बर्दियाका ८७ प्रतिशत नागरिक सुरक्षित खानेपानीको पहुँच बाहिर

  वास खबर सम्वाददाता  607 पटक हेरिएको

गुलरिया : बर्दियाका ८७ प्रतिशत नागरिक सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर छन् । जिल्लाका कुल ३ लाख ९८ हजार ३ सय ९४ अर्थात ८६.६० प्रतिशत उपभोक्ता सुरक्षित खानेपानीको पहुँच भन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जको फिल्ड कार्यालय गुलरियाको तथ्यांकले देखाएको छ।

तथ्यांक अनुसार १३.४० प्रतिशत मात्र नागरिक मात्र सुरक्षित खानेपानीको पहुँचमा छन् । सुरक्षित खानेपानीको पहुँच बाहिर रहेका प्रायः सबै नागरिक पानीका लागि चापाकल ट्युबेलमा निर्भर छन् । सुरक्षित पानीको अभावमा अत्याधिक मात्रामा ‘आइरन’ र ‘आर्सेनिक रहेको चापाकलकै पानी पानी पिउन बाध्य छन् ।

गुलरिया नगरपालिकामा ८०.५४ प्रतिशत, मधुवन नगरपालिकामा ५५.६२ प्रतिशत, ठाकुरबाबा नगरपालिकामा ८४.४२ प्रतिशत, बारबर्दिया नगरपालिकामा ९०.४३ प्रतिशत, बाँसगढी नगरपालिकामा ८९.६९ प्रतिशत, राजापुर नगरपालिकामा ९६.९० प्रतिशत, गेरुवा गाउँपालिकामा ९८.२० प्रतिशत र बढैयाताल गाउँपालिकामा १०० प्रतिशत सुरक्षित खानेपानीको पँहुच भन्दा बाहिर रहेको तथ्यांकले देखाउँछ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जको फिल्ड कार्यालय गुलरियाका इन्जिनियर मनराज पुनले खानेपानी आयोजनाका लागि कुनै पनि स्थानीय तहले खानेपानी आयोजना सञ्चालनका बजेट व्यवस्थापन नगर्दा सुरक्षित खानेपानीको पहुँच बाहिर रहनु परेको बताउनु भयो ।

‘खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताले १० प्रतिशत लगानी गर्नुपर्छ । तर उपभोक्ता समिति सक्रिय नहुँदा र १० प्रतिशत लगानी गर्न नसक्दा कठिन हुने गरेको छ । आयोजना सञ्चालनका लागि स्थानीय तहका तर्फबाट बजेट व्यवस्थापन नहुँदा समस्या आउने गरेको छ’ उहाँले भन्नुभयो ।

कतिपय आयोजना सञ्चालनमा आएर खानेपानी वितरण भएपनि आयोजनाबाट उपभोक्ताले खानापानीको धारा जडान नहुने समस्या देखिएको उहाँको भनाई छ । उहाँले यस वर्ष आठ वटा खानेपानी आयोजनाको काम सम्पन्न भएर सञ्चालनको अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।

मधुवन नगरपालिका रहेको रामकृष्ण खानेपानी आयोजनाकी सचिव तृष्णा गुरुङले मानव जीवनको लागि सफा र सुरक्षित पानी अति आवश्यक भए पनि असुरक्षित पानीका कारण विभिन्न किसिमको रोगको शिकार बन्नु परेको बताउनुभयो। ‘स्थानीय तहले पालिकामा खानेपानी ल्याब राखेर पानी परिक्षण गर्नुपर्छ । प्राविधिक राखेर खानेपानी आयोजनाको गुणस्तर परिक्षण गर्ने र खानेपानीमा लगानी गर्नुपर्छ, तर अहिलेसम्म पालिकाले खानेपानीमा लगानी गरेको छैन’ सचिव गुरुङले भन्नुभयो ।

लुम्बिनी प्रदेश सरकारले यस वर्ष सात करोड ९१ लाख २२ हजार विभिन्न खानेपानी आयोजनाको छुट्टाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जको फिल्ड कार्यालय गुलरियाका प्राविधिक प्रथम छविलाल बास्तोलाले बताउनुभयो । उहाँले सो बजेटले पर्खाल निर्माण, विद्युतीकरण, टङ्की निर्माण ,खानेपानी आयोजनाको कार्यालय निर्माण र खानेपानीको पाइप जडान गरिने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार