीको मिटरको अवलोकन गर्नुभएको थियो । साथै भाकिन संस्थाले जमिनमुनिबाट पानी लिएर कसरी वितरण गर्छ, शुद्धिकरणका प्रक्रियाहरु के छन् ।
पानीको स्रोतहरुको संरक्षणमा के के प्रयासहरु भएका छन् भनेर स्थलगत भ्रमण गरेको थियो । उत्त क्रममा नेपालीले टोलीले नमुना संलन गरि परिक्षण पनि गरेको थियो । ती नमुनाहरुको परिक्षण कसरी गर्दछन् भनी हेर्नुको साथै प्रयोग गर्नु भएको थियो । गोदावरी नगरपालिकाको ईन्जिनीयरहरु सिताराम कार्की, अनिता वोहोर र सुनिल श्रेष्ठले भाकीन संस्थासँग रहेका सामाग्रीहरु, संस्थाका कर्मचारीहरुको खटाई, र पाईपहरु जोड्दा उनीहरुले पानी दुषित हुन्छकी भनेर गरेका अभ्यासहरुबाट सारो प्रभावीत भएको वताउनु भएको थियो ।
पानीका सवै संरचनाहरुको डिजीटलाईजीकरण, तथ्याङहरुको संकलन तथी तथ्याङको आधारमा गरिने निर्णयहरु आफैमा सिक्न लाएक कुराहरु थिए । भ्रमणको क्रममा टोलीले उमीयो नदीलाई कसरी संरक्षण गरिएको छ । ती नदीहरुलाई पर्यटक लोभ्याउन कसरी कामहरु भएका छन् भन्ने कुराहरु नेपाली टोलीलाई देखाउनको लागि नदीको तिरमा हिडाएको थियो ।
साथै उमीयो शहर देखि करिवन ७५ किलोमिटरको दुरीमा रहेको स्वीडेनको ठूला नदीहरु मध्यको भिन्डल नदीको अवलोकन साथै त्यो नदी र त्यस आसपासमा भएका अन्य पानीका स्रोतहरुको तथ्याङ कसरी संकलन गरिन्छ ।
यस नदीलाई सधैभरी जिवन्त गराउनको लागि के प्रयासहरु भएका छन् त्यसको वारेमा जानकारी गराईएको थियो । जमिनमूनिको पानी निकाले पनि त्यो पानीलाई पुर्नभरण गरी जमिनमूनिको पानीको सतह सदै एकनाश कायम राख्नको लागि भाकीन संस्थाले गरेका प्रयासहरुलाई स्थलगत अवलोकन गरिएको थियो । संस्थाका टोलिहरुले स्वीडेनको वसाईमावाथरुममा भएको वेसीनको धाराबाट सिधै पानी पिउदा पनी कुनै प्रकारको अप्ठ्यारो भनौ पेटसम्वन्धी वा अन्य कुनै प्रकारको शरीरमा लक्षण नदेखिएपछि सवै भ्रमण टोलिका सदस्यहरु पानीको गुणस्तरबाट प्रभावित हुनुभएको थियो ।
२. सरसफाइ तथा दिसाजन्य लेदो व्यवस्थापन
दिसाजन्य लेदो व्यवस्थापनमा कसरी काम भएको छ भन्ने देखाउनको लागि भ्रमण टोलिलाई भाकिन संस्थाले संचालन गरेको सवै भन्दा ठूलो (2000 m3 per hour) दिसा जन्य लेदो प्रशोधन केन्द्रमा स्थलगत अवलोकन भ्रमण गर्ने मौका मिलेको थियो । यस केन्द्रबाट फस्फोरस, वायोग्यास र विद्युत कसरी उत्पादन गरिन्छ तथा सुकेको दिसा जन्य लेदोलाई मलको रुपमा कसरी प्रयोग गरिएको छ भने स्थलगत अवलोकन भ्रमण गरीएको थियो ।
