
सरसफाइ भनेको केवल घरमा शौचालय हुनु वा नहुनु मात्र होइन। शौचालय प्रयोग भएपछि त्यहाँबाट निस्कने मानव मलमूत्र सुरक्षित रूपमा संकलन, ढुवानी, प्रशोधन र अन्तिम व्यवस्थापन भयो कि भएन भन्ने सम्पूर्ण सरसफाइ श्रृंखला (Sanitation Value Chain) सुरक्षित हुनु नै वास्तविक सरसफाइ हो।
नेपालका धेरैजसो सहरमा घरमा शौचालय छ भन्ने तथ्याङ्क त उपलब्ध छ, तर ती शौचालयबाट निस्कने मलमूत्र कहाँ जान्छ, कसरी खाली गरिन्छ, खाली गर्दा सुरक्षित तरिका अपनाइन्छ कि अपनाइँदैन, अन्त्यमा त्यो मलमूत्र वातावरणमै फालिन्छ कि प्रशोधन केन्द्रमा पुग्छ । यी विषयमा विश्वसनीय र विस्तृत तथ्याङ्क प्रायः छैन।
यही कारणले गर्दा :
१. वास्तविक सरसफाइको स्थिति थाहा पाउन
अहिले धेरै ठाउँमा घरमा शौचालय छ भन्ने आधारमा मात्र सरसफाइको अवस्था राम्रो भएको ठानिन्छ। तर वास्तविकता के छ भने कतिपय शौचालयका सेप्टिक ट्याङ्क चुहिएका छन्, कतै सिधै ढल वा खोलानालामा मिसाइएका छन्, कतै ट्याङ्क खाली नगरी वर्षौँदेखि प्रयोग भइरहेका छन्।
यस्तो अवस्थामा शौचालय हुनु मात्र सुरक्षित सरसफाइको सूचक हुँदैन। शौचालयबाट निस्कने मलमूत्र अन्ततः कहाँ पुग्छ, कसरी व्यवस्थापन हुन्छ भन्ने सम्पूर्ण चक्रको अवस्था थाहा नपाई नगरको वास्तविक सरसफाइ स्थिति बुझ्न सकिँदैन।
यस्ता बाहिरबाट नदेखिने, तर भित्रभित्रै गम्भीर असर पारिरहेका समस्याहरू पत्ता लगाउन सुक्ष्म तहको तथ्याङ्क अत्यावश्यक हुने 500B सोलुसन्सका निर्देशक डा. मिङमा ग्याल्जेन शेर्पा बताउनुहुन्छ।
२. स्वास्थ्य जोखिम पहिचान गर्न
मानव मलमूत्रको अव्यवस्थित व्यवस्थापनका कारण झाडापखाला, हैजा, टाइफाइड, जन्डिसजस्ता पानीजन्य तथा सरसफाइसँग सम्बन्धित रोग फैलिने जोखिम उच्च हुन्छ। कुन बस्ती वा कुन वडामा यस्तो जोखिम बढी छ, कहाँ भूमिगत पानी प्रदूषित भइरहेको छ, कहाँ बालबालिका र वृद्धहरू बढी प्रभावित छन् भन्ने कुरा तथ्याङ्क बिना अनुमानमै सीमित रहन्छ।
सुक्ष्म तहको डेटा उपलब्ध भएपछि जोखिमयुक्त क्षेत्र पहिचान गरेर त्यहाँ विशेष ध्यान दिन र समयमै रोकथामका उपाय अपनाउन सकिने निर्देशक शेर्पा बताउनुहुन्छ।
३. सही योजना र यथार्थपरक बजेट बनाउन
नगरपालिकाले सेप्टिक ट्याङ्क खाली गर्ने सेवा विस्तार गर्ने, फिकल स्लज ट्रीटमेन्ट प्लान्ट निर्माण गर्ने, ढल प्रणाली विस्तार गर्ने जस्ता ठूला र दीर्घकालीन योजना बनाउँदा यदि वास्तविक अवस्था थाहा छैन भने योजना कागजमै सीमित हुन सक्छ।
कति घरधुरीमा सेप्टिक ट्याङ्क छन्, कति ढलमा जोडिएका छन्, कति ठाउँमा सेवा नै छैन भन्ने ठोस तथ्याङ्क भएपछि मात्र आवश्यकताको आधारमा योजना बनाउन र बजेट विनियोजन गर्न सम्भव हुन्छ। यसले स्रोतको दुरुपयोग हुनबाट जोगाउने र कामलाई प्रभावकारी बनाउने शेर्पाको भनाइ छ।
४. लगानी र स्रोतको सही उपयोग गर्न
सीमित बजेट र स्रोतसाधन भएको अवस्थामा सबै ठाउँमा एकैचोटि समान लगानी गर्न सम्भव हुँदैन। कुन वडामा समस्या गम्भीर छ, कहाँ तत्काल मेसिन आवश्यक छ, कहाँ प्रशोधन केन्द्र वा ट्रान्सफर स्टेशन चाहिन्छ भन्ने प्राथमिकता तोक्न डेटा नै मुख्य आधार हो।
यदि तथ्याङ्क बिना निर्णय गरियो भने कम समस्या भएको ठाउँमा बढी लगानी र बढी समस्या भएको ठाउँमा कम ध्यान जाने खतरा हुन्छ। सुक्ष्म तहको तथ्याङ्कले लगानीलाई सही ठाउँमा केन्द्रित गर्न मद्दत मिल्ने उहाँको भनाइ छ।
५. नगरव्यापी समावेशी सरसफाइ (CWIS) को लक्ष्य हासिल गर्न
नगरव्यापी समावेशी सरसफाइको मूल भावना भनेको शहरका सबै नागरिक धनी, गरिब, औपचारिक बस्ती, अनौपचारिक बस्ती, अपाङ्गता भएका व्यक्ति, वृद्ध, बालबालिका सबैका लागि सुरक्षित र सम्मानजनक सरसफाइ सुनिश्चित गर्नु हो।
डा शेर्पा भन्नुहुन्छ ‘शहरका कुन–कुन समूह र कुन–कुन क्षेत्रमा सेवा पुग्न सकेको छैन भन्ने थाहा नपाई समावेशी योजना बनाउन सकिँदैन, त्यसैले सूक्ष्म तहसम्म पुग्ने तथ्याङ्क नगरव्यापी समावेशी सरसफाइ (CWIS) को लक्ष्य हासिल गर्ने आधारशिला हो।’
६. नीति निर्माण र अनुगमनका लागि आधार तयार गर्न
आजको अवस्था के छ र भोलि सुधार कति भयो भन्ने तुलना गर्न आधाररेखा (baseline data) चाहिन्छ, जुन यस्तै अध्ययनबाट तयार हुन्छ। नभई भोलि “कति सुधार भयो ?” भन्ने प्रश्नको जवाफ दिन सकिँदैन।
यस्तै अध्ययनबाट प्राप्त तथ्याङ्कले नीति निर्मातालाई नयाँ नीति, कार्यविधि र मापदण्ड बनाउन सहयोग गर्छ। साथै, भविष्यमा गरिएका लगानी र कार्यक्रम प्रभावकारी भए वा भएनन् भन्ने अनुगमन र मूल्याङ्कन गर्न पनि यही डेटा आधार बन्छ।
यसैको परिपूर्तिका लागि ललितपुर महानगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी अति सुक्ष्म तहको तथ्याङ्क संकलन गरिने भएको छ।
खानेपानी मन्त्रालय, संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat), वाटर एड नेपाल र नेपाल नगरपालिका संघ लगायत संस्थाहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम’ अन्तर्गत ललितपुर महानगरपालिका भित्रको नमुना छनौटमा परेका घरधुरी, विद्यालय, अस्पताल तथा सार्वजनिक शौचालयको सर्भेक्षण गर्न लागिएको हो ।
नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (Scaling Citywide Inclusive Sanitation Service Systems) सञ्चालन भैरहेको नेपालका ७ वटा प्रदेशको सात वटै नगरपालिकाहरुमा नगरव्यापी समावेशी सरसफाइ अवस्थाको मूल्याङ्कन गर्न तथ्याङ्कहरु संकलन गरिनेछ ।
यो कार्यक्रम कोशी प्रदेशको मेची नगर नगरपालिका, मधेस प्रदेशको लहान नगरपालिका, वागमती प्रदेशको ललितपुर महानगरपालिका, गण्डकीको गोरखा नगरपालिका, लुम्बिनीको घोराही नगरपालिका तथा कर्णालीको शारदा नगरपालिका र सुदुरपश्चिमको गोदावरी नगरपालिकामा सन्चालन भैरहेको छ । कार्यक्रम अन्तर्गत खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, वाटर एड नेपाल र नेपाल नगरपालिका संघले पालिकाहरुलाई विभिन्न प्राविधिक सहयोग गरिरहेको छ ।
गेट्स फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रमको संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) कार्यकारी निकाय हो ।


205 पटक हेरिएको 

