सुर्नया नदीको पानी लिफ्ट गरेर पाटन बजारमा

  वास खबर सम्वाददाता  188 पटक हेरिएको

बैतडी: बैतडीको पाटनमा स्थानीयबासीको बर्षौंदेखिको खानेपानी समस्या समाधान हुने भएको छ । १३ करोडको लागतमा पाटन बृहत खानेपानी योजना सम्पन्न भएसंगै पाटनबासीको खानेपानीमा सहज पहुँच पुग्ने भएको छ ।

सुर्नया नदीबाट लिफ्ट गरेर पाटन बजारमा खानेपानी पुग्पछि स्थानीयबासी खुसी समेत भएका छन् । बर्षौंदेखिको आफूहरुको खानेपानी सपना पूरा भएको स्थानीय केशव खत्रीले बताए ।

सरकारले एक दशक अघि घोषणा गरेका १० ओटा नयाँ शहर मध्येको दशौं शहर पाटनमा खानेपानीको निकै समस्या थियो । सुर्नया नदीको पानी लिफ्ट गरेर पाटनमा पुर्याएपछि अब खानेपानी समस्या समाधान भएको पाटन बृहत खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष छविराज जोशीले बताए । पाटनमा खानेपानीका ६४४ वटा धारामार्फत पानी वितरण गरिने उनले बताए ।

खानेपानी निर्माणसँगै बजार क्षेत्रको लाइन विस्तारको काम भइरहेको जोशीले बताए । सुर्नया नदीबाट पानी तान्न २५ हर्स पावरका दुईवटा मोटर जडान गरिएको छ । खानेपानी भण्डार, निर्मलीकरण र वितरण गरेर पाँचवटा ट्याङ्की निर्माण गरिएको छ ।

८० हजार लिटरको एक ट्याङ्की, ६० हजार लिटरको दुईवटा र ५० हजार र ४० हजार लिटरका एक÷एक गरी जम्मा पाँचवटा ट्याङ्की निर्माण भएका निर्माण व्यवसायी दानसिंह रावलले बताए । ठेक्का मार्फत हुने सबै काम पूरा भईसकेको उनले बताए । खानेपानी आयोजनाको कार्यालय र सुरक्षा गार्ड बस्ने घर र बाटोको काम पनि सम्पन्न भएको जनाइएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय मार्फत पाटन बृहत खानेपानी योजना सम्पन्न भएको  संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय कन्चनपुरका आयोजना प्रमुख ई.देवेन्द्र कुमार झाले जानकारी दिनुभयो। खानेपानी योजना सम्पन्न भएसंगै पाटन बजार र आसपासका गाउँमा खानेपानीको समस्या समाधान भएको स्थानीय राकेश जोशीले बताए ।

केही दिनभित्रै लाइन बिस्तार गरेर खानेपानी वितरण गर्ने तयारी भइरहेको उपभोक्ता समिति अध्यक्ष जोशीले बताए । पानी उपभोग गर्नेहरुको घरमा धारा र मिटर जडान गरिने बताइएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार