तीन तहमा लिफ्टिङ गरी लौरुक खोलाको पानी कास्कीकोट पुर्‍याईदै

  वास खबर सम्बाददाता  182 पटक हेरिएको

पोखरा : पोखरा महानगरपालिका–२४ मा पर्ने कास्कीकोट चारैतिर पानीको स्रोतले घेरिएको अति सुन्दर गाउँ हो । यसको उत्तरमा माछापुच्छ्रे हिमालको फेदी भई बग्ने सेती नदी छ भने उत्तर छेउमा मर्दी खोला र याम्दी खोला निरन्तर बगिरहेका छन् । पोखरावासीले त्यही मर्दी खोलाको पानी खाइरहेका छन् ।

यस्तै दक्षिण छेउको हर्पनखोला बगेर फेवातालसम्म पुग्ने गरेको छ । कास्कीकोटवासीले जता हेरे पनि पानी पानी देखिरहेका हुन्छन् तर उनीहरू भने पानीको अभावमा त्यहाँका स्थानीयको जनजीवन भने काकाकुलको जस्तो बन्दै गएको छ । उनीहरूले घरआँगन र पशु चौपायाका लागि पानीको अभाव झेल्दै आएका छन् ।

पोखरा बजारबाट झन्डै १२ किलोमिटरको दुरीमा रहेका कास्कीकोटवासीले पानी जस्तो आधारभूत आवश्यकता आकाशको फल जस्तै भएको गुनासो गरेका छन् । स्थानीय गङ्गा गिरीले पानीको कथा सुनाउँदै भन्नुभयो, “हजुरआमाले बोक्नुभएको डोको आमाले बोक्दै गर्दा अहिले मसँग आइपुगेको छ । अबका दिनमा भावी पुस्तालाई त्यही डोको बोकाउनु नपरोस् भन्ने मेरो इच्छा छ ।” कास्कीकोटवासीले धम्पुसबाट आएको खानेपानीमा मुहानको समस्या भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सुनाए । लौरुक खानेपानी कहिले सम्पन्न हुने हो भन्दै स्थानीय चित्रदेवी भट्टराई सुवेदीले जनप्रतिनिधिसँग पनि गुनासो व्यक्त गर्नुभयो ।

कास्कीकोटका स्थानीयले पानीकै समस्या कहिलेसम्म भोग्नुपर्ने हो भनेर जिज्ञासा व्यक्त गरे । स्थानीयले प्रदेश सरकारले २०७२ सालमै ‘एक घर, एक धारा’ को नीति अगाडि सारेको थियो तर पोखरा महानगरको कास्कीकोटमा भने सो अनुसार काम हुन नसकेको गुनासो कास्कीकोटका बासिन्दाले गर्दै आएका छन् ।

सो क्षेत्रका प्रदेश सांसद प्रकाश बरालले कास्कीकोटवासीले विगतबाट भोग्दै आएको पानीको समस्याबारे अहिले आएर सम्बोधन भएको बताउँदै आफू निर्वाचित भएपछि लौरुक खानेपानीको बजेट विनियोजन भएर काम सुरु समेत भइसकेको हुनाले कास्कीकोटवासीले पानी खानका लागि अब धेरै कुर्नु नपर्ने जानकारी दिनुभयो । गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले आवश्यकता अनुसार प्रदेश सरकारले योजना छनोट गरेकाले अबका दिनमा कास्कीकोटवासीलाई पानी खुवाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले यस वर्षदेखि खानेपानी समस्यालाई क्रमिक रूपमा निवारण गर्दै जाने बताउनुभयो । उहाँले अहिले कास्कीकोटमा पानीको समस्या भए पनि समाधानका लागि ट्याङ्की र धारा बनाउने काम तीव्र गतिमा भएको बताउनुभयो । लौरुक लिफ्टिङ योजनाका लागि ११ करोड रुपियाँभन्दा बढीको विस्तृत परियोजना प्रतिवेदन तयार भए पनि घटिघटाउमा जाँदा छ करोडको बजेटभित्रमा हालको योजना सम्पन्न हुने जानकारी उहाँले दिनुभयो ।

विद्युत् प्राधिकरणले मात्रै लिफ्टिङका लागि थप ६५ लाख रुपियाँको बजेटमा काम गरिरहेको छ । सो आयोजनाका योजना प्रमुख इन्जिनियर कमल बरालका अनुसार लिफ्टिङबाट झन्डै आठ सय धारा जडान हुने र चार हजार जनसङ्ख्यालाई खानेपानीको आपूर्ति गरिने बताउनुभयो । सो कार्यक्रमले खानेपानी योजना समयमै सम्पन्न गर्न थप दबाब दिएको छ भने कास्कीकोटवासी पनि छिट्टै पानीको सुविधा पाउनेमा आशावादी छन् ।

प्राविधिक रूपमा कठिन भए पनि तीन ठाउँमा पानीका ट्याङ्की बनाई लिफ्टिङमार्फत कास्कीकोटको सिरानमै पानी पुर्‍याइनेछ । प्रतिसेकेन्ड १० लिटर पानी पम्पिङ गरी करिब दुई लाख लिटर पानी जम्मा गर्न सकिने इन्जिनियर बरालको भनाइ छ । यो खबर गोरखापत्र दैनिकले प्रकाशन गरेको छ। सुरुमा पाँच/छ घण्टा पम्पिङ गरिए पनि कास्कीकोटवासीको आवश्यकताका आधारमा बढाउन सकिने इन्जिनियर बरालले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार