
काठमाडौ : झापाको मेचीनगर नगरपालिकामा दिशाजन्य लेदो व्यवस्थापन ऐन २०८२ को प्रभावकारी कार्यान्वयन गरिने भएको छ।
नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा दिशाजन्य लेदो व्यवस्थापनका बिषयमा सरोकारवालाहरुको बैठकमा यसबारे व्यापक छलफल भएको हो ।
बैठकले ऐनको प्रभावकारी कार्यान्वयनका लागि सिफारिस गर्न नगरपालिकाको कर्मचारी र विशेषज्ञ सहितको पाँच सदस्यीय कार्यदल (Task Force) गठन गरिएको छ ।
कार्यदलका सदस्यहरु :
१. अनन्त प्रकाश वस्ती, प्रमुख, प्रशासन शाखा
२. दिपेन्द्र कार्की, आर्थिक विकास शाखा
३. जीवन भट्टराई, शहरी विकास शाखा
विशेषज्ञको तर्फबाट
४. गोविन्द श्रेष्ठ, सिनियर वास पोलिसी एडभाइजर, वाटर एड नेपाल
५. डा. मिङ्मा शेर्पा, निर्देशक, 500B, सोलुसन्स
बैठकको शुरुमा दिशाजन्य लेदो व्यवस्थापन ऐन २०८२ मा रहेका प्रावधानहरुका बारेमा छलफल गरिएको थियो। यस्तै ऐनमा उल्लेख गरिएको नियमावली, मापदण्ड तथा अन्य आवश्यक योजना निर्माणका लागि थप छलफल गर्ने समेत निर्णय गरिएको छ ।
बैठकमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी सहित प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारी, वडा नं. ६, ७, ८, १२, र ११ का वडाध्यक्षहरु, यस्तै आर्थिक विकास शाखा, पूर्वाधार शाखा, शहरी विकास शाखा, आन्तरिक लेखा परिक्षण शाखा, लेखा शाखा, कृषि विकास शाखा, पशु सेवा शाखा, उद्यम विकास शाखा, पूर्वाधार विकास शाखा लगायतका शाखा प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
झापाको मेचीनगर नगरपालिका, कैलालीको गोदावरी नगरपालिका, सल्यानको शारदा नगरपालिका, दाङको घोराही उपमहानगरपालिका, गोरखाको गोरखा नगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका र सिरहाको लहान नगरपालिका गरी देशको सातवटै प्रदेशको सात वटा नगरपालिकामा नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम सञ्चालन भैरहेको छ।
कार्यक्रम अन्तर्गत संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat), वाटर एड नेपाल, नेपाल नगरपालिका संघ, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नगरव्यापी समावेशी सरसफाइ एलायन्सको समन्वयमा कार्यक्रम सञ्चालित पालिकाहरुलाई विभिन्न प्राविधिक सहयोग गरिरहेको छ ।
गेट्स फाउण्डेसनको आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रमको संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) कार्यकारी निकाय हो ।


321 पटक हेरिएको 

