काठमाडौ : विश्व पानी दिवसको अवसरमा हिमनदी संरक्षण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। पानीको सुरक्षा र पानी सुशासनका बिषयमा जागरूकता बढाउने, हिमनदी संरक्षण र पानी संरक्षण बारे जनमानसमा पुर्याउने र पानीको समान वितरण तथा वर्षातको पानी संकलन गर्ने अभ्यासलाई व्यापक बनाउने बिषयमा छलफल गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो।
विभिन्न संघसंस्थाहरुको समन्वयमा स्मार्ट वास सोलुसन्स, युके एड, एस.एन.भी र वाटर एडले संयुक्त रुपमा आयोजना गरेको कार्यशालामा हिमनदीको संरक्षण गर्न गर्नुपर्ने कामहरु, सबै तहमा वर्षातको पानी संकलन गर्ने अभ्यासको सुरुवातको आवश्यकता, दिगो जल संसाधन व्यवस्थापनका लागि नीति तथा संरचनाहरूको सुदृढीकरणका बिषयमा व्यापक छलफल भएको थियो।
कार्यशालामा इसिमोड (ICIMOD) का वरिष्ठ सल्लाहकार, डा. अरुण भक्त श्रेष्ठले हिन्दु कुश हिमालयमा हिममण्डलको प्रभाव तथा इन्जिनियरिङ अध्ययन संस्थाका प्राध्यापक डा. भोला घिमिरेले जलवायु परिवर्तनको कारण नेपाली हिमनदीहरूको विश्वभरि फ्रेस वाटरमा पानीमा योगदान र यसको वर्तमान जोखिमका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यशालामा पानीको बाँडफाँट, स्थानीय तहमा खानेपानीको उपलब्धता, पानीको मुद्दाहरुको बिषयमा पूर्वमन्त्री इन्जिनियर गणेश शाह, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल, शे-फोक्सुण्डो गाउँपालिका डोल्पाका उपाध्यक्ष पेम्मा वाङ्चेङ गुरुङ, डब्ल्यूइसीएसका डा. कपिल ज्ञवाली र नेपाल पर्वतारोहण संघका आङ छिरिङ शेर्पा बीच प्यानल छलफल गरिएको थियो । प्यानल छलफलको अध्यक्ष खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले गर्नुभएको थियो ।
कार्यशाला सभापति एवं स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप शाहले पानीको अनन्त स्रोतको रुपमा रहेको हिमनदीहरू जलवायु परिवर्तनले छिटो छिटो पग्लिँदा पानीको अभाव र बाढीको बढ्दो जोखिम निम्त्याईरहेको बताउनुभयो । उहाँले हिमनदी र आकाशेपानी संकलन दुवै पानीको सुरक्षा सँग महत्वपूर्ण कदम हुने बताउनुभयो ।
‘आकाशे पानी संकलन भनेको बर्षातमा पर्ने पानी संकलन गर्ने र भण्डारण गर्ने अभ्यास हो । यसले सुख्खा वा हिमनदीको पानीको उपलब्धता घटेको अवस्थामा आकाशेपानी संकलन गरेर पानीको आपूर्ति गर्न सकिन्छ’ उहाँले भन्नुभयो।
हिमनदीको पानी खानेपानी, कृषि, उद्योग, स्वच्छ ऊर्जा उत्पादन, र स्वस्थ पारिस्थितिक प्रणालीका लागि आवश्यक भएकाले हिमनदीहरू जीवनको अभिन्न बिषय भएको उहाँले बताउनुभयो ।
कार्यशालामा तीव्र रूपमा पग्लिरहेका हिमनदीहरूको नेपालको प्रयासले मात्र सम्भव नहुने र यसका लागि पेरिस सम्झौताको कार्यान्वयन गर्नुपर्ने, कार्बन उत्सर्जनमा विश्वव्यापी रुपमै कमी ल्याउनुपर्ने र ग्लेसियरलाई संरक्षण गर्नुपर्नेमा कार्यशालाका सहभागीले जोड दिएका थिए ।
कार्यशालामा ग्लेसियर तीव्र गतिमा पग्लिँदा नयाँ नयाँ हिमतालहरु बन्ने क्रममा रहेको र भएका हिमतालहरुको आकार पनि बढिरहेकाले यसले हिमाली बस्ती मात्र नभई तल्लो तटीय क्षेत्र नै जोखिममा रहेको बिषय समेत उठेको थियो ।