दिसाजन्य लेदो व्यवस्थापनमा उद्योग वाणिज्य संघको सक्रियता

खुला दिसामुक्त अवस्थाको दिगोपनामा सार्वजनिक शौचालयको टेवा

  वास खबर सम्वाददाता  622 पटक हेरिएको

काठमाडौ : नेपालमा कुनै समय चर्पी बनाउने अभियान चले जस्तै अहिले दिसाजन्य लेदो व्यवस्थापनको काम धेरै जिल्लामा सुरुवात भएको छ। सेप्टिक ट्याङ्कीमा भरिएको दिसाजन्य लेदोलाई सुरक्षित तरिकाले खाली गरेर, प्रशोधन स्थलसम्म सुरक्षित तरिकाले ढुवानी गरी प्रशोधन पछि सुरक्षित तरिकाले पुनः प्रयोग गर्ने वा विसर्जन गर्ने कार्य नै दिसाजन्य लेदो व्यवस्थापन हो ।

यो कार्य कतै कतै नगरपालिका आफैले गर्दै आएको छ भने कतै निजी क्षेत्रका व्यवसायीहरुले गर्दै आएका छन् । तर जुम्लाको चन्दननाथ नगरपालिकामा भने दिसाजन्य लेदो व्यवस्थापनमा उद्योग वाणिज्य संघले हात हालेको छ । नगरपालिकाले एस.एन.भी.नेपालको सहयोगमा नगरपालिका भित्रको दिसाजन्य लेदोलाई सुरक्षित तरिकाले खाली गरी विसर्जन स्थलमा पुर्‍याएर व्यवस्थापन गर्दै आएको छ ।

नगरपालिकाले यसका लागि ट्रेन्च निर्माण गरेको छ । उक्त ट्रेन्च बस्तीबाट टाढाको दुरीमा रहेको र त्यसको वरिपरि तार घेराबार गरिएकाले पशु चौपाया भित्र प्रवेश गर्न नपाईने र जो कोही यसको सम्पर्कमा नपुग्ने भएकाले मानवीय स्वास्थ्यमा कुनै जोखिम नरहेको, भूमिगत र बाहिरी स्रोतको पानीलाई समेत कुनै असर नपुगेको एस.एन.भी.का राजु श्रेष्ठले बताउनुभयो ।

उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाका अनुसार उद्योग वाणिज्य संघले सरसफाइको क्षेत्रमा विगत देखि नै काम गर्दे आएको र थपिएको जिम्मेवारीलाई बहन गर्दै आउने क्रममा दिसाजन्य लेदो व्यवस्थापनको काम पनि गर्न थालेको बताउनुभयो । ‘पहिले जनप्रतिनिधीहरु नहुँदा उद्योग बाणिज्य संघले बजार सफाई गर्दै आएका थियौं । त्यत्तिबेला नगरपालिका पनि बनेको थिएन । त्यसपछि बजार विस्तार पनि भयो, सबैको घरमा शौचालय बनेपछि सेप्टिक ट्याङ्क पनि भरिदै गए’ अध्यक्ष देवकोटा भन्नुहुन्छ ‘त्यसपछि ए सएनभीको सहयोगमा उपकरण प्राप्त भएपछि हामीले पनि यसमा अग्रसरता देखाएर काम गर्न थालेका हौं।’

खुला दिसामुक्त अवस्थाको दिगोपनामा सार्वजनिक शौचालयको टेवा

जुम्लाको चन्दननाथ नगरपालिका स्थित कृष्ण मन्दिर टोलका २०/२२ घरमा अझै शौचालय सुविधा छैन। खुला दिसामुक्त अभियानका क्रममा पनि ती टोलका हरेक घरमा शौचालय निर्माण हुन सकेन र तत्काल बन्ने अवस्था पनि छैन । किनकि चर्पी बन्न नसकेका घरपरिवारसँग चर्पी बनाउने पर्याप्त जग्गा समेत छैन ।

घरघरै चर्पी नभएपनि कृष्ण मन्दिर टोलका बासिन्दाहरु अहिले खुला ठाउँमा दिसापिसाब गर्दैनन् । किनकि उनीहरुका लागि सार्वजनिक शौचालय निर्माण भएको छ । यसले गर्दा खुला दिसामुक्त अवस्थाको दिगोपनामा टेवा पुगेको छ ।

चन्दननाथ गुठीले जग्गा उपलब्ध गराएपछि एस.एन.भी.नेपाल, चन्दननाथ नगरपालिका र स्थानीय बासिन्दाको सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । आफ्नो घरमा शौचालय नभएका चन्दननाथ टोलका घरपरिवारले यही सार्वजनिक शौचालय प्रयोग गर्छन् । शौचालयको व्यवस्थापन कृष्ण मन्दिर टोल सुधार समितिले गर्दै आएको समितिका अध्यक्ष दिपक सुनारले बताउनुभयो ।

शौचालयको माथिल्लो तलमा महिला र पुरुषका लागि तीन/तीन वटा शौचालयको व्यवस्था गरिको छ भने तल्लो तलाको दुई वटा सटरमा पसल राखिएको छ । एउटा सटरमा दिपशिखा जनरल स्टोर छ, अध्यक्ष सुनारका अनुसार उक्त पसल शौचालयको चौकीदारका हुन्। यसबापत उहाँले शौचालयको रेखदेख, सरसफाइ र पानीको व्यवस्थापन गर्नुपर्छ ।


अर्को सटरमा विकास फ्रेस हाउस छ । यसबाट कृष्ण मन्दिर टोल सुधार समितिले मासिक ५ हजार रुपैयाँ भाडा उठाउँदै आएको छ ।

शौचालय निर्माण भएपछि खुला ठाउँमा दिसापिसाब गर्ने चलनको अन्त्य भएको सरसफाइकर्मी उर्मिला सुनारले बताउनुभयो । ‘सार्वजनिक शौचालय नहुँदा खोलामा दिसापिसाब गर्नुपर्ने बाध्यता थियो, दाजुभाइ दिदीबहिनीले लाजै पचाएर भए पनि दिसापिसाब गर्न बाध्य थियौं, अहिले सार्वजनिक शौचालय बनाएपछि यो बाध्यता हटेको छ’ उहाँले भन्नुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार