‘क्रिकेट फर वास’ प्रतियोगितामा जनसेवा मावि विजयी

  वास खबर सम्बाददाता  264 पटक हेरिएको

काठमाडौ : खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित सञ्चालन गरिएको ‘क्रिकेट फर वास (Cricket4WASH)’ कार्यक्रम अन्तर्गत सिरहामा सम्पन्न एकदिने किशोरी क्रिकेट प्रतियोगितामा जनसेवा माध्यमिक विद्यालय विजयी भएको छ।

सिरहा जिल्लाको कर्जन्हा नगरपालिकास्थित फूलकुमारी महतो माध्यमिक विद्यालय, बन्दीपुरमा मंगलबार आयोजित प्रतियोगितामा चार टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलपछि जनसेवा माध्यमिक विद्यालयले उपाधि हात पार्न सफल भएको हो।

प्रतियोगिता सफ्ट बल क्रिकेटको ढाँचामा सञ्चालन गरिएको थियो। बालबालिकामैत्री बल र ब्याट प्रयोग गरी ८–८ ओभरका खेलहरू खेलाइएका थिए। क्रिकेट खेल मार्फत सरसफाइ र स्वच्छता सम्बन्धी सन्देश प्रवाह गर्नुका साथै किशोरीहरूमा खेलकुदप्रतिको रुचि, आत्मविश्वास र सामाजिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

खेलका क्रममा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी विभिन्न जनचेतनामूलक सन्देशहरू प्रस्तुत गरिएका थिए। खेल र सामाजिक सन्देशलाई जोड्दै समुदायस्तरमा सकारात्मक व्यवहार परिवर्तन प्रवर्द्धन गर्ने लक्ष्य कार्यक्रमले लिएको छ।

उक्त प्रतियोगिता Welt Hunger Hilfe (WHH) र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको हो। परियोजना अन्तर्गत महिनाव्यापी रूपमा स्वास्थ्य, व्यक्तिगत तथा सामुदायिक सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गर्दै क्रिकेटलाई माध्यम बनाइ किशोरीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

यसअघि, गत माघको पहिलो साता मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुमार कुशवाहा तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले संयुक्त रूपमा ‘Cricket4WASH’ कार्यक्रमको उद्घाटन गरेका थिए।

प्रतियोगिता यही फेब्रुअरी ६ तारिखसम्म सन्चालन हुनेछ।

प्रतियोगिताका थप फोटोहरु : 

फोटोहरु :  निशा शाह/सबल नेपाल


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार