काठमाडौ : तीन दिन अघि वास खबरको फेसबुक पेजमा एउटा भिडियो पोष्ट भयो। बिषय थियो, ‘गोर्खा वेल्फेयरले खानेपानीको मुहानमा इन्टेक निर्माण गर्दा प्रदुषण शुन्य र स्रोत संरक्षणलाई कसरी केन्द्रमा राखेर काम गरिन्छ भन्ने?’
खानेपानी र सरसफाइ क्षेत्रको भिडियो यस अघि त्यत्ति धेरै हेरिएको थिएन, जत्ति यो भिडियोलाई रुचाउनुभयो। कमेन्ट गर्ने मध्ये अधिकांशले मुहानमा इन्टेक निर्माण गर्ने शैली र प्रविधिको तारिफ गर्नुभएको छ।
अहिलेसम्म १ लाख १८ हजार १ सय पटक हेरिएको उक्त भिडियो अहिले पनि हेर्ने क्रम जारी छ।
नेपालको खानेपानीको क्षेत्रमा गोर्खा वेल्फेयर कसरी नामुद संस्थाको रुपमा परिचित भयो ? यो छोटो कुराकानीले मात्र पूर्ण जानकारी नदिन सक्छ। यद्यपि हामीले गोर्खा वेल्फेयर ट्रष्टकी जमुना जिरेलसँग वेल्फेयरको काम गर्ने ढाँचाका बारेमा छोटो कुराकानी गरेका छौं। उहाँले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ को खिबाङ खानेपानी तथा सरसफाइ आयोजनामा प्रोजेक्ट सुपरभाइजरको रुपमा कार्य सम्पादन गर्नुभएको थियो।
हेर्नुहोस् यो संक्षिप्त भिडियो :
नेपालमा बनेका खानेपानी आयोजना सबैभन्दा दिगो
बेलायतमा दर्ता भएको कल्याणकारी संस्था गोर्खा वेल्फेयर नेपालमा खानेपानी योजना निर्माणको क्षेत्रमा नामुद संस्था हो । गोर्खा वेल्फेयरले हालसम्म देशका ५१ जिल्लामा २ हजार ३८० वटा खानेपानी योजना निर्माण सम्पन्न गरिसकेको छ।
वेल्फेयर अन्तर्गत नेपाल सहित विश्वका ७ वटा देशमा सञ्चालित खानेपानी आयोजना मध्ये नेपालमा निर्मित खानेपानी आयोजना सबैभन्दा दिगो रुपमा सञ्चालन भएको अध्ययनले समेत पुष्टि गरेको छ । तेस्रो पक्षले गरेको एक अध्ययन अनुसार वेल्फेयर अन्तर्गत जाम्बिया, पाकिस्तान, नेपाल, मोजाबिक, मलावी, कंगो र बंगलादेशमा निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये नेपालमा निर्माण भएका खानेपानी आयोजनाहरु धेरै सुचारु अवस्थामा छन्।
नेपालमा वेल्फेयरद्वारा निर्मित खानेपानी आयोजनाहरु मध्ये ६३ प्रतिशत पूर्ण रुपमा सुचारु अवस्थामा रहेको अध्ययनले देखाएको छ । यस्तै २६ प्रतिशत खानेपानी आयोजना आंशिक रुपमा चलेका र ११ प्रतिशत मुश्किलले चलेका खानेपानी आयोजनाहरु छन्।
नेपालमा निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये नचलेका वा बन्द भएका कुनै पनि खानेपानी आयोजना नरहेको गोर्खा वेल्फेयर ट्रष्टका निर्देशक दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो।
जबकि उल्लेखित सात वटै देशहरुमा निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये ४७ प्रतिशत खानेपानी आयोजनाहरु बन्द नै भएका छन् भने ५३ प्रतिशत खानेपानी आयोजना मात्र सञ्चालनमा रहेको अध्ययनले देखाएको छ। बंगलादेशमा सबैभन्दा बढी खानेपानी आयोजनाहरु बन्द भएका छन्। अध्ययन अनुसार बंगलादेशका २०.७ प्रतिशत खानेपानी आयोजनाहरु बन्द भएका छन्।
यस्तै पूर्ण रुपमा सुचारु अवस्थामा रहेका सबैभन्दा कम खानेपानी आयोजना कंगोका छन्। कंगोमा निर्माण भएका खानेपानी आयोजनाहरु मध्ये १६।७ प्रतिशत खानेपानी आयोजना मात्र सुचारु अवस्थामा छन्।
गोर्खा वेलफेयर ट्रष्टले सन् १९७६ देखि नेपालमा विद्यालय भवन निर्माण, विभिन्न स्वास्थ्य शिविर सञ्चालन र खानेपानी तथा सरसफाइ आयोजना निर्माणको कामहरु गर्दै आएको छ ।