फिदिमको माथिल्लो गाउँमा अब धाराबाटै सुरक्षित पानी

  वास खबर सम्बाददाता  170 पटक हेरिएको

पाँचथर : फिदिम नगरपालिका–१ को माथिल्लो गाउँका बासिन्दाले अब धाराबाट सफा र प्रशोधित पानी उपभोग गर्न पाउने भएका छन्। फिदिम खानेपानी उपभोक्ता समितिले निर्माण गरेको पानी प्रशोधन प्लान्ट शनिबारदेखि सञ्चालनमा आएको छ।

प्राकृतिक प्रक्रियाबाट रासायनिक तत्वहरूको न्यूनतम प्रयोग गरी, पानी शुद्धिकरण गर्ने यो प्लान्टबाट अब माथिल्लो गाउँका धाराहरूमा स्वच्छ पानी प्रवाह हुनेछ। समितिका अनुसार शुद्धिकरणका क्रममा प्राकृतिक उपाय बाहेक बाँकी कुनै हानिकारक रसायनको प्रयोग गरिएको छैन।

यो परियोजना फिदिम खानेपानी उपभोक्ता समिति र खानेपानी डिभिजन कार्यालय पाँचथरको सहकार्यमा सम्पन्न भएको हो। समितिको १८ लाख ५० हजार र कार्यालयको १४ लाख ५० हजार गरी कूल ३३ लाख रुपैयाँ लागतमा प्लान्ट निर्माण गरिएको हो।

समितिका अध्यक्ष प्रकाश गुरुङले नवनिर्मित प्लान्टबाट वितरित पानीको गुणस्तर बजारमा पाइने बोतलको पानी सरह हुने दाबी गरे। “मुल ट्याङ्कीभन्दा माथिल्लो भागमा रहेको गाउँमा लामो समयदेखि सफा पानी पुर्‍याउन नसकेको समस्या अब समाधान भएको छ,” उनले बताए।

असोजको दोस्रो साताको अबिरल वर्षाका कारण फिदिमको खानेपानी व्यवस्थामा ठूलो क्षति पुगेको थियो। मुख्य मुहान टाढा भएका कारण पहिरोको जोखिम कायमै छ। हाल समितिले १४ नयाँ पानी मुहान पहिचान गरेको छ, जसलाई व्यवस्थित गर्न सकिए दीर्घकालीन समाधान निकाल्न सकिने समितिको ठहर छ। यद्यपि, यो कार्यका लागि राज्यले थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

शनिबार आयोजित कार्यक्रममा बीपी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवराज नेम्बाङले नवनिर्मित प्लान्टको उद्घाटन गरे। यो खबर नागरिक दैनिकले प्रकाशन गरेको छ।स्थानीय बासिन्दाले लामो समयदेखिको खानेपानीको समस्या समाधान भएको भन्दै खुशी व्यक्त गरे।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार