
सुर्खेत : दिसाजन्य लेदो अर्थात मानव मलमूत्र स्थानीय सरकारको कर संकलनको नयाँ क्षेत्रको रुपमा स्थापित हुन थालेको छ । दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरेका स्थानीय सरकारले सेप्टिक ट्याङ्क सफाइ व्यवसायबाट राम्रो कर संकलन गर्न सफल भएको हो ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सेप्टिक ट्याङ्क सफाइ व्यवसायबाट मात्र हालसम्म ९ लाख भन्दा बढी कर संकलन गरिसकेको छ । दिसाजन्य लेदो प्रशोधन केन्द्रमा लेदो खसाले बापत नगरपालिकाले निजी क्षेत्रसँग प्रति पटकको दरले कर संकलन गर्दै आएको छ ।
२०७८ असोज देखि सञ्चालन हुन थालेको दिसाजन्य लेदो प्रशोधन केन्द्रले हालसम्म ९ लाख ५५ हजार २ सय रुपैयाँ आम्दानी गरेको एस.एन.भी.नेपालको प्रतिवेदनमा उल्लेख छ । हालसम्मको अवधिमा १ हजार ५ सय ५३ ट्याङ्कर दिसाजन्य लेदो प्रशोधन भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार मासिक बढीमा सय ट्याङ्कर र घटीमा २३ ट्याङ्कर दिसाजन्य लेदो प्रशोधन हुँदै आएको छ ।

नेदरल्यान्ड सरकारको सहयोगमा एस.एन.भी.नेपालले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापनको डिपीआर बनाई पहिलो चरणमा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरेको हो ।
दिसाजन्य लेदो प्रशोधन केन्द्र बनाउन सन् २०१८ मा नगरपालिकासँग समझदारी गरेको एस.एन.भी.ले जुन २०१९ देखि निर्माण गर्न सुरु गरेको थियो । सन् २०२१ को अक्टोबर महिना देखि सञ्चालनमा आएको यो प्रशोधन केन्द्रले अहिले राम्रो सँग काम गरिरहेको छ ।
२ करोड २० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रशोधन केन्द्रमा वीरेन्द्रनगर नगरपालिकाको १६ वटा वडाका करिब २४५ वर्ग किलोमिटर क्षेत्रमा रहेको घरहरुबाट निस्केको दिसाजन्य लेदो प्रशोधन भैरहेको छ ।
प्रशोधन केन्द्रले दैनिक १० हजार लिटर सम्म प्रशोधन गर्न सक्ने क्षमता भए पनि हाल क्षमता भन्दा धेरै दिसाजन्य लेदो आईरहेको एस.एन.भी.नेपालका शहरी सरसफाइ सल्लाहकार राजु श्रेष्ठले बताउनुभयो । डिपीआर बमोजिम दोस्रो चरणको पूर्वाधार निर्माण गर्न वीरेन्द्रनगर नगरपालिकाले स्रोतको खोजी गरिरहेको र सबै संरचना निर्माण भएपछि दैनिक ५० हजार लिटर लेदो प्रशोधन हुने उहाँले बताउनुभयो ।



1017 पटक हेरिएको 