केन्द्रमा कम गन्ध आउने कसरी वनाउने सकिन्छ भनेर धेरै नवीनतम प्रविधिहरुको प्रयोग पनि भएको थियो । भ्रमण टोलिले उमीयो शहर भन्दा टाढा त्यहाँको गाउमा संचालन भएको दिसा जन्य लेदो प्रशोधन केन्द्रको स्थल गत अवलोकन गरेको थियो । मानिस अथवा जनावरको दिशाले प्रदुषण नहोस भन्ने हेतुले धेरै प्रयासहरुको थालनी गरिएको थियो । भविष्यमा आईपर्ने जलवायु परिवर्तनले ल्याउन सक्ने असरको वारेमा उनीहरु सचेत र त्यो असरको सामना गर्नको लागि तत्पर पनि थिए ।

३. फोहोर व्यवस्थापन
फोहोर व्यवस्थापनमा कसरी काम भएको छ भनेर वुझ्नका लागि भ्रमण टोलि घर देखि पुन प्रयोग केन्द्र सम्मको अवलोकन गरेको थियो । टोलीले भाकीन संस्थाका कर्मचारीको घरमा कसरी फोहोरहरुलाई वर्गीकरण गरिन्छ भनेर प्रत्यक्ष अवलोकन गरेको थियो । जहाँ टोलिले साना साना कपडा जस्ता देखिने झोलाहरुमा पलाष्टिकका वोतलहरु, पेय पर्दाथका वोतलहरु राखेको देखेका थिए ।
प्रत्यक्ष वार्तालापको क्रममा घरधनीले यी सगालेका वोतलहरुलाई नजिकको कुनै सामान किन्न महल वा अन्य केन्द्रमा लगेर वेच्दा पैसा आम्दानी हुन्छ भन्नुभएको थियो । घरमा फोहोर संकलन गर्न आउनेहरुले फोहोर संकलन गर्दा तौल गरेर लिदा रहेछन् । फोहोर वर्गीकरण गर्न, फोहोर न्युनिकरण गर्न र सकेसम्म नयाँ कपडाहरु धेरै नकिन्न अभियान संचालन गरेका रहेछन् । टोलिले उमीयो शहरको सवैभन्दा ठूलो फोहोर पुन प्रयोग केन्द्र क्लोकरवाकीन स्थलगत अवलोकन गरेको थियो ।

त्यहाँ काममा आउने सवै जसो सामाग्रीहरुलाई वर्गीकरण गरिएको थियो । त्यहाँ कतिपय नयाँ नयाँ सामाग्रीहरु पनि स्थानीयहरुले लैजादा रहेछन् । जव यस केन्द्रमा सामान लगेर छोडिन्छ तव यो सवै सामानको जिम्मा केन्द्रलाई जाने रहेछ । मानीहरुले आफ्नो निजी सवारी साधानको प्रयोग गरेर सामान त्यहाँ पु¥याउने रहेछन् ।
केन्द्रमा विशेष गरेर तरल पर्दाथ जुन कुरा पत्ता लगाउन गाह्रो हुन्छ त्यसको लागि रसायनशास्त्रका विज्ञहरुको प्रयोग गरि ती तरल पर्दाथहरु पहिचान गर्ने रहेछन् । संकलन भएका पुन प्रयोग गर्न मिल्ने कपडाहरु लिन आउने एक स्थानीय कम्पनी रहेछ । यस कम्पनीले यी कपडाहरु वेचेर नाफा गरेको पैसा अन्य देशमा गरिवहरुलाई सहयोगको लागि प्रयोग गर्दो रहेछ ।
भ्रमण टोलीलाई डाभा फोहोर संकलन केन्द्रको स्थलगत अवलोकन गर्ने मौका मिलेको थियो । जव कुनै पनि फोहोर कहि पनि काम लाग्ने छैन । त्यस पश्चात ती फोहोरहरुलाई यस केन्द्रमा लगिदो रहेछ । विशेष गरेर उद्योगहरुबाट निस्कने फोहोर, खतराजन्य फोहोरहरु आदि । यहाँ उनीहरुले जल्ने फोहोरलाई ईन्सिनेरटरको प्रयोग गरि जलाउने रहेछन् त्यसबाट उर्जा र विद्युत निकाल्ने रहेछन् ।
उनीहरुको भनाईमा उत्पादित विद्युतले उनीहरुको सवै प्रणाली चलेको रहेछ । यहाँ नर्वे देखि फोहोर आउने रहेछ जुन दुरीको हिसावले करिवन ५०० किलोमिटर जति हो । उत्पादित उर्जालाई उनीहरुले जिल्ला स्तरीय ताप प्रणालीमा जोडिएको रहेछ ।
