वेल्फेयरद्वारा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

  वास खबर सम्वाददाता  497 पटक हेरिएको

म्याग्दी : गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। वेल्फेयरले तीनवटा खानेपानी आयोजना निर्माण गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो।

अन्नपूर्ण गाउँपालिकाको वडा नं. –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा दुई करोड ३३ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरी उपभोक्तालाई हस्तान्तरण गरिएको वेल्फेयरका कन्स्ट्रक्सन इन्जिनियर लीला शेरचनले जानकारी दिनुभयो।

आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न निजी धारामा मिटर जडान गरिएको छ। गत वर्ष वडा नं ३ को दानाबजार, दुवारी र वडा नं ४ को पटारमा खानेपानी आयोजना निर्माण गरिएको थियो ।

आगामी वर्ष वडा नं ४ नारच्याङको बेँसी र लेकगाउँमा ट्रष्टको एक करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदान सहित रु दुई करोड ४१ लाखको लागतमा दुईवटा खानेपानी आयोजना निर्माणको तयारी भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

गोर्खा वेल्फेयर ट्रष्टले नेपालको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा मात्र करिब साढे ४ अर्ब लगानी गरेको छ। खानेपानी तथा सरसफाइको क्षेत्रमा ट्रष्टको ४ अर्ब ३७ करोड ४० लाख ५० हजार ५६९ रुपैयाँ लगानी भएको गोर्खा वेल्फेयर ट्रष्टका कार्यक्रम निर्देशक दिपक कुमार श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार ट्रष्टले हालसम्म ५१ जिल्लामा २ हजार ३ सय ८० वटा खानेपानी योजना निर्माण गरी ५ लाख ६ हजार ११८ जनालाई स्वच्छ खानेपानीमा पहुँच पुर्‍याएको छ ।

गोर्खा वेल्फेयर ट्रष्ट बेलायतमा स्थापना भएको एक लोक कल्याणकारी संस्था हो । ट्रष्टले नेपालमा सन् १९७६ देखि खानेपानी, सरसफाइ, स्वास्थ्य, शिक्षा र विपद प्रतिकार्यको क्षेत्रमा काम गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार