स्याङ्जा : उच्च अदालत पोखराले स्याङ्जाको गल्याङ नगरपालिका – ३ स्थित छर्तिघाटमा फोहोर विसर्जन सहितका सबै काम रोक्न अन्तरिम आदेश दिएको छ ।
छर्तिघाटमा फोहर विसर्जन गर्दा कालीगण्डकी नदीको सभ्यतामा असर पर्ने भन्दै उक्त काम रोक्न माग गर्दै नगरपालिकालाई विपक्षी बनाएर प्रवेश अर्यालले दिनुभएको रिट निवेदन माथि सुनुवाई गर्दै न्यायधीश श्रीधराकुमारी पुडासैनीको इजालासले फोहोर विसर्जन सहितका कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको हो । उच्च अदालत पोखराले दुवै पक्षलाई असोज १० गते सुनुवाइका लागि बोलाएको छ ।
वडा नं ३, ७ र ११ को अन्तिम संस्कार गर्ने स्थान छर्तिघाट भएकाले फोहोर फाल्न रोक लगाउनुपर्ने माग राख्दै वडा नं ३ का स्थानीयले जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई ज्ञापन पत्र बुझाएको स्थानीय कमल बस्यालले बताउनुभयो । पाल्पाको रम्भा गाउँपालिका–१ ले पनि उक्त स्थानमा फोहोर नफाल्न माग राख्दै गल्याङ नगरपालिका–३ कार्यालयलाई ध्यानाकर्षण बुझाएले वडाध्यक्ष ईश्वरी काफ्लेले जानकारी दिनुभयो ।
नगरपालिका र नगर सरसफाइ समितिले कालीगण्डकीको ४८ मिटरको दूरीमा रहेको सार्वजनिक वन फँडानी गरी फोहोर फाल्ने ठाउँ निर्माण गर्न लागेकाले अदालतमा निवेदन दिनुपरेको निवेदक अर्यालले बताउनुभयो । “कालीगण्डकी नदीको धार्मिक, वातावरणीय, मानव स्वास्थ्य र पर्यटकीय दृष्टिकोणले निकै महत्त्व छ,” उहाँले भन्नुभयो, “यहाँ फोहोर विसर्जन सहितका काम नगर्न पटक-पटक नगर प्रमुखलाई भेटी वार्ता र पत्राचार गर्दा पनि काम नरोकिएपछि कानुनी उपचार खोज्न बाध्य भयौँ ।”
नगरपालिकाले फोहोर व्यवस्थापन वैज्ञानिक र वातावरण मैत्री तवरले गर्न खोजेको नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमल्सिनाले दाबी गर्नुभयो । उहाँले छर्तिघाटस्थित सरसफाइ केन्द्रमा फोहर विसर्जन गर्ने नभएर फोहरलाई वर्गीकरण गरिने बताउनुभयो ।
“देशका कतिपय पालिकाहरूमा फोहोरलाई मोहोरमा परिणत गरेको अवस्थामा गल्याङ नगरपालिकाले पनि त्यस्तै अभ्यास गरिने योजनाका साथ सरसफाइ केन्द्र निर्माणको काम थालिएको हो”, उपप्रमुख न्यौपाने भन्नुभयो, “फोहर सङ्कलन केन्द्र बनाउन लागिएको विषयलाई अतिरञ्जित गर्न खोजिएको हो ।”
उहाँले कुहिने फोहोरको कम्पोस्ट मल बनाउने, पुनः प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई कच्चापदार्थका रूपमा विभिन्न उद्योगमा पठाउने तयारीअनुरूप काम अगाडि बढाइएको बताउनुभयो । न्यौपानेले गल्याङको फोहर व्यवस्थापन सबैको साझा विषय भएकाले सहमति र सहकार्यको बाटोमा लाग्न सकिने बताउनुभयो ।
गएको जेठ २७ गते नगरपालिकाले सङ्कलन गरेको फोहोरमा अज्ञात समूहले आगो लगाएको १५ दिनपछि मात्र नियन्त्रणमा आएको वातावरणीय संरक्षण मञ्चका सदस्य निर्मल भट्टराईले बताउनुभयो । आगलागीका कारण स्थानीय बासिन्दा, वायुमण्डल, वनस्पति र आँधीखोलाका जलचर प्राणीमा प्रत्यक्ष असर परेको भन्दै मञ्चले दोषीलाई कारबाही गर्न र फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिकासहित वडा नं ३ मा निवेदन दिएको भट्टराईले बताउनुभयो ।
नगरपालिकाले आगो लगाउनेलाई कारबाही गर्न नसकेको, फोहोरको उचित व्यवस्थापन नभएको भन्दै उक्त ठाउँमा फोहर फाल्न स्थानीयले रोक लगाएका उहाँले जानकारी दिनुभयो । वातावरणीय संरक्षण युवामञ्च, स्थानीय र जनप्रतिनिधिले पटक-पटक छलफल गरेर फोहोर व्यवस्थापनको समस्या समाधान गर्न खोजे पनि सहमति जुट्न नसकेको मञ्चले जनाएको छ । बजारको फोहोर नउठ्दा गल्याङका बजारवासी कष्ट भोग्न बाध्य छन् ।