२ लाख ५० हजार टन वार्षिक फोहोर यस केन्द्रमा संकलन हुने रहेछ । केन्द्रमा जम्मा ८ जना कर्मचारीहरुले फोहोर संकलन केन्द्रसंञ्चलान गर्नेरहेछन। केन्द्रमा काम गर्ने कर्मचारीहरुलाई गन्ध नआओस भनेर उनीहरुले दुषित गन्ध नआओस भनेर विभिन्न प्रविधिहरु अपनाएको छ ।
ईन्सिीनेटरमा जलाउन पनि नमिल्ने फोहोरहरुलाई उनीहरुले डम्प गर्दा रहेछन् । त्यहा विशेष प्रकारको माटोले छोपी त्यहाँ साना साना छिद्रहरु निर्माण गर्दा रहेछ । त्यहाँबाट निस्केको लिचेटलाई पुन प्रशोधन गरेका रहेछन् । यस केन्द्रका व्यवस्थापकले युरोपियन युनियनको फोहोर व्यवस्थापन सम्वन्धि कार्यविधि अनुसार काम गरेको वताए । यदि कसैले फोहोर यस केन्द्रमा फाल्न ल्याउछ भने उसले तौल अनुसार पैसा दिने रहेछ ।
त्यस केन्द्रमा राखिएका विगतका तस्वीरहरु, हालमा त्यो केन्द्रमा भएको प्रगतिले गर्दा संसारमा कुनै पनि वस्तु काम नलाग्ने भन्ने नै छैन भन्ने निष्र्कषमा पुग्न सकिन्थयो । त्यस केन्द्रमा व्यवस्थापकले भविष्यमा केन्द्र कस्तो वन्नेछ भनेर एक भिजिवल तस्वीर देखाए जहाँ उनले फोहोर व्यवस्थापन सम्वन्धि अध्ययन गर्ने विश्वविद्यालय वनाउन खोजेको देखीन्थ्यो । नेपाली टोली यो केन्द्रबाट आउदा धेरै प्रभावीत भएको पाईयो ।

उमीयो शहरको दिर्घकालीन योजना र लैङीक समानता सुनिश्चित गर्नको लागि भएका प्रयासहरु
नेपाली टोलिका केहि सदस्यहरुले उमीयो शहरमा कसरी डिजीटाईजेन गरिदै छ त्यसको वारेमा विशेष प्रस्तुतिमा भाग लिने मौका पाए । साथै अन्तराष्ट्रिय सम्वन्ध हेर्न कार्थिनले यस शहरको दृघकालिन योजना के छ भनेर प्रस्तुत गर्नुभयो । उनीहरुले प्रस्तुत गरेर सन् २०५० सम्म २ लाख जनसंख्या जुन अहिले कायम भएको जनसंख्याको दोब्बर जनसंख्या हो ।
उनीहरुले उमीयो शहरलाई सन् २०१६ मा युरोपको सास्कृतिक शहर घोषणा गरेका रहेछन् । साथै यस शहरलाई वहुसाँस्कृति, वहुभाषिक वनाउने लक्ष्यका साथ काम गरिरहेको करा जानकारी गराए । नेपालमा लैङिक समानता कायम गर्न पर्दछ भनेर कुरा भईराखेपनि वास्तविक धरातलमा कसरी लागु हुन्छ त लैङिक समानता भन्ने हेर्न नपाएको अवस्थामा यहाँ प्रष्टसँग निति निर्माण देखि कार्यान्वय तहमा कसरी काम भएको छ भने भ्रमण टोलिलाई अवलोकन गराईएको थियो ।
जस्तो पार्कहरु निर्माण गर्दा त्यहाँ महिलाहरुको सहभागीता, वालिकाहरुलाई वस्न मिल्ने स्थानहरु फरक तरिकाबाट निर्माण गरिएको रहेछ । कुनै पनि संरचना आफैमा एक विशेषता सँग जोडिएको थियो । साना साना अभ्यास र व्यवहारमा पनि लैङिक समानता कायम गर्ने हिसावले काम गरेको प्रष्ट देखिन्थ्यो ।
