औद्योगिक रसायनयुक्त पानीको प्राकृतिक तवरबाट यसरी गरिन्छ प्रशोधन

प्रशोधनका लागि दुई वटा एनारोबिक र नौ वटा एरोबिक पोखरी

  वास खबर सम्वाददाता  824 पटक हेरिएको

हेटौँडा : कुनै समय हेटौंडा औद्योगिक क्षेत्रबाट निष्काशन हुने रसायनयुक्त फोहोरपानी र आवासीय ढल सिधै कर्रा खोलामा मिसाउने गरिएको थियो । औद्योगिक रसायनयुक्त फोहोरपानी मिसिएको कर्रा खोला राप्ती खोलामा पुगेपछि यी दुवै खोलाको जलचर जोखिममा पर्दै आएका थिए ।

जब औद्योगिक क्षेत्रबाट निष्काशन हुने रसायनयुक्त फोहोरपानी प्रशोधनका लागि फोहोरपानी प्रशोधन केन्द्र निर्माण भयो, त्यस यता हेटौँडा औद्योगिक क्षेत्रका उद्योग र आवासबाट निस्कने प्रदुषित पानी प्राकृतिक रूपमा प्रशोधन गरी कर्रा खोलामै विसर्जन गर्न थालिएको छ।


सन २००१ मा निर्माण सुरु भएर सन २००३ को नोभेम्बरबाट सञ्चालनमा आएको प्रदूषित पानी प्रशोधन केन्द्रमा आपतकालीन एउटा सहित १२ वटा पोखरी रहेका छन् । ती पोखरीमा १९ देखि २३ दिनसम्म राखेपछि प्राकृतिक प्रणालीबाट प्रशोधित भई औद्योगिक विषाक्त पानीले पुनर्जीवन पाउने गरेको छ ।

फोहोरपानी प्रशोधन केन्द्रका प्रमुख अशोक यादव प्रशोधन केन्द्रमा फोहोरपानी प्रशोधनका लागि दुई वटा एनारोबिक र नौ वटा एरोबिक पोखरी रहेको बताउनुहुन्छ । उहाँका अनुसार औद्योगिक प्रतिष्ठानबाट निष्कासन हुने पर्याप्त पानीको अभावमा एउटा एनारोबिक र छ वटा एरोबिक पोखरी मात्र सञ्चालनमा रहेको छ।

उहाँका अनुसार औद्योगिक प्रदूषित पानी र आवासीय फोहोर पानी सुरुमा एनारोबिक पोखरीमा सातदेखि १० दिनसम्म राखिन्छ । त्यो पोखरीमा जम्मा भएको प्रदूषित पानीमा तैरने फोहोर नियमित रूपमा निकालिन्छ र पोखरीमा थेग्रिएको फोहोर भने हरेक दुई/दुई वर्षमा निकालिन्छ । एनारोबिक पोखरीमा जम्मा भएको पानी सातदेखि १० दिनपछि एरोबिक पोखरीमा पठाइन्छ र यसरी आएको प्रदूषित पानीलाई अक्सिजनमा घुल्न दिइन्छ र पानीमा रहेको रसायनलाई निष्क्रिय बनाइन्छ ।


उहाँले पानीमा रहेको लेउले सूर्यको प्रकाश संश्लेषण गरेर अक्सिजन बनाउने र अक्सिजनमा बाँच्ने ब्याक्टेरिया आफैँ उत्पादन हुने जानकारी दिनुभयो । एरोबिक पोखरीमा पानी रहने चक्र पूरा भएपछि पोखरीमा परीक्षणका लागि माछा समेत हालिन्छ । ‘माछा लगायतका जलचरका लागि बस्न र खोलामा पठाउन उपयुक्त छ छैन भन्ने थप परीक्षण गरी उपयुक्त देखिएपछि स्थानीय कर्रा खोलामा मिसाइन्छ’ उहाँले भन्नुभयो।

फोहोरपानी प्रशोधन केन्द्रको क्षमता दैनिक ११ लाख लिटर पानी प्रशोधन गर्न सक्ने भएपनि हाल सात लाख लिटर पानी मात्र पोखरीमा आइरहेको छ । औद्योगिक क्षेत्रमा हाल सञ्चालनमा रहेका ११६ उद्योग मध्ये बढी पानी प्रयोग गर्ने र प्रदूषित पानी निष्कासन गर्ने बोन प्रोसेसिङ, एसियन पेन्ट्स, बर्जर पेन्ट्स, हेटौँडा दुग्ध वितरण आयोजना लगायतका अधिकांश उद्योग र आवासबाट निस्कने प्रदूषित पानी प्रशोधन केन्द्रमा पठाइने गरेको छ ।


मैदा उद्योग लगायतका केही उद्योगले अझै पनि पानी उपचार संयन्त्रको ढलमा उद्योगबाट निस्कने फोहोर पानीको ढल जोडेका छैनन्। प्रदूषित पानी प्रशोधनका क्रममा एनारोबिक र एरोबिक पोखरीमा गरी १९ देखि २३ दिनसम्म प्रशोधन गरी कर्रा खोलामा मिसाइन्छ । प्रदूषित पानी प्रशोधनका लागि जाडोमा सूर्यको प्रकाश र तापक्रम कम हुने भएकाले २३ दिन र गर्मीमा १८–१९ दिन राख्ने गरिएको छ ।

प्रशोधन केन्द्रका पूर्वप्रमुख अच्युतानन्द शुक्लले प्रदूषित पानी प्रशोधन संयन्त्रमा फोहोर पानी प्रशोधन गर्न तापक्रम बढी चाहिने भन्दै पानी प्रशोधनका लागि रसायन हाल्नु नपर्ने र प्राकृतिक ‘लगुन सिस्टम’ बाट प्रशोधन हुने बताउनुभयो । डेनमार्क सरकारले ५४ करोड रुपियाँको लागतमा प्रदूषित पानी प्रशोधन केन्द्र निर्माण गरिदिएको हो । शुक्लले उक्त संयन्त्र डेनमार्क सरकारले सुरुमा दक्षिण एसियाली मुलुकमा निर्माण गर्ने भन्दै बङ्गलादेश र भारतको जयपुरसम्म सम्भाव्यतः अध्ययन गरेपनि अन्नतः नेपालमा नै निर्माण गरेको बताउनुभयो ।

औद्योगिक क्षेत्रमा पानी बढी उपयोग गर्ने उद्योगको संख्या कम भएकाले क्षमता अनुसार सञ्चालनमा आउन नसकेको फोहोरपानी प्रशोधन केन्द्रमा प्राविधिक कर्मचारीको अभावमा पानीमा हुने अन्य तत्वको जाँच भए पनि पानीमा रहेको ब्याक्टेरियाको जाँच लामो समयदेखि हुन नसकेको कार्यालय प्रमुख यादवले बताउनुभयो ।


सुरुवातमा डेनमार्क सरकार मार्फत सञ्चालन गरी सन् २००७ मा नेपाललाई हस्तान्तरण गरेको यस आयोजना सञ्चालनका लागि फोहोरपानी प्रशोधन केन्द्र उपभोक्ता समिति रहेको छ । औद्योगिक क्षेत्रमा रहेको उद्योगले आफूले प्रयोग गर्ने पानीमा १५ प्रतिशत थप गरी शुल्क तिर्नुपर्ने भएकोले पनि कतिपय उद्योगले प्रशोधन केन्द्रको ढलमा उद्योगबाट निस्कने प्रदुषित पानी जोड्न ढिलाइ गरेको पाइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार