अधिकांश खानेपानी उद्योग मापदण्ड पूरा नगरी सञ्चालन

  वास खबर सम्वाददाता  230 पटक हेरिएको

दाङ : दाङ जिल्लाका पानी उद्योग मापदण्ड पूरा नगरी सञ्चालन गरिएको पाइएको छ । प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड लागू गरे पनि दाङमा त्यसको पालना भएको छैन ।

मापदण्डअनुसार पानी उद्योगले प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ सामग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार तथा बोटल सफा गर्ने कक्ष, पुनः प्रयोग गर्ने बोटलको भण्डारणका लागि पर्याप्त ठाउँसहितको उद्योग व्यवस्था गर्नुपर्ने व्यवस्था छ ।

दाङमा रहेका अधिकांश पानी उद्योगले प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि विकास मन्त्रालयले खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को ‘क’ बमोजिमको ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ को पालना नगरेको पाइएको हो ।

जिल्लामा प्रशोधित पिउने पानी उत्पादन गर्ने १२ उद्योग छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले १० वटा उद्योगमा सबै मापदण्ड पालना नभएको जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरीले निर्देशिकाले तोकेको अभिलेख व्यवस्थापन व्यवस्थित रूपमा सबैमा नभएको कामदारको स्वास्थ्य परीक्षण, कामदारलाई तालिम, महिना–महिनाको ल्याब एनालाइसिस रिपोर्ट, चाररचार महिनामा ल्याब परीक्षण गर्नुपर्ने व्यवस्था लगायतका विषयमा मापदण्ड पालना नभएको बताउनुभयो । उहाँले मास्क, हेडक्याप, एप्रोन जस्ता विषयमा पनि व्यवस्थित तरिकाले प्रयोग गरेको नदेखिएको बताउनुभयो।

जिल्लामा रहेका रारा, स्वर्गद्वारी, गोरक्ष, राप्ती, ओम, डाइनामिक, आरोग्य, एनएम, एसएमबी, माउण्टेन, श्री साइराम र भद्रकाली पानी प्रशोधन उद्योग सञ्चालनमा छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरीले जिल्लामा रहेका १२ उद्योग मध्ये नारायणपुरमा रहेको रारा प्रोसेसिङ प्रालिको मात्रै मापदण्ड पूरा गरेको अवस्था देखिएको उहाँले बताउनुभयो।

‘घोराहीको रारा प्रोसेसिङले सबै मापदण्ड पूरा गरेको अवस्था देखिएको छ भने भद्रकाली ड्रिङकिङ वाटर तुलसीपुरले पनि अन्यभन्दा राम्रो गरेको देखिन्छ,’ उहाँले भन्नुभयो ‘दाङमा स्वचालित मेसिनबाट जार सफा गर्ने तथा पानी भर्ने व्यवस्था पनि यी दुई उद्योगमा मात्रै हुन्छ ।’ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ ले जार सफा गर्ने तथा प्रशोधित पानी भर्ने व्यवस्था स्वचालित मेसिनबाट गर्दै जानुपर्ने व्यवस्था गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले निर्देशिकामा भए बमोजिमको पानीको स्रोतको स्वच्छता, कामदार र काम गर्दा लगाइने लुगा छुट्टै हुनुपर्ने, उद्योगबाट आउने फोहोर पानीको राम्रोसँग व्यवस्थापन हुनुपर्ने व्यवस्था छ ।

यसैगरी कामदारलाई अनिवार्य रूपमा ६ महिनामा एक पटक तालिमको व्यवस्था गर्नुपर्ने, महिनामा कम्तीमा एक पटक उद्योगको मान्यता प्राप्त प्रयोगशालाबाट परीक्षण गराउनु पर्ने, हरेक चार महिनामा विभागको प्रयोगशाला वा विभाग मातहतका प्रयोगशालाबाट परीक्षण गराउनु पर्ने, प्रशोधित पानीको प्रत्येक ब्याचको पीटीडीएस, कडापन, फ्री क्लोरिन, आइरन, एमोनिया तथा कोलिफर्म जस्ता आधारभूत प्यारामिटर कम्तीमा टेस्टकिट माध्यमबाट विश्लेषण गरी प्रत्येक महिना अभिलेख अद्यावधिक गर्नुपर्ने जस्ता मापदण्ड जिल्लामा पालना नभएको बताएको छ ।

खाद्य निरीक्षक चौधरीले नियमित अनुगमन भइरहेको बताउँदै उद्योगीलाई मापदण्डमा रहेर उद्योग सञ्चालन गर्न निर्देशन दिइरहेको समेत बताउनुभयो । केही उद्योगी क्रमशः मापदण्डमा आउन थालेका र व्यवसाय सुधार्दै लैजान थालेको उहाँको भनाइ छ । ‘हामीले निर्देशिका बमोजिम व्यवसाय सञ्चालन गर्न भनिरहेका छौं, कतिपयले सुधार्दै हुनुहुन्छ,’ उहाँले भन्नुभयो ‘स्थानीय निकाय र प्रशासन तथा सरोकारवालाको नियमित अनुगमन जरुरी छ ।’ अहिले प्रायः उद्योगमा अभिलेख व्यवस्थापन, प्रयोगशाला तथा गुण नियन्त्रणको व्यवस्थापनमा कमजोरी जस्ता समस्या देखिएको उहाँले बताउनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय दाङले प्रशोधित पिउने पानी उद्योगमा अनुगमन गरेको छ । घोराही क्षेत्रका तीनवटा उद्योगको अनुगमनमा दुईवटामा कैफियत फेला परेको छ । अनुगमनका क्रममा ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ ले तोकेको अधिकांश मापदण्ड पालना नगरेको पाइएको खबर कारोबार दैनिकले प्रकाशन गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले पहिलो पटकको अनुगमनमा सचेत गराई निर्देशिकाले तोकेको मापदण्डमा रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार