कोशी प्रदेशमा WASH सूचकाङ्क मार्फत WASH क्षेत्रगत कार्यसम्पादनको स्व-मूल्याङ्कन

  वास खबर संवाददाता  234 पटक हेरिएको

विराटनगर : कोशी प्रदेशको विराटनगरमा कोशी प्रदेश स्तरीय वास इन्डेक्स माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रगत स्वमूल्यांकन कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशको आयोजना र वास सिस्टम फर हेल्थ (WS4H) एस.एन.भी. (SNV) र वाटर एडको सहजीकरणमा आयोजित गोष्ठी मंगलबार सम्पन्न भएको हो।

कार्यक्रमको उदघाटन सत्रमा मन्त्रालयका महाशाखा प्रमुख कृष्ण प्रसाद राजबंशीले खानेपानी तथा सरसफाइ क्षेत्रलाई पूर्वाधार निर्माणमा मात्र सीमित नराखी सेवा प्रवाह प्रणाली सुदृढीकरणमा केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले WASH क्षेत्र संविधानले प्रदत्त मौलिक हकसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्नुभयो।


FCDO  को सहयोगमा वास फर हेल्थ परियोजना अन्तर्गत सहजिकरण गरिएको  कार्यकममा SNV नेपालको WASH Sector Leader नादिरा खवाजाले यो परियोजना केन्द्र, कोशी र मधेस प्रदेशमा सञ्चालन भइरहेको जानकारी गराउँदै शासन प्रणाली सुदृढीकरण मार्फत दीर्घकालमा यसले मानव स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने उद्देश्य रहेको बताउनुभयो।

कार्यक्रममा प्राविधिक प्रस्तुतीकरण कृष्ण जी.सी. ले गर्नुभएको थियो। उहाँले प्रदेशस्तरमा WASH सूचांकका ९ वटा आधार स्तम्भ बिल्डिङ ब्लक मार्फत अवस्था बिस्लेसन गरिएको जानकारी दिनुभयो। यस परियोजन एसियामा नेपाल र बंगलादेशमा संचालन भइरहेको जानकारी गराउनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशका सचिव पुष्कर प्रसाद पोखरेलले खानेपानी क्षेत्रमा संविधानले सुनिश्चित गरेको मौलिक हक कार्यान्वयनका लागि सरकार र विकास साझेदारहरूको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नीति, संस्था र सेवा प्रवाह प्रणाली सुदृढीकरणमा प्रदेश सरकारको भूमिका झनै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

संघीय खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको सेवा नियमन तथा सूचना व्यवस्थापन शाखाका प्रमुख डा. रजित ओझाले सेवा नियमन प्रणाली, इजाजतपत्र, निरीक्षण, शुल्क निर्धारण तथा संघ, प्रदेश, स्थानीय तहबीचको संरचनागत व्यवस्था सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो।

कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरूलाई पाँच समूहमा विभाजन गरी नीति तथा कानुन, अनुगमन तथा सिकाइ, पूर्वाधार विकास तथा व्यवस्थापन, वित्त तथा योजना, तथा संस्थागत व्यवस्थाका विषयमा समूह छलफल गरिएको थियो।


छलफलपछि सहभागीहरूले निष्कर्ष तथा सुझावहरू प्रस्तुत गरेका थिए। कार्यकममा वाटर एड नेपालका सिनियर वास पोलिसी एडभाइजर गोविन्द श्रेष्ठ लगायतले समुहगत छलफललाई सहजीकरण गर्नु भएको थियो।

कार्यक्रमले कोशी प्रदेशमा WASH क्षेत्रको हालको अवस्था, उपलब्धि र सुधारका क्षेत्रहरुको पहिचान गर्न सहयोग पुर्‍याएको र संघ, प्रदेश तथा विकास साझेदार बीच समन्वय सुदृढ गर्ने आधार तयार भएको आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार