ललितपुर : मेन्टोर सिटीहरु बीच आपसी सिकाईका लागि नेपाल भ्रमणमा आएको बंगलादेशी टोलीले आज गुहेश्वरी स्थित फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गरेको छ । फोहोरपानी प्रशोधन केन्द्रको बारेमा प्रशोधन केन्द्रका प्रोजेक्ट म्यानेजर योगेन्द्र चित्रकारले प्रस्तुतीकरण गरी प्रशोधन केन्द्रको वर्तमान अवस्थाका बिषयमा जानकारी गराउनुभयो।
उहाँले वाग्मती सांस्कृतिक, धार्मिक, सामाजिक, आर्थिक तथा वातवारणीय हिसाबले पनि अति महत्वको नदी भएकाले वाग्मती नदीको पानीलाई प्रशोधन गरेर पठाउने गरिएको बताउनुभयो । ‘पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो क्षेत्रबाट आउने फोहोरपानीलाई प्रशोधन गरेर मात्र पठाउने गरिएको छ’ उहाँले प्रस्तुतीकरणमा भन्नुभयो।
प्रशोधन केन्द्रले प्रतिदिन ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने भए पनि अहिले यत्ति नै मात्रामा नआएको जानकारी गराउनुभयो ।
गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्र १० बर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी सहित भारतीय कम्पनीसँग सम्झौता भए बमोजिम हाल भारतीय कम्पनीले नै सञ्चालन गरिरहेको उहाँले जानकारी गराउनुभयो । हाल ढल प्रणालीमा जोडिएका घरधुरीले ढल शुल्क तिर्नु नपरे पनि अब १० बर्षपछि ढल उपयोग वापतको शुल्क निर्धारण गरिने समेत उहाँले जानकारी दिनुभयो ।
यसरी हुन्छ फोहोरपानी प्रशोधन हेर्नुहोस् यो भिडियो :
उहाँले काठमाडौ उपत्यकामा बालकुमारी, धोबीघाट, सल्लाघारी, हनुमानघाट, गोकर्ण लगायत स्थानमा पनि फोहोरपानी प्रशोधन केन्द्र निर्माणको काम भैरहेको जानकारी गराउनुभयो।
दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा ५० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । यद्यपि यो निक्कै चुनौतीपूर्ण छ ।
प्रशोधन केन्द्रले चावहिल, गोकर्ण, मित्रपार्क, बौद्ध, गौरीघाट, जोरपाटी, गोठाटार लगायत नौ सय ९५ हेक्टर क्षेत्रमा रहेको करीब तीन लाख बासिन्दालाई सेवा दिईरहेको छ । काठमाडौं उपत्यका भित्रका बागमती लगायत अन्य सहायक नदीलाई स्वच्छ, राख्नका लागि धोविघाट, बालकुमारी, सल्लाघारी, गोकर्ण तथा हनुमानघाटमा समेत प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को निमन्त्रणमा बंगलादेशको ५ वटा नगरपालिकाका योजनाकार नेपाल भ्रमणमा आएका हुन् । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले ‘सिटीवाईड इन्क्लुसिभ स्यानिटेसन स्केलिङ एण्ड स्यानिटेसन इनोभेसन परियोजना’ अन्तर्गत ललितपुरको महालक्ष्मी नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकालाई सरसफाइको दृष्टिकोणले मेन्टोर सिटीको रुपमा विकास गरिदैछ ।
यी दुई नगरपालिकामा भएका सरसफाइ सम्बन्धी असल अभ्यासको अवलोकन गराउने हेतुले मेन्टोर सिटी क्रस लर्निङ भिजिटको आयोजना गरिएको एन्फोका प्रोग्राम म्यानेजर आश कुमार खाइतुले बताउनुभयो ।
भ्रमणको पहिलो दिन आइतबार महालक्ष्मी नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइको क्षेत्रमा गरिरहेको कामबारे टोलीले जानकारी लिएको थियो।