
विराटनगर : विराटनगरमा खानेपानीको गुणस्तर सुधारका लागि २ अर्ब ५४ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा निर्माण हुन लागेको खानेपानी आयोजनाको शुक्रबार खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिलान्यास गर्नुभएको हो। खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ।
शिलान्यास कार्यक्रममा खानेपानीमन्त्री राईले देशका सबै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको एक घर एक धाराको आभियानमा तीनै तहका सरकारले ध्यान केन्द्रित गर्न आवश्यक रहेको समेत बताउनुभयो। देशका धेरै स्थानमा अहिले पनि डोको र पिठ्युमा पानी बोक्नुपर्ने अवस्था रहेको भन्दै सरकारले चाँडै डोकोमा पानी वोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने उहाँको दाबी थियो। मन्त्री राईले सरकारले ल्याएका कार्यक्रमहरूको सफल कार्यान्वयनसँगै चाँडै डोको र पिठ्युमा पानी बोक्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले विराटनगरमा शिलान्याश भएको खानेपानी आयोजनाले १ लाख बढी नगरवासी लाभान्वित हुने बताउनुभयो । उहाँले यतिले मात्रै विराटनगरको खानेपानी समस्या समाधान नहुने उल्लेख गर्दे थप सहयोगका लागि जापान सरकारलाई आग्रह गर्नुभयो। ।आयोजना सम्पन्न गर्न विराटनगर महानगरपालिकाको तर्फबाट सबै खालको सहयोग हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपमेयर कार्कीले विराटनगरमा ३० वर्ष पुराना खानेपानीका संरचनाहरू र पाइपलाईनका कारण नगरवासीले स्वच्छ पानी पिउन नपाएको बताउनुभयो । कार्कीले नयाँ आयोजना सुरू भएसँगै विराटनगरमा लामो समयदेखि देखिएको खानेपानीको समस्या समाधान हुनेमा महानगरपालिका विश्वस्त रहेको बताउनुभयो।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले विराटनगरमा खानेपानी संस्थान अन्तर्गतका संरचनाको सुधार गर्ने, खानेपानीका ओभरहेड ट्याङ्की, पाइपलाईन र फिल्टरहरू थप गर्ने योजना अनुसार खानेपानी सुधार आयोजना सञ्चालनमा ल्याउन लागिएको जानकारी गराउनुभयो । उहाँले आयोजना समयमै सम्पन्न गर्न सहयोगका लागि विराटनगर महानगरपालिका र स्थानीयबासिन्दालाई अनुरोध गर्नुभयो।
कार्यक्रममा जापानी राजदुतावासका प्रतिनिधि ताकाहिरो तामुराले विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन जापान सरकारले अनुदान सहयोग स्वरुप आयोजना निर्माण गर्न लागेको जानकारी दिनुभयो ।


413 पटक हेरिएको 

