
चाँगुनारायण : चाँगुनारायण नगरपालिकामा डकर्मीहरुका लागि दिसाजन्य लेदोको सुरक्षित भण्डारण (सेफ्टी ट्याङ्क) निर्माण सम्बन्धी तालिम दिईएको छ । ५०० बी सोलुसन्स प्रा. लि को सहयोगमा नगरपालिकाको सबै वडाहरुबाट ११ जना डकर्मीहरुलाई तालिम दिईएको हो ।
तालिमको शुभारम्भ सत्रमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले दिसाजन्य लेदोको सुरक्षित भण्डारण (सेफ्टी टयाङ्क) निर्माण गर्ने कार्यमा डकर्मीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नगर क्षेत्र भित्र कार्यरत डकर्मी र निर्माणकर्मीहरुको नगरस्तरीय संघ समेत निर्माण गरी डकर्मीहरुको पेशागत हक अधिकारलाई मर्यादित बनाउन जोड दिनुभयो ।

स्वस्थ र वातावरणमैत्री नगर निर्माण गर्ने अभियानमा यो तालिम उपलब्धीमूलक हुने बिश्वास नगर प्रमुखले राख्नु भएको थियो । कार्यक्रममा ५०० बी. सोलुसन प्रा. लि का कार्यकारी निर्देशक डा. मिङ्मा शेर्पाले सुरक्षित सरसफाइ व्यवस्थापनमा चाँगुनारायण नगरपालिकाले नेतृत्व गरी कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाई रहेको भनाई राख्नु भयो ।
तालिमको पहिलो दिनको सत्रहरुमा सुरक्षित सेफ्टी टयाङ्क निर्माण सम्बन्धी अभ्यास प्रदर्शनी सहित सैद्धान्तिक ज्ञान दिईएको थियो । तालिमको दोस्रो दिनमा चाँगुनारायण नगरपालिका वडा नं. १ सरस्वतीखेलमा रहेको कार्की टोलमा निर्माण गर्न लागिएको सेफ्टी टयाङ्क निर्माण गर्न कार्यक्षेत्रमा नै गएर प्रयोगात्मक अभ्यास गरिएको थियो ।

यस किसिमको सैद्धान्तिक र व्यवहारिक ज्ञान र अभ्यासबाट सहभागीहरु तलिमबाट दक्ष हुने र व्यवहारिक हुने भनाई ५०० बी. सोलुसन्स प्रा. लि को सरसफाइ योजना संयोजक फुर्बा मोक्तानले जानकारी दिनुभयो ।
तालिममा खानेपानी, सरसफाइ तथा स्वच्छता (वाश) शाखाको तर्फबाट वास संयोजक सुरेन्द्र लामिछाने र वास सहजकर्ता मेनुका थापाले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो ।

तालिमको समापना सहभागीहरुलाई प्रमाण पत्र वितरण सहित प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले तालिममा प्राविधिकहरुले महत्वपूर्ण समय लगानी गरेको बताउनुभयो । ‘निर्माण कार्यमा तपाईहरु प्राविधिक मात्र होइन त्यो घरको अभिभावकको भूमिका समेत निर्वाह गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो ।
दिगो बिकास लक्ष्य ६.२ गर्नको लागि चाँगुनारायण नगरपालिकामा नगरव्यापी समाबेशी सरसफाइ योजना (City wide Inclusive Sanitation-Plan) समेत तयार भई सकेको छ । यसको कार्यान्वयनको लागि चाँगुनारायण नगरपालिकाको दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी कार्यविधि – २०८० समेत अनुमोदन भई सकेको छ ।

साथै दिसाजन्य लेदो व्यवस्थापनको लागि चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित घट्टे खोला क्षेत्रमा रहेको सार्वजनिक जग्गामा प्रशोधन केन्द्र निर्माण गर्न संभाव्यता अध्ययन गरी बिस्तृत परियोजना प्रतिवेदन (DPR)निर्माणको क्रममा रहेको छ । ‘डिपीआर निर्माणको काम दशै पछाडिबाट शुरुवात हुनेछ’ चाँगुनारायण नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वाश) संयोजक सुरेन्द्र लामिछानेले भन्नुभयो ।
दिगो विकास लक्ष्य ६.२ मा सन् २०३० सम्ममा सबैका लागि पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने र खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने, यस क्रममा, महिला, बालबालिका, किशोरी तथा अन्य संकटासन्न अवस्थामा रहेकाहरुको आवश्यकतालाई बिशेष ध्यान दिने उल्लेख छ ।



609 पटक हेरिएको 