यो भ्रमणको सम्पूर्ण आर्थिक पक्ष युरोपीयन युनियनको आर्थिक सहयोगमा युनहविटाटको सहजकरणमा स्वीडनको उमीयो स्थीत भाकीन संस्थाले आयोजना गरेको थियो । गोदावरी प्रावल्य वास परियोजनाको साझेदार संस्थामा रहेको भाकिन संस्थाले यस परियोजनामा प्राविधिक सहयोग पनि गरेको छ । गोदावारी नगरपालिकाबाट भ्रमण सहभागी ईन्जिनीयरहरुले भाकिनका कर्मचारीहरुसँग वसेर यस परियोजनाका दृघकालिन योजनामा छलफल, परामर्श र भावि योजना पनि निर्माण गरेका छन् ।
साथै प्रमुख प्रशाशकिय अधिकृतले यस भ्रमणबाट सिकेको कुरालाई कसरी गोदावरी नगरपालिकामा लागु गर्न सकिन्छ भनेर योजना सुनाउनु भएको थियो । सहभागीहरुको राय अनुसार निम्न लिखित वुदाहरु गोदावरी नगरपालिकामा गएर लागु गर्न सकिन्छ भन्नु भएको थियो ।
उमीयो शहर अवलोकन क्रममा
१. एक घर एक धाराको योजनालाई तिव्रता तिदै हरेक घरमा मिटर प्रणालीबाट पानीको वितरणलाई तिव्रता दिने । लेले खानेपानी परियोजनाको व्यवसायीक योजना निर्माण गरि उपभोक्तालाई सक्षम वनाउने ।
२. दिसाजन्य फोहोर व्यवस्थापनको लागि केन्द्र निर्माण प्रकृयालाई तिव्रता दिने ।
३. गोदावरी नगरपालिकाका खानेपानी स्रोतहरुको संरक्षणको लागि अभियान संचालन गर्ने र पानी पुर्नभरण हुने क्षेत्रहरुको पनि संरक्षणको लागि स्थानीय स्तरमा पैरवी र वहसहरु गर्ने । पानीका स्रोतहरु र गोदावरीका नदीहरु संरक्षण गर्नको लागि मापदण्ड निर्माण गरि कार्यान्वयन गर्ने ।
४. गोदावरी नगरपालिका भित्र भौतिक निर्माणको काम गर्ने कर्मचारी तथा कामदारहरुको स्वास्थ्य सुरक्षामा विशेष जोड दिदै उनीहरुलाई भौतिक निर्माणका कार्यहरु संचालन गर्दा जोखीम न्युनिकरणको लागि आवश्यक सामाग्रीहरु व्यवस्था तथा मापदण्ड निर्माण गर्ने ।
५. गोदावरी नगरपालिकामा रहेको खानेपानी परिक्षणको प्रयोगशालालाई संचालनमा ल्याउने र उपभोक्ताहरुलाई पानी परिक्षण गर्न लगाउने ।
६. पानी शुद्धिकरणको अभियानलाई तिव्रता दिने । घरयासी भन्दा प्रणालीमानै पानी शुद्धिकरणका अभियानहरु अगाडि वढाउने ।
७. नगरपालिकामा खानेपानी तथा सरसफाइका गतिविधिहरु व्यवस्थीत ढंगबाट संचालन गर्नको लागि खानेपानी तथा सरसफाइशाखा निर्माण गरी खानेपानी तथा सरसफाइ ऐन वमोजिमका गतिविधिहरु कार्यान्वयनमा विशेष जोड दिने ।
८. गोदावरी नगरपालिकाको फोहोर संकलन कार्यलाई व्यवस्थीत गर्नको लागि दुई वडावाट तथ्याङ संकलन कार्यलाई अगाडि वढाउने ।
भ्रमण टोलीका सदस्यहरुको अनुभव र उहाँहरुको स्वीडेनमा सिकेको सिकाईलाई कार्यान्वय गर्ने प्रतिवद्धतालाई हेर्ने हो भने भ्रमण सफल रहेको मान्न सकिन्छ ।


2773 पटक हेरिएको 

